शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

फूलैफूलले भरियो भृकुटीमण्डप (फोटोफिचर)

शुक्रबार, १९ चैत २०७२, ११ : १४
शुक्रबार, १९ चैत २०७२

काठमाडौँ - उन्नाइसौँ पुष्प प्रदर्शनी व्यापार मेला काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । चार दिनसम्म सञ्चालन हुने सो मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी कम्पोस्ट मल, फूलका गानो, बीउबिजन, कृषि औजार, उपकरण सुक्ष्म तथा थोपा सिँचाइ प्रविधि र विषादीका प्रदर्शनी तथा बिक्री कक्ष रहेका छन् ।

फ्लोरीकल्चर एसोसीएसन (फ्यान) नेपालको आयोजना र कृषि विकास मन्त्रालयको सहयोगमा सञ्चालित सो मेलामा ६४ कक्ष रहेका छन् । सम्मेलनमा रु ६६ लाखको कारोबार तथा ५५ हजार व्यक्तिले अवलोकन गर्ने अनुमान छ । गत वर्ष आयोजित १८औँ पुष्प मेलामा रु ६० लाखको कारोबार तथा ५० हजार व्यक्तिले अवलोकन गरेका थिए ।

यस वर्षको मेलामा १० विधाको प्रतियोगिता सञ्चालन गरिएको छ । उत्कृष्ट मौसमी फूल, आलंकारिक, फुल्ने, ल्यान्डस्केप, (जरवेरा) कट फ्लावर(कार्नेसन) कट फ्लावर (ग्लाडुओलसमा)का सर्वोत्कृष्ट नर्सरी सञ्चालकलाई आज पुरस्कृत गरिएको छ ।

पुरस्कृत हुने नर्सरीमा क्रमशः अजिमा, सिर्जना, सम्झना, एसआर, न्यूलक्की, युनिक, सनराइज रहेका छन् । फुलखेती व्यावसायिक ढङ्गले सुरुवात भएको २२ वर्ष पुगेको छ । यद्यपि आत्मनिर्भर हुन भने सकेको छैन । नेपालले यस वर्ष भारत, चीन, थाइल्यान्ड तथा केही युरोपका देशबाट रु १० करोडका विभिन्न जातका फूल आयात गरेको छ ।

वार्षिक रु एक अर्ब ३४ करोड ७५ लाखको कारोबार हुने पुष्प व्यवसायबाट हाल ४१ हजार व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगार पाएका छन् । सन् १९५० बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय हाल ३८ जिल्लामा करिब ६७५ पुष्प फर्म तथा नर्सरी विस्तार भइसकेको छ । दुई हजार ८२० रोपनी जमिनमा व्यावसायिक खेती विस्तार भएको छ ।

पुष्प व्यवसायका लागि सरकारले ‘पुष्प प्रवद्र्धन नीति २०६९’ जारी गरी पुष्प प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्ययोजना लागू गरेको छ भने आव २०७१/७२ बाट पुष्प व्यवसाय प्रवद्र्धनका लागि रु एक करोड बजेट विनियोजन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप