शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मान्छे डस्ने सर्पसँग प्रेम

बिहीबार, ०४ चैत २०७२, १२ : १०
बिहीबार, ०४ चैत २०७२

मोरङ– सर्पदेखि नडराउने को होला ? कसैले तपाइँलाई प्रश्न गर्यो भने तपाइँ सजिलै भन्नुहुन्छ, “सर्प देख्ने बित्तिकै सबै डराउँछन् ।” तर यो प्रश्नको जवाफ गलत हुन्छ । सेक्टर वन कार्यालय उर्लावारी मङ्गलबारेको वनरक्षकमा कार्यरत प्रेम विष्ट सर्पलाई प्रेम गर्छन् ।

प्रहरी सेवामा २१ वर्ष बिताएका प्रेमले तीन हजारभन्दा बढी गोमन र करेत सर्पको उद्धार गरी सुरक्षित स्थानमा छाडिसकेको बताउँछन्। उनले सर्पजस्ता सरीसृप जीवको संरक्षण क्षेत्रको विकास गरेर राखिनुपर्ने बताए । सर्प मार्न हुँदैन भन्ने प्रेमले आफूले १० वर्षको उमेरदेखि सर्प समाउन थालेको स्मरण गर्छन् ।

सर्पको डसाइबाट मर्नेको सङ्ख्या धेरै छ । सर्पदंशको औषधि ‘एन्टी–स्नेक भेनम’ विषालु सर्पको विषबाटै तयार हुने औषधि भएकाले एउटा विषालु सर्पबाट १० हजार मानिसको ज्यान बचाउन सक्ने औषधि निकाल्न सकिने उनको भनाइ छ । उनले भने, “यसकारण सर्पलाई मार्नु हुँदैन ।” मुलुकभित्रै एन्टी–स्नेक भेनम उत्पादन गर्ने कारखाना बनाइनुपर्ने विष्टको भनाइ छ । सर्पको महत्व देखेकैले उनी सर्प संरक्षणमा जोडतोडले लागेका हुन् । दुईपटक सर्प डसाइमा पर्दा पनि उनलाई सर्पकै माया छ । “सर्पदंशको औषधि एन्टी–स्नेक भेनम नेपालमा पाइँदैन, विदेशबाटै आयात गर्नुपर्छ”, उनले भने, “नेपालमा विषालु सर्प धेरै छन् यसको औषधि उत्पादन नेपालमै हुनुपर्ने हो, तर छैन ।”

डेढ वर्षअघि नागपञ्चमीको पूर्वसन्ध्यामा प्रेम बिष्टलाई विषालु सर्पले डस्यो । सर्पको डसाइबाट उनी आत्तिएनन् । सामान्य अवस्थामा रहेझैं बोलिरहे । सर्पदंशबाट मर्छु भन्ने सोच उनमा आएन । सिन्धुली जिल्लाको दुधौली गाविसको जितपुरमा उनलाई सर्पले डसेको थियो । एम्बुलेन्समा लामो दूरी पार गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराएका बिष्ट बाँचे । यो समेत दुईपटक सर्पको डसाइ सामना गरेका उनको साहस देखेर उपचारमा संलग्न चिकित्सकहरुसमेत अचम्भित भए ।

यसर्थ कि सर्पले टोक्दा नआत्तिनु र रक्तसञ्चार पनि सामान्यै अवस्थामा रहनु विरलै हुने घटना मध्येको एक थियो । सर्पले टोकेपछि आत्तिएरै पनि धेरै मानिस मर्ने गरेको चिकित्सकहरु बताउँछन् ।

प्रहरी सेवाबाट निवृत्त भएको केही महिनासम्म उनको दैनिकी सर्प समात्ने र यसको बारेमा आम नागरिकलाई जानकारी दिनमै बित्थ्यो । हाल विराटनगर–१६ का बासिन्दा उनलाई अहिले पनि धेरैतिरबाट सर्प फेला परेको भन्दै समात्नका लागि फोन आउने गरेको छ । दुई साताअघि इटहरीबाट उनले नयाँ प्रजातिको सर्प सेक्टर वन कार्यालय मङ्गलबारेमा ल्याएका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप