मेरो डायरी : छाँगाबाट खसाल्ने सेल्फी
शनिबार, १५ जेठ २०७३, ०९ : ०५
जेठको चर्काे घाम । तातो बाफ फैलिएजस्तो थियो वातावरण । घरबाट हिँड्दा घडी हेरेँ । ¬एघार बजे भेट्ने भनेको जम्मा दश मिनेट मात्र बाँकी थियो । कुमारीगालबाट चाबहिल चोक पुग्न पच्चिस मिनेट त लाग्छ । त्यसमाथि गौरीघाटबाट चाबहिल जाँदाको उकालो सम्झिएर अत्यास लाग्यो ।
छिट्टै पुग्नुपर्छ भनेर सात बजेसम्म सुत्ने मान्छे, बिहान साँढे पाँचमा नै ब्यूझिएकी थिएँ । हुन त उसलाई भेट्ने कुरा सम्झेर रातभरि निन्द्रा नै लागेको थिएन । बिहान झपक्क हुनेबित्तिकै उठिहालेकी थिएँ । के गरी ढिला भयो भयो ! मन भारी भएर आयो ।
सोचें, ‘पहिलो भेटमा नै नराम्रो प्रभाव पर्ने भयो । फस्र्ट इम्प्रेसन इज दी लास्ट इम्प्रेसन भन्छन् ।’ हिडेँ कि दौडिएँ आफैंले पत्तो पाइनँ असिनपसिन हुँदै चाबहिल स्तुपा अगाडि पुगँे ।
ऊ मलाई पर्खेर बसिरहेको थियो । थोरै अप्ठ्यारो, अलि धेरै लाज र डर लिएर उसको अघि उभिएँ । उसलाई नजिकै पाउँदा एक्कासी मुटु बेस्कन धड्कन थाल्यो, पूरै शरीर काँपेजस्तो भयो । गाडीको आवाज नहुँदो हो त मेरो मुटु धड्केको उसैले सुन्थ्यो होला ।
भन्न त कान समातेर ‘सरी, धेरै बेर कुर्नु प¥यो होला है’ भन्न मन थियो । उसको अघि पुगेपछि के बोल्न सक्नु ! कुरा उसैले सुरु गर्यो । ‘कस्तो ढिला ग¥या ? म आ’को त एक घण्टा भइसक्यो,’ उसको कुराले मलाइ झन् लज्जित बनायो ।
‘आउँदा¬¬–¬आउँदै ढिला भयो । घरको काम सकेर हिनेको’, आँखा जुधाउन नसकेर झुकाएरै भनेँ ।
‘जाऔं’, उसले बाटोतिर इसारा गर्दै भन्यो ।
‘कहाँ जाने ?’, लजाएर मैले सोधेँ ।
‘घुम्न’, उसले जिस्काएझैं लाग्यो । उसको मुहारमा अनौठो मुस्कान थियो ।
‘कुन ठाउँ त ?’, मैले अफ्ठ्यारो मान्दै भनेँ ।
‘हिँड न । म लगिहाल्छु नि’, उसले भनेपछि हामी चाबहिलबाट ओरालो झरेर ओम हस्पिटलतिर लाग्यौँ ।
०००
मैले प्रेम प्रस्ताव स्वीकार गरे पछिको पहिलो भेट थियो । हाम्रो घर एउटै टोलमा थियो । म पढ्ने स्कूलकै कलेजमा ऊ पढ्ने, जिस्क्याइरहने उसको बानी थियो । उसका साथीहरुले पनि जिस्काउन थालेका थिए । पहिले–पहिले उनीहरुले ‘भाउजू’ भनेर जिस्काउँदा साह्रै रिस उठ्थ्यो । कतिबेला बानी परिसकेछ, पत्तै भएनछ । बिस्तारै उसले नजिस्काउँदा, उसका साथीले ‘भाउजू’ नभन्दा पो चिन्ता लाग्न थालेको थियो । शंका पनि पो लाग्थ्यो, कतै अरुलाई नै ‘भाउजू’ भन्न थाले कि भनेर । एकचोटि उसले जबरजस्ती मेरो हातमा उसको नम्बर लेखेर गएको थियो । उसको अगाडि रिसाएर मेटेझैँ गरे पनि घर गएर सुटुक्क डायरीमा सारेर राखेकी थिएँ । सायद त्यो नम्बरसँगै ऊ प्रतिको माया पनि सङ्गालेर राखेछु क्यार ! यसरी बिस्तारै हामी नजिक हुँदै आयौं ।
हिँडदै गर्दा उसले मलाइ सोध्यो, ‘मैले बाइक किन नल्याएको थाहा छ ?’
‘अहँ ! थाहा छैन । किन ?’, मैले सोधेँ ।
‘बाइक ल्या’को भए छिट्टै पुगिन्थ्यो । हिँड्दै कुरा गर्न पाइँदैनथ्यो नि त ।’, उसको जवाफले रमाइलो महसुस भयो । प्रतिक्रियास्वरुप मुस्काएँ मात्र ।
ऊ कुरा गर्न माहिर छ भनेर उसकै साथीहरुले मलाई धेरै पटक सुनाएक थिए । तर प्रत्यक्ष अनुभवचाहिँ त्यही कुराबाट गरेँ । बाटोमा हिँड्दा गर्दा घरी–घरी उसको हात मेरो हातमा ठोक्किन्थ्यो । शरीरमा अनेकौँ किसिमको तरङ्ग पैदा हुन्थ्यो । उसलाई पनि त्यस्तै हुँदो हो, सचेत हुँदै हामीबिच दूरी कायम गरेझैँ लाग्थ्यो ।
मलाई पनि साथीहरुले गफाडी नै भन्थे । तर उसको अघि परेपछि त सास फेर्नै पनि गाह्रो भयो । गफ हाँक्न त परै जाओस् । घरमा हुँदा ‘यस्तो भन्छु, त्यस्तो भन्छु’ भनेर पूरापूर सोचेर आएकी थिएँ । कहाँ सक्नु ? साह्रै गाह्रो हुँदो रहेछ बोल्न पनि ।
उसले मलाई ओम हस्पिटलको नजिकै रहेका मालपोत कार्यालय छेउको मन्दिरमा लिएर गयो । सिधै त्यता लागेको देखेर थाहा पाएँ, उसले पहिले नै त्यता जाने योजना बनाएको रहेछ ।
मन्दिर बनाउँदा–बनाउँदै छोडेकोजस्तो देखिन्थ्यो । पूरै बनिसकेको थिएन तर पनि पुरानो देखिन्थ्यो ।
‘केको मन्दिर हो ?’, मैले बोल्ने बाटो निकालेँ ।
‘शिवको होला’, उसले पनि थाहा नपाएझैं भन्यो ।
‘म अलि पर बसेँ अफ्ठ्यारो मान्दै ।’
‘कस्तो कहिल्यै नभेटेको मान्छेलाई भेटेको जसरी लजाको तिमी ?’, उसले जिस्क्याउँदै भन्यो ।
‘सधैं भेटे पनि यसरी भेट्या’ थिएन नि त’, आँट नै गरेर बोलँे ।
‘यत्रो महिना वास्ता गरिनौ । एक्कासी कसरी मन परायौ नि मलाई ?’, लौ न, कस्तो प्रश्न ग¥या होला ? के भन्नु अब ?
‘खै कसरी कसरी थाहा छैन’, निहुररै भनेँ यत्ति चाहिँ ।
कुर्ता सुरुवाल लगाएको पनि राम्रै भएछ, औँलाहरु सलमा यसरी चलिरहेका थिए कि कमजोर भएको भए पूरै धूजा–धूजा हुन्थ्यो होला । ऊ अलि नजिक आउँदै भन्यो, ‘तिमीले मसँगको सम्बन्धलाई जोकको रूपमा त लिएकी छैनौ नि ?’
उसले भावुक भएर सोधेको थियो । जिस्किरहने मान्छे भावुक हुँदा त पटक्कै नसुहाउने । अब के भन्नू ! अब त झन् अभर पर्यो ।
‘छैन’, सकेसम्म छोटो उत्तर दिएर टार्न खोजेँ ।
प्रेमीसँगको पहिलो भेट साह्रै असहज हुँदो रहेछ भनेर थाहा पाएँ त्यस दिन । ऊ भने अनेक रमाइलो कुरा गरेर मलाई सहज बनाउने प्रयत्नमा व्यस्त देखिन्थ्यो । उसको यही रमाइलो गर्ने बानीले नै त हो, मेरो मन जितेको ।
पाँच घण्टा जति बितायौं होला हामीले त्यो मन्दिरको पेटीमा । पाँच घण्टामा म पनि उसँग फरर बोल्न सक्ने भएकी थिएँ । साँच्चै कुरा गर्न माहिर रहेछ ऊ । सधैँ भेट भए पनि मैले उसलाई नियालेर हेरेको रहेनछुजस्तो लाग्यो । झन्–झन् राम्रो देख्न थालेँ उसलाई । उसँग त्यसरी समय बिताउन पाउँदा साह्रै खुसी लाग्यो । पाँच घण्टा केही नखाई बस्दा पनि न भोक लाग्यो न तिर्खा ।
मलाई लाग्यो, ‘माया भन्ने चिज यस्तै हुन्छ क्यार ।’ त्यो मन्दिरमा बसेर मैैले जीन्दगीको नयाँ सम्बन्ध र सपना बुनेँ । मन्दिरवरिपरि पलाएर सुकेका झारको समेत माया लागेर आयो । त्यही सुकेका खैरा झारबिच मैले उसँग जीवन बिताउने हरिया सपना देखेँ र संकल्प गरेँ, यो सपना म बाँचुन्जेल ओइलाउन दिने छैन ।
०००
त्यसपछि हामी धेरै पटक त्यही मन्दिरमा भेटियौं । महिनामा कम्तिमा पनि चार पटक त्यो मन्दिर नधाई चित्त बुझ्दैनथ्यो । पहिलोचोटि देख्दा उराठ लागेको त्यो मन्दिर मैले बिस्तारै रङ्गिन देख्न थालेँ ।
ऊ मलाई दिनमा कम्तिमा पनि सात–आठ पटक फोन गर्थ्यो । उसले नगर्दा म नै गर्थें । कसले धेरै फोन गर्ने, म्यासेज गर्ने भन्ने प्रतिष्पर्धाजस्तो नै हुन्थ्यो हामीबिच । एक वर्ष कसरी बित्यो पत्तै भएन ।
मेरो लागि सबैभन्दा प्यारो बनेको थियो मालपोत कार्यालयछेउको मन्दिर । त्यसैको परिसरमा हामीले जेठको चर्को घाम भोग्यौं, असार साउनको झरीमा भिज्यौँ, रमायौँ र पुष–माघको जाडोमा न्यानो श्पर्श महसुस ग¥यौँ ।
घुम्न जाने भन्ने बित्तिकै सँगै निस्कने वातावरण मिलेन भने छुटाछुट्टै गएर मन्दिरमा पुगेर एक–अर्कालाई पर्खन्थ्यौं । अक्सर ऊ मभन्दा अघि नै पुग्थ्यो । ऊ मलाई कुरिरहेको देख्दा मख्ख पर्थें । ऊ भन्दा राम्रो मान्छे संसारमै छैन जस्तो लाग्थ्यो । उसल ‘काली’ भनेर सम्बोधन गर्दा आफूलाई पनि संसारकै राम्री भएको महसुस हुन्थ्यो ।
उसलाई भेट्नुअघि आफ्नो कालो वर्णमा खोट देख्थेँ, तर उसले राखिदिएको नामले आफ्नै अनुहार सुन्दर देख्न थाले । लाग्यो, ‘माया साँच्चै अद्भूत खुसी दिने कुरा रहेछ । मायामा किन मान्छे मर्नसमेत तयार हुन्छन भन्ने प्रश्नको उत्तर आफैंले पाउन थालेँ बिस्तारै ।’
प्रायः हामी शनिबार भेट्थ्यौं । एकदिन उसले सोमबार नै भेट्न बोलायो । आइतबार फोन गरेर भन्यो, ‘सुन त भोलि भेटम् ल । एउटा कुरा छ ।’
मैले ठट्टाको आवाजमा भनेँ, ‘अब हप्तामा दुई दिन बनाउनु पर्छ कि क्या हो भेट्ने समय ?’
‘होइन एउटा कुरा भन्नु छ तिमीलाई । फोनमा के भन्नु भनेर ।’
‘भन्नू न त फोनमै । भन्न मिल्ने भए । नभए भेटम्ला । आफू त अल्वेज रेडी । कि अहिले नै आऊँ ?’, यसरी जिस्कने बानी उसैको त सरेको थियो ममा ।
‘अहिले होइन । अहिले म घरमा छु । भोलि नै भेटुम्ला ।’, उसले घर कति नै टाढा भएजस्तो गरी भन्यो । दूरीचाहिँ दुई मिनेट हिँडे पुगिहालिन्थ्यो ।
‘कि म नै आऊँ त घरमा ।’, म झनै जिस्किएँ ।
‘ह्या, जोक नगर न । ल, भोलि भेटुम्ला । बाइ ।’, आज एक्कासी उसको स्वरमा आत्मीयता हराएको महसुस गरेँ । सोचें, ‘केही गम्भीर कुरा होला । सधैं मान्छेको स्वभाव एउटै पनि त हुँदैन ।’
भोलिपल्ट एक बजे म मन्दिर पुगँे । ऊ अगाडि नै आइपुग्यो होला भन्ने सोचेकी थिएँ सदाझैं । तर आएको रहनेछ । मनमनै गीत याद आयो– कुर्नु कुराउनु मायाको यही रित हो ।’
मलाई कुर्दा उसैले गाइरहने गीत गुन्गुनाउन थालें । एक घण्टापछि पो बल्ल आयो ऊ, त्यही पनि बाइक लिएर । हामीले भेट्ने गरेका दिन ऊ प्राय हिँडेरै आउँथ्यो । सोचें, ‘सायद कतै गएर आएको होला ।’
तर अर्को चिसोले छोयो मुुटुमा जब टाढैबाट हाँस्दै आउने उसको बानी बदलिएजस्तो लाग्यो । उसको अनुहारमा खुुसीको भाव देखिनँ । आउँदा–आउँदै ‘कति खेर आएको ?’भनेर सोध्नचाहिँ भ्यायो ।
‘भइसक्यो डेढ घण्टाजति’, मैले आधा घण्टा जति बढाएरै भने ।
‘अँ... खासमा के भने नि’, अलि अन्कनाउँदै कुरा सुरू ग¥यो उसले ।
‘ह्या के हो ? भन्नु न । के पहिलो पटक बोल्न लाग्याजस्तो अफ्ठ्यारो मान्या नि !’, मैले भनेँ ।
‘जाऊँ, कतै कफी पिउँदै कुरा गरौं । यहाँ के बस्नु ?’, ऊ औपचारिक भएको देखेर मलाई अचम्म र नरमाइलो दुवै लाग्यो । पहिलो पटक उसले त्यो त्यो ठाउँलाई बस्न योग्य ठानेन ।
तर कफी पिउँदै कुरा गरौं भन्ने प्रस्ताव पनि त उति नराम्रै त होइन भन्ने सोचेर भनें, ‘हुन्छ ।’
हामी चावहिल चोकको एउटा क्याफेमा परेर कफी पिउँदै गफ गर्न थाल्यौँ । उसले त्यो दिन मसँग अफ्ठ्यारो मान्दै कुरा सुरू गर्यो ।
‘खासमा के भने !’ यति भनेर ऊ फेरि अडकियो र लामो सास फेर्दै भन्यो, ‘मैले अस्ति एकचोटि भनेको थिएँ नि बाहिर जान ट्राइ गरिरा’को छु भनेर ।’
‘अँ, भन्नुभा’थ्यो अनि’, मलाई सामान्य नै लाग्यो कुरा ।
‘हिजो भिसा आयो । अब टिकट कन्फर्म गर्नमात्र बाँकी छ ।’, अब भने उसका शब्द चिसा भएर मनमा पसे । मेरो अनुहारको भाव परिवर्तन भएको देख्नेबित्तिकै उसले मेरो हातमाथि हात राख्दै भन्यो, ‘यति छिट्टै भिसा आउला भनेर सोचेको थिइनँ । त्यसैले तिमीलाई बिस्तारै भन्छु भनेर सोचेको थिएँ, सरी ।’
‘ठिकै छ । अब मैले के भन्नु ? तर एकचोटी घरमा कुरा गरेर जाँदा हुँदैन । तपाईं नआउन्जेल मलाई बिहेको प्रेसर नआए हुन्थ्यो ।’, मैले उदास भएर भन्दाभन्दै उसले बिचमा कुरा काट्दै भन्यो, ‘हैन, एक वर्ष तिमी मिलाउ न ! म पेपरहरू रेडी गरेर सकेसम्म तिमीलाई छिट्टै भेटन आउँछु ।’, उसको कुरामा केही सान्त्वना थियो । क्याफेमा दुई घण्टा जति बिताएर हामी घर फक्र्यौं । मैले उसँगको प्रत्येक भेटमा भनिरहने कुरा त्यस भेटमा अझ भावुक भएर दोहोर्याएँ, ‘हामी त्यही मन्दिरमा बिहे गर्ने ल ।’
‘हुन्छ’, उसले मुस्कुराउँदै भनेको थियो ।
०००
उसको फ्लाइटअघि मैले भेट्छु भनेँ । तर व्यस्तताको कारण एक पटक मात्र भेट भयो । २८ मे, २०१२ का दिन ऊ अमेरिका उड्यो । ऊ गएको दिन २४ घण्टा पनि धेरै बर्ष जस्तो लाग्यो ।
म एक वर्षको व्यग्र प्रतीक्षामा बस्न थालेँ । हामी घण्टौँ फेसबुक र स्काइपमा कुरा गथ्र्यौैं । उ पेपरहरू मिलाउँदैछु भनेर बारम्बार भन्थ्यो । एकदिन–दुइदिन गर्दैै ६ महिना बितेछ । ऊ ग्रीन कार्डको चक्करमा थियो, त्यसको लागि समय लाग्ने रहेछ । मलाई भने ऊ कहिले आउला भन्नेमात्रै ध्याउन्न थियो ।
उसले काम गर्न थाल्यो । त्यसपछि बिस्तारै हाम्रा कुराकानी पातलिँदै गए । एक बर्ष हुन पाँच दिन मात्र बाँकी थियो । कुराकानी जति नै कम भए पनि उसले आफ्नो बाचा बिर्सिंदैन भन्नेमा चाहिँ म ढुक्क थिएँ ।
धेरै दिन भएको थियो उसले फेसबुक नचलाएको । मैले पठाएका म्यासेजहरू पनि ‘सिन’ नभएको पनि धेरै दिन भएको थियो । मैले उसलाई ‘क्लोज फ्रेन्ड’मा राखेको कारण उसको हरेक ‘अपडेट’को ‘नोटिफिकेसन’ आउँथ्यो । एक बर्ष हुन एक दिन मात्र बाँकी थियो । आधा रातसम्म अनलाइनमै थिएँ । अचानक उसको फोटो अपलोड भएको नोटिफिकेसन आयो । खुसी भएर फोटो हेरेँ ।
फोटो देख्ने बित्तिकै मेरो अनुहारको रङ् उडयो । सपना हो कि विपना हो, छुट्याउनै गाह्रो भयो । वरिपरिका दृश्य धमिलो देख्न थालेँ । विश्वास भएन देखेको कुरा पनि । ‘स्ट्याच्यू अफ लिबर्टी’अघि खिचिएको सेल्फीको फ्रेमभित्र अरू पनि उसँग अटाएको थियो । र, मलाई छाँगाबाट खसाल्ने क्याप्सन थियो, ‘इन्जोइङ द डे विद माई डियर वाइफ जेनिफर ।’
एक दिन बाँकी थियो प्रतीक्षाको घडी सकिन, तर त्यो एक दिन अघि नै यसरी सकियो कि बाँकी केही थिएन । घाइते मनले अप्लोडेड फोटोहरू हेर्न थालेँ । बिहेका अरू फोटोहरू राखिएको थियो ।
निकैबेरमा सम्हालिएँ । उसलाई भन्न के नै बाँकी रह्यो र ? मनमा जे छ, प्रस्ट भनेको भए पनि हुन्थ्यो । कमसेकम म सपना बुन्दै कुरेर त बस्ने थिइनँ ।
एकै छिनमा म्यासेन्जरको रिङ बज्यो । हेरेँ उसकै म्यासेज थियो । ‘सरी यार, जिन्दगीमा एकदिनलाई सोचेर नहुने रहेछ । मैले तिमीलाई धोका दिन खोजेको होइन । समय परिस्थिति नै यस्तै आयो । मलाई जसरी हुन्छ, यतै सेटल हुनु छ । मलाइ कुरेर नबस । तिमीलाइ माया गर्छु । त्यसैले भ्रममा राख्न चाहिनँ ।’
पढ्दा–पढ्दै आँसुको सानो नदी बगिसकेछ । तुरुन्तै फेसबुक डिएक्टिभेट गरेँ । रात भरि छट्पटिएँ । निद्राको नामै पनि सम्झना आएन । उसँगका प्रत्येक पल सिनेमामा झैं चलिरहे मनमा ।
धेरै भएको थियो त्यो मन्दिर नदेखेको । त्यो ठाउँलाई अन्तिम पटक नियाल्न मन लाग्यो । बिहान ६ बजे नै पुगेँ । ओहो ! एक बर्षमा धेरै परिवर्तन भएछ त्यो ठाउँ । मन्दिर पुरै बनिसकेछ । तर त्यो पटक्कै राम्रो देखिएजस्तो लागेन । मन्दिर पुरानो हुँदा मेरो सम्बन्ध नयाँ थियो । आज नयाँ बन्दा मेरो सम्बन्ध धुजा–धुजा भइसकेको थियो । मन्दिरमा रातो रङको बाहुल्य थियो, मेरो जीवन सादा भएको थियो । वरिपरि हेरें, खोजेँ सुकेका झार । अहँ थिएन । त्यहाँ कृत्रिम दुबो फैलिएको थियो । हरियो दुबोसँग मेरो पटक्कै आत्मियता भएन । आखिर, सबै कुरा त परिवर्तन भएछन् समयसँगै । २८ मे २०१३, जुन दिन मैले एकवर्षअघि देखि कुरिरहेकी थिएँ, तर सधैंको लागि बिर्सन मन लाग्यो ।
समयसँगै धेरै घाउ निको हुँदै जान्छ । तर केही न केही त बसिरहँदोरहेछ खतजस्तो भएर । आज पनि त्यो बाटो हिँड्दा त्यो मन्दिरबाट आँखा हट्न सक्दैन । झकिझकाउ मन्दिर देख्दा सोच्छु– त्यो मन्दिर पुरानो हुँदा मेरो मान्छे पनि पुरानो थियो । मन्दिरसँगै मेरो मान्छे पनि नयाँ हुँदै गयो । फरक यति हो मन्दिर बदलिएर सुन्दर देखियो, ऊ बदलिएर कुरूप ।
Twitter @lucksmeeB
लक्ष्मीका डायरीका अरु पाना
मेरो डायरी : ब्ल्यू टी–सर्टवालाको म्यासेज
मेरो डायरी : जब जातले रोक्यो मामाघर जाने बाटो
मेरो डायरी : म कला बेच्न आएकी हुँ, शरीर होइन
मेरो डायरी : रातको १० बजेर ३४ मिनेट जाँदा…
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमै अमेरिकाको ३–० को फराकिलो अग्रतता
-
हिमालयदेखि एन्डिजसम्मः नेपाल–पेरु मित्रताका ५० वर्ष
-
नेपाल प्रहरीका विभिन्न प्राविधिक समूहका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
-
के अमेरिकीहरूमा पनि विश्वकपको पारो चढ्ला त ?
-
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी
-
‘मुलुकको विकासका लागि अनुसन्धानमा जोड दिनुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण