विपद्मा पनि नेपाली खुसी देखेँः बेलायती राजकुमार
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ ले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच भएको भेटवार्तामा दुई देशबीच दुई शताब्दीदेखि रहँदै आएको मित्रवत् घनिष्ठ सम्बन्धका विविध पक्षमा छलफल भएको थियो ।
भेटका अवसरमा राजकुमार ह्यारीले दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको द्विशतवार्षिकीका अवसरमा बेलायतका महारानी तथा आफ्नी हजुरआमाको विशेष सद्भावना सन्देश लिएर आफू नेपाल आएको जानकारी गराएका थिए । राजकुमार ह्यारीले नेपालको मनोरम हिमशृङ्खलासहितका प्राकृतिक सम्पदा, पर्यावरण र वन्यजन्तु संरक्षणजस्ता विषयमा चासो राखेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
विशेषत गोर्खा सैनिकको लगन, इमान्दारी, बहादुरी र बफादारीलाई नजिकबाट प्रत्यक्ष रुपमा नियाल्ने अवसर पाएको र त्यसबाट आफू अत्यन्तै प्रभावित भएको प्रसङ्ग राजकुमार ह्यारीले उल्लेख गर्दै गोर्खा सैनिक बाँकी विश्वका लागि सद्भावना राजदूतका रुपमा रहेको बताए ।
“भूकम्प र इन्धन समस्या भोगिरहँदा समेत नेपालीको अनुहारमा हाँसो देख्दा विपद्मा पनि धैर्य र साहस देखाउने गोर्खाली सैनिकको गुण सबै नेपाली जनतामा रहेको मैले प्रत्यक्ष अनुभूत गर्न पाएँ,” राजकुमार ह्यारीले भने । राष्ट्रपति भण्डारीले पुरानो मित्र राष्ट्रको राजपरिवारका एक सदस्यलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै गत वैशाखमा गएको भूकम्पबाट पीडित नेपालीलाई टाढा रहेर पनि तदारुकताका साथ उद्धार एवम् सहयोग पु¥याएकामा बेलायत सरकारप्रति धन्यवाद व्यक्त गरिन् ।
नेपालको विकासमा साझेदार मुलुकका रुपमा बेलायतबाट ठूलो सहयोग हुँदै आएकामा आभार व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सबै नेपालीका बीचमा सुपरिचित राजकुमारका पर्यटन, पर्यावरण, साहसिक र परोपकारी कार्यजस्ता रुचिबाट नेपाललाई योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।
नेपालको पाँचदिने भ्रमणका लागि शनिबार यहाँ आइपुग्नुभएका बेलायती राजकुमार ह्यारीले आज विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्र र नागबहालस्थित हिरण्यवर्ण महाविहारको अवलोकन तथा त्यहाँ भूकम्पबाट भएको क्षति तथा भक्तपुरमा बेलायती सहयोग नियोगले भूकम्पपीडितलाई गरेको उद्धार सहयोग लगायत विषयमा जानकारी लिने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण