शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सिजनको दोस्रो एल क्लासिको : के–के छ दाउमा ?

शुक्रबार, १९ चैत २०७२, १७ : ००
शुक्रबार, १९ चैत २०७२

काठमाडौं – रिएल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानका लागि प्रशिक्षकको रुपमा यो पहिलो एल क्लासिको हो । क्रिष्टियानो रोनाल्डोका लागि यो अन्तिम एल क्लासिको बन्नसक्छ । बार्सिलोनाको हकमा यो खेल आफ्नो क्लबमा पूर्व ‘लिजेन्ड’ जोहान क्रयूफको सम्मान हो । खेलाडी तथा प्रशिक्षकका रुपमा बार्सिलोनालाई विश्वकै शक्तिशाली क्लब बनाउन महत्वपूर्ण भूमिका खेलेका क्रयूफको निधनको एकसातापछि घरेलु मैदानमा रियाललाई आतिथ्यता दिँदा बार्सिलोना स्पष्ट जीतको खोजीमा हुनेछ । पछिल्लो भीडन्तमा रियाललाई ४–० ले उसैको घरेलु मैदानमा हराएको बार्सिलोना आफ्नो घरमा कसरी प्रस्तुत हुन्छ यतिबेला समर्थकहरु व्यग्र प्रतिक्षामा छन् । १. कसको टिम स्पिरिट राम्रो ? बार्सिलोनाले पछिल्ला ३९ खेलमध्ये कुनै पनि खेल हारेको छैन । यस क्लबमा लियोनल मेसी, लुईस सुआरेज र नेइमारजस्ता विश्वकै उत्कृष्ट खेलाडी छन् । तर तीनै खेलाडी भर्खरै मात्र आ–आफ्नो देशका लागि विश्वकपको छनोट खेल खेलेर फर्किएका छन् । त्यसैले उनीहरुको थकान प्रशिक्षक लुईस एनरिक्यूका लागि समस्या बन्नसक्छ । रियाल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई भने खेलाडीको थकानको विषएलाई लिएर टाउको दुखाउनुपर्ने छैन किनकी ग्यारेथ बेल र करिम बेन्जामाले तत्काल आफ्नो देशका लागि अन्तर्राष्टिय खेल खेलेका छैनन् । सेभियाविरुद्धको खेलमा शान्दार जीत निकालेका कारण पनि रियालको मनोबल उच्च छ । २.महत्वपूर्ण खेलाडी दुई महिनासम्म चोटका कारण मैदान बाहिर रहेका ग्यारेथ बेल टोलीमा फर्किएका छन् । उनी फिट भएको बेला पूरै आत्मविश्वासका साथ खेल्न सक्छन् । त्यसैले रियालका लागि योभन्दा सुखद विषय अर्को हुनसक्दैन । बार्सिलोका आन्द्रेस इनिष्टाले पनि पछिल्लो समय देशका लागि खेल्नुपरेको छैन् । यस सिजन उनले जाभीको अभाव परिपुर्ति गर्दै मिडफिल्डमा उत्कृष्ट खेलेका छन् । त्यसैले बार्सिलोनाले यी अनुभवी खेलाडीबाट धेरै आशा गर्नसक्छ ।

३. जीतको अर्थ जीतले बार्सिलोनाको अपराजित यात्रा ४० खेलसम्म लम्ब्याउनेछ । त्यस्तै बार्सिलोनाले खेल जितेमा प्रशिक्षकको परीक्षामा जिनेदिन जिदान फेल हुनेछन् । च्याम्पियन्स लिगमा रियाल म्याड्रिडले एएस रोमालाई हराएपछि जिनेदिन जिदानमाथिको दबाब कम भएको । तर स्पेनिस ला लिगामा रियाल म्याड्रिड बार्सिलोनाभन्दा निकै पछि छ । बार्सिलोनाविरुद्ध जीत निकाल्न सके रियाल म्याड्रिडको मनोबल उच्च हुनेछ । जिदानले पनि नयाँ सम्भौताका लागि वार्ता गर्न पाउनेछन् । त्यस्तै रियाललाई च्याम्पियन्स लिग जित्न मनोवैज्ञानिक बल पुग्नेछ । बराबरीले पनि दुबै टोलीलाई राहत नै मिल्नेछ । खेल बराबरी भएमा बार्सिलोना आफ्नो अपराजित यात्राको शृंखला कायमै राख्न सफल हुनेछ भने रियाल म्याड्रिडले पनि घरेलु मैदानमा ४–० ले पराजित हुदाँको पिडा बिर्सन पाउनेछ ।

४. म्याड्रिडले कसरी जित्नसक्छ बार्सिलोनालाई ? रोनाल्डो र बेल तथा लुकास भाजक्वेजको स्पिड रियालको ठूलो हतियार हो । बार्सिलोजाले सधैँ विपक्षी टिमलाइ खेल्ने मौका दिने गरेको छ र बल हातमा परेपछि मात्रै आफ्नो सुन्दर कला देखाउँछ । यसअघि राफाल बेनिटेजले प्रशिक्षण गराउँदा पहिलो लेगमा पनि रियालले बल खेलाउने मौका पाएको थियो । तर मिडफिल्डमा मात्रै बल खेलाउनेको गतिलो जवाफ बार्सिललोनाले फर्कायो ।

५. कसरी जित्नसक्छ बार्सिलोनाले म्याड्रिडलाई मिडफिल्डमा बल होल्ड गर्दै बार्सिलोनाले रियाललाई दबाबमा राख्नेछ । तर रियाल मिडफिल्डमा बलियो छैन । रियालका लागि कासिमिरो टोनी क्रुसको सट्टा मिडफिल्डमा गतिलो विकल्प हुनसक्छन् । तर रोमा विरुद्ध उनले राम्रो खेलेनन् । यदी उनी दबाबमा देखिए भने बार्सिलोनाले मौकाको फाइदा उठाउनेछ । रियालको देब्रेपट्टीको डिफेन्स अर्को कमजोरी हो । मार्सेलोले सधैँ राम्रो खेल्न सक्छन् भन्ने ग्यारेन्टी छैन । यस्तो अवस्थामा कमजोरी नियाल्दै बार्सिलोनाले नराम्रो धावा बोल्नेछ ।

६. फेरि एकपटक रोनाल्डोबिरुद्ध मेसी रियाल र बार्सिलोनाबीचको खेललाई दुई खेलाडीको भीडन्तका रुपमा मात्रै चित्रण गरिन्न किनकी दुबै टिममा थुप्रै म्याच विनर खेलाडी छन् । तर यसका बाबजुद रोनाल्डो र मेसीको प्रतिष्ठिाको लडाईका रुपमा पनि यो खेललाई लिइन्छ । यस सिजनमा रोनाल्डोले ला लिगामा सर्वाधिक २८ गोल गरेका छन् । ला लिगाका सुरुआती दुई महिना चोटका कारण मैदान बाहिरै रहेपनि मेसीले लयमा फर्कदै २२ गोल गरिसके । बार्सिलोनाकै लुईस सुआरेजले प्रतियोगितामा २६ गोल गरेका छन् ।

७. के रोनाल्डोका लागि यो अन्तिम क्लासिको हो ? रियाल र बार्सिलोनालाई एल क्लासिको भनेर बुझिन्छ । अहिले क्रिष्टियानो रोनाल्डोलाई किन्नका लागि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्माइनले मोलमोलाई गरिरहेको छ । रियालले रोनाल्डोलाई नबेच्ने बताएपनि मोटो रकम हात परेमा बेच्न सक्छ किनकी रियाल आगामी सिजन ठूलो लगानी खर्चेर नयाँ खेलाडी किन्नेमा छ । यस्तो अवस्थामा रोनाल्डोलाई मोटो रकममा बेच्न पाए रियाललाई नयाँ खेलाडी किन्दा आर्थिक भार कम पर्नेछ । उनीसँगै इस्को र जेम्स रोडिग्वेजले पनि आगामी सिजन क्लब छाड्ने संभावना छ ।

८. के प्रशिक्षकका रुपमा जिदानको पहिलो एल क्लासिको अन्तिम हुनसक्छ सिजनको सुरुआतमा बार्सिलोनासँग ४–० ले पराजित भएको केही समयमै रियालका तत्कालिन प्रशिक्षक राफाल बेनिटेजले जागिर गुमाए । रियाल प्रशिक्षकका लागि अन्य टोली विरुद्धको खेल र बार्सिलोना विरुद्धको खेलले फरक अर्थ राख्छ । अन्य टोली विरुद्धको खेल हारेमा समर्थक त्यति आक्रोशित हुदैँनन्, जति बार्सिलोनाविरुद्ध हार्दा हुन्छन् । त्यसैले ला लिगाको उपाधि जित्ने रियालको सम्भावना कम रहनेपनि रियाल समर्थक बार्सिलोना हारेको हेर्न चाहन्छन् । खेल बराबरी भएमा चित्त बुभाउने ठाउँ रहन्छ तर कम्तिमा पनि आफ्नो क्लब हारेको हेर्न चाहन्नन् । रियालले अब जित्नसक्ने उपाधि भनेको च्याम्पियन्स लिग मात्रै हो । तर यस सिजन प्रतिष्ठाका लागि खेल्ने बार्सिलोनाबिरुद्ध नै हो । त्यसैले शनिबार रियालले जित हासिल गरेमा समर्थकहरुले जिदानको वाहवाही गर्नेछन् । अझ, च्याम्पियन्स लिगमा बार्सिलोनालाई रियालले हराएमा समर्थकहरुको वाहवाही थप बढ्नेछ । तर हारको नतिजा ठीक उल्टो हुन्छ अर्थात जिदानको जागिर धरापमा पर्नसक्छ ।

९. कसले जित्ला ? रियाल म्याड्रिडले यस सिजन घर बाहिर राम्रो खेलेको छैन् । बेनिटेज प्रशिक्षक छदाँ नै रियाल घरबाहिर कमजोर देखिएको थियो र जिदानको प्रशिक्षणमा पनि यो क्रम जारी छ । रियाललाई फाइदा भनेकै बार्सिलोनाका स्टार खेलाडी नेइमार, लुइस सुआरेज, मेसी, जाभियर मास्चिरानो र डेनि अल्भासको थकान हो । विश्वकप छनोटमा आ–आफ्नो देशको प्रतिनिधित्व गर्दै भर्खरै क्याम्प नोउ फर्किएका कारण उनीहरुले पूर्ण लयमा नखेल्न सक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप