बाहिरी चक्रपथको निर्माण गति : १५ वर्षमा दुई डिजाइन, कामै नगरी ३४ करोड खर्च
काठमाडौं – कपाल र दारी सेताम्मे फुलेको ८५ वर्षीय बुद्धिलाल मानन्धर बिहीवार घाम तापेर बसिरहेका थिए । पावरवाला चस्मासँगै भादगाउँले टोपीमा सजिएका बुङमती–५ बसपार्कका मानन्धरले १५ वर्ष अगाडिको प्रसंग कोट्याए । उनी त्यतिबेला ७० वर्षका थिए । उनका कानमा परेको थियो– बाहिरी चक्रपथ बन्छ रे । चक्रपथ बुङमतीको फाँट हँुदै जान्छ भन्दा उनी निकै खुसी भएका थिए । ‘त्यसबेला हाम्रै ठाउँ भएर बाटो जान्छ भनेका थिए,’ मानन्धरले सुनाए, ‘केही समयपछि चक्रपथको डिजाइनका लागि इन्जिनियर गाउँ आए ।’ त्यसबेला मानन्धर झन् खुसी भए, कारण आफ्नै पालामा बाहिरी चक्रपथ बन्ने भो भनेर । बाहिरी चक्रपथ बनेर गाउँकै विकास हुन्छ भन्ने उनलाई लागेको थियो । त्यसैले बुङमती फाँटमा भएको ३० आना खेत दिन उनलाई उत्साह जागेको थियो । तर, हिजोआज उनीसँग न त्यतिबेलाको खुसी छ, न उत्साह नै । अहिले उनी ८५ वर्षको हुँदासमेत बाहिरी चक्रपथको काम भएकै छैन । निराश हुँदै उनले थपे, ‘अहिले समाचारसमेत सुनिन छाड्यो । अब त के बन्ला खै ? मैले सुन्दा कान्छो छोरा १० वर्षका थिए । अहिले छोराको छोराछोरी भइसक्दासमेत कामै सुरु भएको छैन, यही तालमा कसरी बन्ला र ? केही समयअगाडि सुन्नमा आएको थियो– बाहिरी चक्रपथ डिजाइन परिर्वतन भएको छ रे । केही काम नगरी डिजाइनमात्रै परिवर्तन गर्नुको के अर्थ होला र खै ।’ मानन्धरको भोगाइले हाम्रो विकास प्रणालीको राम्रो चित्रण गरेको छ । कागजी योजनाअनुसार सरकारले उपत्यकाभित्रका तीनवटै जिल्लालाई छुनेगरी ५० मिटर चौडा हुने आठ लेनको चक्रपथ बन्नेछ । बाहिरी चक्रपथको लम्बाइ ७२ किलोमिटरको हुनेछ । आयोजनाले गति लिन नसक्दा १८ कर्मचारी दैनिक कार्यालय पुग्ने, हाजिर गर्ने, गफगाफ गर्ने र घर फर्कने गर्छन् । दुईपटक डिजाइन बाहिरी चक्रपथ विकास आयोजनामा १५ वर्षमा दुई डिजाइन गरिएको छ । आयोजनाले पहिलो डिजाइनमा काम सुरु नगर्दै दोस्रो डिजाइन बनाएको हो । डिजाइन र कार्यालय खर्चमै ३४ करोड रुपैयाँ सकिएको छ । बाहिरी चक्रपथ आयोजना परिकल्पना आर्थिक वर्ष २०५६/०५७ बाट आएको हो । व्यवस्थित बस्ती विकाससहितको महत्वाकांक्षी योजना अगाडि सारेर १५ वर्षअघि सरकारले उपत्यकामा बाहिरी चक्रपथ धारणा ल्याएको थियो । जनपरिचालन गरेर वातावरणमैत्री, किफायती र उच्च प्रविधियुक्त बाहिरी चक्रपथ निर्माण तोकिएको समयभित्र सक्ने योजनासहित काम अगाडि बढेको थियो । डिजाइनमात्रै भयो आर्थिक वर्ष २०५६/०५७ पूर्व सम्भाव्यता अध्ययन सुरु भएको थियो । सहरी विकास तथा भवन निर्माण विभाग बाहिरी चक्रपथ विकास आयोजनाले निजी कन्सल्टेन्टको सहकार्यमा २०६१ मा बाहिरी चक्रपथ डिजाइन सकेको थियो । २०६१/०६२ को बजेटमा ‘व्यवस्थित जग्गा एकीकरण’ आधारमा काठमाडौंमा बाहिरी चक्रपथ काम सुरु भएको थियो । बाहिरी चक्रपथमा वातारण प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदनको रिपोर्ट अहिलेसम्म बन्न सकेको छैन । वातारण प्रभाव मूल्यांकन अध्ययनको काम २०६४/०६५ मा सकिएको थियो । वातारण प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदन र विस्तृत अध्ययन पूरा नभएको भन्दै वातावरण मन्त्रालयले फाइल अगाडि बढाएन । ०६६ देखि मन्त्रालयले फाइल रोकेको आयोजनाले जनाएको छ । भूकम्पपछि डिजाइन परिवर्तन १५ वर्षदेखि बाहिरी चक्रपथ आयोजना कागजमा सीमित छ । पछिल्लो समय भूकम्पको कारण देखाएर बाहिरी चक्रपथको नक्सा परिवर्तन गरिएको छ । आयोजनाले अनुमोदनका लागि सरकारसमक्ष पठाएको छ । बाहिरी चक्रपथ आयोजनाले भूकम्पको मौका छोपेर इन्जर कन्सलटेड प्रालि टेकुलाई आठ करोडमा डिजाइन परिर्वतन गर्ने काम दिएको थियो । बाहिरी चक्रपथ निर्माणका लागि दोस्रो डिजाइनअनुसार आठ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । कागजमा सीमित बाहिरी चक्रपथ निर्माण योजनाले काठमाडौँ, ललितपुर र भक्तपुरका कृषियोग्य जमिन तथा पानीका स्रोत भएका क्षेत्रलाई संरक्षण गर्ने भन्दै नक्सा परिवर्तन गरिएको छ । डिजाइन परिवर्तन हुँदा २५ हजार रोपनी कृषियोग्य जमिन संरक्षण हुने आयोजनाको दाबी छ । स्थानीयको विरोध चोभार–सतुंगल जग्गा एकीकरण कार्यक्रम सुरुवातक्रममै स्थानीय बाहिरी चक्रपथको विरोधमा गरेका थिए । मुआब्जा नदिई आफ्नो जग्गा हडप्न थालिएको भन्दै स्थानीय विरोधमा उत्रेका हुन् । नगर विकास ऐन–०५१ ‘क’ मा बाहिरी चक्रपथ आयोजना सुरु गर्न ५१ प्रतिशत स्थानीयको समर्थन भए काम सुरु गर्न सकिने व्यवस्था छ । सतुंगलका नारायण श्रेष्ठले भने, ‘बाहिरी चक्रपथका नाममा प्राकृतिक एवम् खेतीयोग्य जग्गा सखाप बनाउन पाइँदैन ।’ काठमाडौं–निजगढ फास्ट ट्र्याक, काठमाडौं–हटौंडा १३२ केभी प्रसारणलाइनको सबस्टेसन र बाहिरी चक्रपथले चोभारको सतुंगल फाँट सबै मासिने अवस्था आएको स्थानीयको भनाइ छ । प्रभावित क्षेत्रका गाविस र नगरपालिकासँग तालमेल नहुँदा काम प्रभावित भएको छ ।
आयोजनाप्रमुख मानन्धरको दाबी– आयोजना जसरी पनि बन्छ बाहिरी चक्रपथ विकास आयोजनाका आयोजनाप्रमुख रमामैयाँ मानन्धर आयोजना पूरा हुने बताउँछिन् । मानन्धर भन्छिन्, ‘भूकम्पले धाप क्षेत्रमा घर निर्माण गर्नुहुँदैन भन्ने पाठ सिकाएकाले ती क्षेत्रलाई संरक्षण गर्दै साबिक कार्ययोजनामा परिवर्तन गरेका छौँ । बाहिरी चक्रपथ निर्माण गर्ने भनेरै कार्ययोजना परिवर्तन गरेका हौँ । त्यसैले यो निर्माण हुन समय लाग्छ तर बन्छ ।’ बाहिरी चक्रपथ सडक निर्माणमात्रै होइन, बृहत् बस्ती विकाससहितको आयोजना भएकाले काम केही ढिला हुने उनको दाबी छ । उनी भन्छन्, ‘कुन जग्गामा बाहिरी चक्रपथ निर्माण गर्ने विस्तृत अध्ययन प्रतिवेदन तयार भइसक्यो । त्यसले छुने जग्गामा भौतिक परिवर्तन गर्न वा घर बनाउन नपाउनुपर्ने हो । त्यसैले त्यहाँ धेरै पहिल्यै जग्गा रोक्का गरिनुपथ्र्याे । जग्गा रोक्का गरिएको छैन तर घर निर्माण गर्न नगरपालिकाले अनुमति दिइरहेकै छ ।’ अहिले पनि त्यहाँ जग्गामा घर धमाधम बनिरहेका छन् । बनेका घर भत्काएर बाहिरी चक्रपथ निर्माण गर्न अब त्यति सजिलो छैन । आयोजनाले १५ वर्षमा गरेको काम १. नमुना जग्गा एकीकरण योजना तयार पारी बाहिरी चक्रपथ क्षेत्र टाउन स्केप तयारी । २. बाहिरी चक्रपथ एलाइनमेन्ट प्राविधिक मूल्यांकन र इन्टरसेक्सन विकास तथा विस्तार गर्ने अध्ययन । ३. हरिसिद्धिदेखि लुभुसम्मको जग्गा विकासको विस्तृत अध्ययन भएको र ल्यान्ड पुलिङ गर्ने स्थानबाहेक अन्य क्षेत्रको सेन्टरलाइन निर्धारण । ४. बाहिरी चक्रपथ आयोजनामा परम्परागत बस्तीको प्रभाव मूल्यांकन र अहिले चक्रपथ र बाहिरी चक्रपथ प्रभाव मूल्यांकन । ५. बाहिरी चक्रपथको डीपीआर तयार गर्ने र वातावरणीय सामाजिक प्रभाव मूल्यांकन प्रतिवेदन तयार भई विस्तृत विवरण तयार ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण