शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा भ्रष्टाचारको शंका ! सार्वजनिक खरिद ऐनविपरीत काम

बिहीबार, ०४ चैत २०७२, १२ : २४
बिहीबार, ०४ चैत २०७२

काठमाडौं–नेपाली लेखा व्यवसायीलाई नियमन गर्ने निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) मा सार्वजनिक खरिद ऐनविपरीत काम भएको छ । विद्यार्थीलाई दिइने सूचना प्रविधि तालिमसम्बन्धी कामलाई लिएर सार्वजनिक खरिद ऐनविपरीत काम भएको हो । नियमविपरीत काम भएपछि आइक्यान संस्थामा भ्रष्टाचार भएको शंका गरिएको छ भने आइक्यान अध्यक्षको कामप्रति रुष्ट केही कर्मचारीले यस विषयलाई लिएर अख्तियारको ढोका ढकढकाउने तयारीसमेत गरिरहेको बताइएको छ ।

यसरी गरियो नियमविपरीत काम आइक्यानले केही समयअगाडि सूचना प्रविधि तालिम सञ्चालन गर्नका लागि भन्दै विभिन्न संस्थाबाट सिलबन्दी दर्खास्त आह्वान गरेको थियो । उक्त संस्थामा चार्टर्ड एकाउन्टेन्सी (सीए) अध्ययन गर्ने विद्यार्थीले सूचना प्रविधि तालिम लिनुपर्ने व्यवस्था छ । आइक्यानले गरेको सोही आह्वानबमोजिम विभिन्न संस्थाले उक्त तालिम सञ्चालन सिलबन्दी दर्खास्त आवेदन दिएकोमा काठमाडौंको नयाँबानेश्वरमा रहेको प्राइम मल्टिपल एजुकेसन फाउन्डेसनले सबैभन्दा कम दरभाउ आइक्यानमा पेस गरेको थियो । सोही दरभाउबमोजिम प्राइम मल्टिपल एजुकेसन फाउन्डेसनलाई नै उक्त कामको जिम्मा दिइएको भन्दै गत फागुन २३ गतेदेखि तालिम सञ्चालन गर्न तयार गर्न संस्थाबाट मौखिक जानकारीसमेत आइसकेको फाउन्डेसन स्रोतको दाबी छ । तर, रातारात उक्त निर्णय परिवर्तन गरेर आइक्यानले आफ्ना विद्यार्थीलाई सूचना प्रविधि तालिम लिन कम्प्युटर पोइन्ट नेपाल (सीपीएन) मा पठाएको छ । उक्त काम सार्वजनिक खरिद ऐनविपरीत भएको सरोकारवालाको गुनासो छ ।

रातारात उल्टियो निर्णय नाम उल्लेख नगर्ने सर्तमा आइक्यानका एक कर्मचारी भन्छन्, ‘प्राइम मल्टिपल एजुकेसन फाउन्डेसनलाई काम दिने पक्कापक्की भइसकेको थियो । आईटी विभागबाट समेत उसलाई नै काम दिने सिफारिस भएको थियो । तर, कार्यकारी समितिमा उक्त सिफारिस फाइल पुगेपछि निर्णय एकाएक उल्टिएको थियो ।’ यही विषयलाई लिएर आइक्यानमा चर्चा हुन थालेको छ । कतिपयले सार्वजनिक खरिद ऐनविपरीत काम गरिएको भन्दै संस्थाका अध्यक्षमाथि कारबाही हुनुपर्ने बताएका छन् भने कतिपयले प्राइमलाई कुनै पनि हालतमा काम नदिन यस्तो चाल भएको बताउँछन् । आइक्यानका अर्का कर्मचारी भन्छन्, ‘सार्वजनिक खरिद ऐनको ठाडो उल्लंघन भएको छ । हालका अध्यक्ष अर्को सीए कोर्स पढाउने कोचिङ सेन्टरसँग निकट भएकाले नियोजित रूपमै प्राइमलाई काम नदिने चाल भएको छ । यही विषयलाई लिएर आइक्यान अध्यक्षसँग रुष्ट केही कर्मचारी आइक्यान अख्तियारमा उजुरी दिने तयारीसमेत गरिरहेका छन् ।’ स्रोतका अनुसार आइक्यानभित्र यही कुरालाई लिएर मोटो रकमको चलखेल भएको छ ।

के भन्छन् प्राइम प्रतिनिधि ? यसैगरी, प्राइम मल्टिपल एजुकेसन फाउन्डेसन अध्यक्ष नवराज बुर्लाकोटीले यसबारे आफूहरूले पनि आइक्यानमा सोधखोज गरिरहेको बताएका छन् । आइक्यानजस्तो जिम्मेवार संथामा यस्तो काम किन, कसरी र कुन नियतसाथ भयो भन्ने प्रश्न उठेको छ । हामीलाई २३ गते तालिम सञ्चालन गर्न तयारी गर्नु भन्ने जानकारी थियो । तर, अन्तिम समयमा विद्यार्थी अन्तै पठाइयो । अब यो कानुन मिच्न खोजेको हो वा हामीलाई जिस्काएको हो या हेपाहा प्रवृति देखाइएको हो, हामीले बुझ्न सकेका छैनौं । उनका अनुसार आइक्यानमा गलत संस्कार विकास हुन थालेको छ । उनी भन्छन्, ‘नियमअनुसार हामीले पाउने काम किन हामीलाई दिइएन भन्ने गम्भीर प्रश्न उठेको छ ।’ यसबारे रातोपाटीकर्मीले बुझ्न खोज्दा आइक्यान कार्यकारी निर्देशक, उपाध्यक्ष र अध्यक्ष विदेश भ्रमणमा रहेको जानकारी दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप