शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

९१ वर्षमा पनि जलेरै प्राण गयो मायादेवीको ...

बिहीबार, ०४ चैत २०७२, १० : १२
बिहीबार, ०४ चैत २०७२

चितवन–पश्चिम चितवनको चित्रवन–१४ स्थित भगडीकी ९१ वर्षीया वृद्धाको जलेरै प्राण गएको छ । सानो झुप्रोमा एक्लै बस्दै आएकी ९१ वर्षीया मायाँदेवी पौडेलको त्यही झुप्रोसँगै एक साता अघि जलेर ज्यान गएको हो । उनको मृत्यु त्यहीँका गाउँले र प्रहरीले पछि मात्रै थाहा पाए ।

२०३७ सालमा श्रीमान् हरिलाल बितेपछि उनी एक्लै थिइन् । उनीहरुका कुनै पनि सन्तान जन्मिएनन् । आफैँ पकाएर खाँदै आएकी उनी पछिल्लो समय अशक्त भएपछि गाउँमा माग्ने र जसले जे दिन्छ त्यही खाने गरेकी स्थानीयवासी राधा अर्यालले जानकारी दिनुभयो । फागुन २६ गते अकस्मात घटना भयो । उनी घरसँगै जलेर सकिइन् ।

‘मट्टितेल मागेकी थिइन्, एक लिटर बजारबाट ल्याइदिउँला भनेको, त्यो पनि दिन भ्याइनँ”, स्थानीयवासी इन्द्रबहादुर कुमालले भने । टुकीको सहारामा एक्लै बस्ने गरेकी थिइन् । पछिल्लो समयमा मट्टितेल सकिएकाले मैनबत्ती बाल्थिन् । २६ गतेको राति करिव ९ बजेको समयमा घरमा आगो लाग्यो । कारण कसैलाई थाहा नभए पनि मैनबत्ती पल्टिएर आगो लागेको अनुमान गाउँलेको छ । आगो दन्किएर चिच्याएको आवाज आए पछि गाउँले आए ।

नजिक धेरै घरहरु भए पनि स्थानीयवासीले बचाउन सकेनन् । मृतक मायाँदेवीका भतिजा पर्ने नारायणप्रसाद पौडेल कैयौं प्रयास गरे पनि बचाउन नसकेको बताउँछन् । “ढोका फोरेरै निकाल्ने प्रयास भएको थियो, आगो दन्किएकाले सकिएन”, पौडेलले भने । घरका केही मुड्काबाहेक सबै जलेर खरानी भएको छ । शवपरीक्षणपछि अन्तिम संस्कार गरिएपनि गाउँलेले उनको दूःखद मृत्युलाई अझै भुल्न सकेका छैनन् । मर्ने बेलामा पनि जलेर प्राण गयो भनेर गाउँले अझै चुकचुकाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप