शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

फोरम लोकतान्त्रिकमा विवाद : मधेसमा पार्टी रित्तै, गच्छदारले गरे महाधिवेसन गर्ने एक्लौटी घोषणा

शुक्रबार, १९ चैत २०७२, १९ : ५१
शुक्रबार, १९ चैत २०७२

काठमाडौ – सरकारमा गएपछि विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) पार्टी विभिन्न विवादमा फँसिरहेकै बेला महाधिवेशनको मिति घोषणा गरेको छ । महाधिवेशनको मिति घोषणा गरेलगतै पार्टीभित्र अहिले नयाँ विवाद शुरु भएको छ । मधेश आन्दोलन चलिरहेकै बेला फोरम लोकतान्त्रिक पार्टी सरकारमा गएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै थुप्रै नेताहरु पार्टीबाट बाहिरिएका थिए र सो क्रम अझै जारी छ । पार्टीमा रहेका बाँकी नेताहरु पनि असन्तुष्ट भएर काम गरिरहेकै बेला महाधिवेशनको घोषणा गर्नुले पार्टीभित्रको विवाद चुलिएको हो ।

बैठकमा आएनन् नेताहरु महाधिवेशनको तयारीका लागि अध्यक्ष गच्छदारले बैठक राख्दा त्यसमा पार्टीकै वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव, अर्का उपाध्यक्ष जितेन्द्रनारायण देव, दानबहादुर चौधरी, वकिल मुसलमानका नेताहरु अनुपस्थिति देखाए । पार्टीका एक नेताले भने, असन्तुष्टिको कारण पार्टीभित्रको आन्तरिक विवाद नै हो । पार्टी सरकारमा गएपछि थुप्रै नेता तथा कार्यकर्ता पार्टीबाट बाहिरिए, त्यसको बारेमा हालसम्म पार्टीले कुनै निर्णय लिएको छैन । जिल्लामा पनि थुप्रै नेता तथा कार्यकर्ताले पार्टी छाडेका छन्, कतै कतै त पूरै जिल्लाबाट पार्टीको संगठन साफ भएको छ । त्यहाँ के गर्ने, अर्को समिति बनाउने कि नबनाउने विषयमा पार्टीले कुनै चासो नलिई एकैचोटी महाधिवेशन घोषणा गर्नु राम्रो होइन ।’ जिल्ला समिति रित्तै, पुर्नगठन भएन असन्तुष्ट भएर बसेर पार्टीका अर्का उपाध्यक्ष मृगेन्द्रकुमार सिंह हालै राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीमा प्रवेश गरेका छन् । यसले सप्तरीमा फोरम लोकतान्त्रिकको संगठन नै नभएको अवस्थामा पुर्याइ दिएको छ । त्यस्तै अवस्था रौतहटमा पनि रहेको छ । फोरम लोकतान्त्रिकबाट सविधानसभा चुनावमा उम्मेदवार समेत रहिसकेका अजय गुप्ता पनि सो पार्टी छाडेर सद्भावना पार्टीमा प्रवेश गरेका छन् । उनीसँगै अन्य थुप्रै नेता तथा कार्यकर्ता गएपछि रौतहट पनि खाली खाली जस्तो देखिएको छ । सिरहामा त पुरै जिल्ला समितिले नै पार्टी छाडिसकेका छन् भने पर्साको अवस्था पनि त्यस्तै छ । तर यी कुराहरुमा पार्टीले कुनै ध्यान नदिएको असन्तुष्टहरुको आरोप छ । महाधिवेशन हुनअघि गाउँ कमिटी, क्षेत्रीय कमिटि तथा जिल्ला कमिटिको अधिवेशन गरेर मात्र महाधिवेशन गर्नुपर्नेमा गच्छदारले जवर्जस्ती महाधिवेशनको मिति तय गरे पार्टीभित्र झन् विवाद सृजना भएको सो पार्टीका एक नेताले आरोप लगाए ।

बैशाखको २०, २१ र २२ गते विराटनगरमा महाधिवेशन गर्ने तय भएको छ । तर हालसम्म कुनै जिल्लामा अधिवेशन भएको छैन । ‘धेरै जिल्लामा जिल्ला समिति छाडेर अन्यत्र पार्टीमा गइसकेका छन् तर त्यसलाई पुर्णता दिनु कता हो कता उल्टै महाधिवेशन गरेर गच्छदारले अध्यक्ष बन्न हतारो मात्र गरेका हुन्,’ ती नेताले आरोप लगाए । पार्टी फुटाउनेसम्म बनेको थियो योजना पार्टीको नेतृत्वमा रहेर गच्छदारको भूमिकाप्रति असन्तुष्ट रहेका थुप्रै नेताहरुले महाधिवेशनमा चुनौति दिने चेतावनी शुरुदेखि नै दिँदै आइरहेका थिए । पार्टी सरकारमा गएपछि रामेश्वर राय यादव, दानबहादुर चौधरी, मृगेन्द्र कुमार सिह, वकिल मुस्लमान, जितेन्द्र देव, गोविन्द चौधरीलगायतकाले पार्टी अलग गर्ने योजना पनि बनाएका थिए तर त्यसको नेतृत्व कसले गर्ने, पार्टी सञ्चालन गर्ने खर्च कहाँबाट ल्याउने लगायतका उल्झन देखिएपछि महाधिवेशनबाट गच्छदारलाई चुनौति दिने भन्दै पार्टी टुक्राउने मिसन छाडेका थिए । यता राजनीतिकका माहिर खेलाडी गच्छदारले ती कुराहरुको चाल पाइसकेपछि जेजस्तो अवस्थामा हतार हतारमा महाधिवेशन गराएर अध्यक्ष बन्ने दाउमा रहेका छन् । विवाद समाधान गर्नकै लागि महाधिवेशन : देव महाधिवेशनका लागि अध्यक्ष गच्छदारले हतार गरेको कुरा सो पार्टीका उपाध्यक्ष जितेन्द्र देवले पनि स्वीकार गरेका छन् । पार्टीका अध्यक्ष गच्छदारले महाधिवेशनको मिति तय गर्न बोलाएको बैठक अन्य नेता तथा पदाधिकारीसँग राम्रोसँग सल्लाहै नगरिकन गरेको कारण यस्तो देखिएको उनले बताए । ‘अध्यक्षजीले हतारमा महाधिवेशन तयारीका लागि बैठक बोलाउनु भयो । त्यही भएर धेरै जना बैठकमा सहभागी हुन पाउनुभएन,’ उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘यो प्राविधिक कारणले भयो ।’ यद्यपी छ वर्षदेखि तदर्थवादमा चलेको पार्टीलाई महाधिवेशनबाट पूर्णता दिन महाधिवेशन गर्नै पर्ने भएकाले आफूहरु महाधिवेशनको तयारीमा लागेको बताए । पार्टीभित्रको विवादको बारेमा जिज्ञासा राख्दा उनले यस्तो विवाद हरेक पार्टीमा रहेको बताउँदै पुरानोमा पुरानो खालको र नयाँमा नयाँ खालको विवाद हुने गरेको छ त्यही विवादहरुलाई मिलाउन महाधिवेशन गर्न लागेको बताए । यद्यपी उनले बैशाख ५ गतेसम्ममा जिल्ला सम्मेलनहरु गरेर महाधिवेशन प्रतिनिधि तयार गरिहाल्ने दावी गरे । बैठकमा अनुपस्थितिको बारेमा दानबहादुर चौधरीसँग जिज्ञासा राख्द उनले आफू उपचारका लागि नेपालमा नभएको कारण बैठकमा उपस्थित हुन नसकेको प्रतिकृया दिए । पार्टीको विवाद बारे उनले छोटो प्रतिकृया दिँदै भने, ‘पार्टीभित्र कुनै विवाद छैन ।’ यसै विषयमा कार्यालय सचिव परमानन्द मेहतासँग जिज्ञासा राख्दा उनले भने, ‘रामेश्वर राय यादव धेरै दिनदेखि जिल्ला तिर हुनुहुन्छ, जितेन्द्र देव जिल्लाको कार्यक्रम गराउन सप्तरीतिर हुनुहुन्छ भने दानवहादुर चौधरी पनि जिल्लामा हुनुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप