शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चीन भ्रमणमा ‘ट्रेड एण्ड ट्रान्जिट’ सम्झौतामा जोड दिन उच्चस्तरीय राजनीतिक समितिको सुझाव

शुक्रबार, ०५ चैत २०७२, २० : ३८
शुक्रबार, ०५ चैत २०७२

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको तयारी बारे उच्चस्तरीय राजनीतिक समन्वय समितिलाई ब्रिफिङ गरेका छन् । चैत ७ गतेदेखि साताव्यापी चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले समितिलाई तयारी बारे जानकारी गराउनुको साथै सुझाव पनि लिएका छन् । शुक्रबार साँझ सिंहदरवारमा बसेको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणको समिक्षा तथा आसन्न चीन भ्रमणबारे छलफल भएको एमाओवादी अध्यक्ष प्रचण्डले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, ‘आजको बैठकमा प्रमको भारत भ्रमणबारे सामान्य समिक्षा भयो । त्यस्तै प्रधानमन्त्रीज्युले चीन भ्रमणको तयारीबारे पनि समितिलाई जानकारी दिनुभयो भने सदस्यहरुले सो अनुरुप राय सुझाव दिने काम भयो ।’ बैठकमा नेताहरुले चीन भ्रमणका दौरान वाणिज्य तथा व्यापारसम्बन्धि सन्धि तथा सम्झौतामा विशेष ध्यान दिन सुझाव दिएका थिए । ‘अहिले उठेको ट्रेड एण्ड ट्रान्जिट एग्रिमेन्टमा सबैको जोड थियो । त्यस्तै इन्धन, विशेष आर्थिक क्षेत्र बनाउने लगायतका विषयमा जोड दिने कुरा भयो,’ प्रचण्डले भने । प्रचण्डका अनुसार आर्थिक विकासका लागि आवश्यक रेल तथा रिङ रोड लगायत चिनियाँ लागनी भित्र्याउने विषयमा पनि छलफल भएको जानकारी दिए । उनले आफू भ्रमणको तयारीबाट सन्तुष्ट रहेको बताए । ‘प्रधानमन्त्रीले धेरै विषयमा जानकारी दिनुभयो । यसो हेर्दा धेरै कुरा हुन्छ जस्तो देखिएको छ । तर, वहाँको भ्रमण नसकी यसै भन्न सकिन्न । तैपनि, प्रधानमन्त्रीज्युको चीन भ्रमणको तयारीबाट हामी सन्तुष्ट नै छौं,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप