के अमेरिकीहरूमा पनि विश्वकपको पारो चढ्ला त ?
सारांश
- अमेरिकामा विश्वकप फुटबलको रौनक सुरु भए पनि बास्केटबल र अमेरिकन फुटबलको तुलनामा यसको लोकप्रियता कम देखिएको छ।
- धेरै अमेरिकीहरूले विश्वकपप्रति खासै चासो नदेखाएको र टिकटको मूल्य महँगो भएको गुनासो गरेका छन्।
- आयोजकहरूले प्रतियोगिता अगाडि बढ्दै जाँदा उत्साह बढ्ने अपेक्षा गरेका छन्, जसले सन् १९९४ को जस्तै दीर्घकालीन प्रभाव पार्न सक्नेछ।
न्यूयोर्क सहरभरि उल्लासपूर्ण उत्सव मनाइँदै थियो । केही समर्थकहरू म्यानह्याटनका सडकमा आफ्ना गाडीमाथि उभिएका थिए । हजारौँ माइल टाढा सान्टा मोनिकामा समुद्र किनारका बारहरूमा पनि त्यस्तै उल्लासमय गुञ्जन सुनिन्थ्यो ।
तर यो विश्वकपको खेलका लागि भने थिएन । यो न्यूयोर्क निक्सका लागि थियो, जसले बुधबार एनबीए लिगमा इतिहासकै सबैभन्दा शानदार पुनरागमन गर्दै सान एन्टोनियो स्पर्सलाई पराजित गरेको थियो ।
यसले अमेरिकामा विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता कुन स्तरको प्रतिस्पर्धासँग जुधिरहेको छ भन्ने सम्झना गराउँछ । यहाँ अहिले घरेलु टोली अमेरिकाले पाराग्वेविरुद्ध आफ्नो विश्वकप अभियान सुरु गर्ने तयारी गरिरहेको छ ।
अमेरिकामा फुटबल (सकर)ले बास्केटबल वा अमेरिकन फुटबलजत्तिको लोकप्रियता पाएको छैन । हालैको एक सर्वेक्षणमा सहभागी अमेरिकीहरूमध्ये आधाले त विश्वकपप्रति आफूलाई कुनै चासो नभएको बताएका छन् ।
राजनीतिक विवाद र महँगो टिकटसँगै कत्तिको उत्साहित छन् त देशवासीहरू ?
‘मलाई निक्सबाहेक अरू कुनै कुरामा मतलब छैन’ आफ्नो टोलीको ठुलो जितको उत्सव मनाउँदै गर्दा न्यूयोर्क निक्सका समर्थकहरूले भनेका छन् । बुधबार राति सान एन्टोनियो स्पर्सविरुद्धको जितपछि न्यूयोर्क निक्सका समर्थकहरूले न्यूयोर्क सहरलाई उत्सवमय बनाएका थिए ।
अहिले अमेरिकाले दोस्रोपटक पुरुष विश्वकपको आयोजकका रूपमा आफूलाई उभ्याएको छ । यसअघि उसले सन् १९९४ मा प्रतियोगिता आयोजना गरेको थियो ।
१९९४को प्रतियोगिताले अमेरिकाको फुटबल संस्कृतिमा महत्त्वपूर्ण र दीर्घकालीन प्रभाव पारेको थियो । यसले खेलको लोकप्रियता बढाउनुका साथै मेजर लिग सकर (एमएलएस) स्थापना हुने बाटो पनि खोलिदिएको थियो ।
तर तीन दशकभन्दा बढी समयपछि वर्तमान अवस्था सम्म आइपुग्दा अमेरिकी भूमिमा विश्वकपको पुनरागमनप्रतिको उत्साहले अझै अपेक्षित गति लिएको भने देखिँदैन ।
न्यूयोर्कमा ध्यान दिएर हेर्ने हो भने यो विशाल प्रतियोगिता सुरु हुन लागेका संकेतहरू भेटिन्छन् । राष्ट्रिय टोलीका रङहरूले सजिएका सबवे रेलहरू छन् । टाइम्स स्क्वायरको विशाल होर्डिङ बोर्डमा लियोनेल मेसीको अनुहार देखिन्छ । मोरक्को र ब्राजिलका जर्सी लगाएका समर्थकहरू ‘बिग एप्पल’ अर्थात् न्यूयोर्कमा घुमिरहेका भेटिन्छन् । यी दुई टोली शनिबार प्रतियोगिताका लागि ‘न्यूयोर्क–न्यु जर्सी स्टेडियम’ नामकरण गरिएको मेटलाइफ स्टेडियममा आमनेसामने हुदैँछन् । यहि स्टेडियममा विश्वकपका कुल आठ खेल खेलिनेछन् ।
तर अहिले न्यूयोर्कवासीहरू फुटबलभन्दा बास्केटबलप्रति बढी मोहित छन् । न्यूयोर्क निक्स एनबीए फाइनलमा सान एन्टोनियो स्पर्सविरुद्ध ३–१ ले अगाडि छ र शनिबार पुनः भेट हुँदा जित हासिल गरे सन् १९७३ यता उसले पहिलो राष्ट्रिय उपाधि जित्नेछ ।
अमेरिकामा विश्वकपको प्रचारप्रसारमा इन्टर मियामी तथा अर्जेन्टिनाका स्टार लियोनेल मेसीको प्रमुख उपस्थिति रहेको छ । इन्टर मियामी तथा अर्जेन्टिनाका स्टार लियोनेल मेसी अमेरिकामा हुने विश्वकपको प्रचार सामग्रीमा व्यापक रूपमा देखिएका छन् ।
एक समर्थक भन्छन्, ‘तपाईंले ब्याटम्यान हेर्नुभएको छ, हैन ? गोथम सिटी पनि देख्नुभएको छ, हैन ? यदि निक्सले जित्यो भने शनिबार राति यही अवस्था न्यूयोर्कमा देख्न सकिन्छ ।’
उनी थप्छन्, ‘साँचो भन्नुपर्दा मैले विश्वकपबारे खासै केही पछ्याएको छैन । मलाई निक्सबाहेक अरू कुनै कुराको मतलब छैन ।’
अर्का समर्थक फ्र्याङ्कले भने, ‘म आफ्नो निक्समै केन्द्रित छु । तर यो सकिएपछि मेरो ध्यान पक्कै विश्वकपतर्फ जानेछ ।’ उनले थपे, ‘अहिले न्यूयोर्कमा निक्सले सबै कुरामाथि कब्जा जमाएको छ ।’
निलो र सुन्तला रङको निक्स जर्सी लगाएका अर्का समर्थकले भने, ‘म इमानदारपुर्वक भन्छु । मलाई सकरबारे त्यति थाहा छैन ।’
‘उत्साह विस्तारै बढ्दै छ र उन्मादमा परिणत हुँदैछ’
अमेरिकामा विश्वकपको प्रचारप्रसारमा इन्टर मियामी तथा अर्जेन्टिनाका स्टार लियोनेल मेसीको प्रमुख उपस्थिति रहेको छ । इन्टर मियामी तथा अर्जेन्टिनाका स्टार लियोनेल मेसी अमेरिकामा हुने विश्वकपको प्रचार सामग्रीमा व्यापक रूपमा देखिएका छन् ।
लस एन्जलसमा पनि विश्वकपको प्रचारको अवस्था धेरै हदसम्म यस्तै छ । त्यहाँ अमेरिकी टोलीले आफ्नो तीन समूह खेलमध्ये दुई खेल खेल्नेछ । लस एन्जलस विमानस्थलबाट निस्किने सडकहरूमा ‘एलए२६’ र प्रतियोगिताको प्रचार गर्ने ब्यानरहरू राखिएका छन् । विद्युतीय होर्डिङ बोर्डहरूमा अमेरिकी टोलीका खेलाडीहरू पालैपालो देखाइन्छन् । अनि सहरको केन्द्रभागमा अर्जेन्टिनी महानायक लियोनेल मेसीको विशाल भित्तेचित्र बनाइएको छ । केही पसलहरूले विश्वकपसम्बन्धी सामग्री पनि बिक्री गरिरहेका छन् ।

तर फुटबलका समर्थक नभएका मानिसहरूका लागि प्रतियोगिता सुरु हुन लागेको तथ्य नै थाहा नहुनु पनि सामान्य भएको छ । एक ट्याक्सी चालक आश्चर्य व्यक्त गर्दै भन्छन्, ‘विश्वकप हुँदैछ र ? को–को खेल्दै छन् ?’
तर आयोजकहरू प्रतियोगिता अगाडि बढ्दै जाँदा उत्साह बढ्ने अपेक्षा गर्छन् ।
लस एन्जलस विश्वकप आयोजक समितिका सह–अध्यक्ष ल्यारी फ्रिडम्यान भन्छन्, ‘मलाई लाग्छ उत्साह विस्तारै बढ्दै गएको छ र अन्ततः ठुलो उन्मादमा परिणत हुँदैछ ।’
‘यसको प्रतीक्षा निकै लामो समयदेखि भइरहेको थियो । लस एन्जलसमा यति धेरै खेलकुद र गतिविधि भएकाले मानिसहरू दुई–तीन वर्षपछिको भन्दा भोलि के गर्ने भन्नेबारे बढी सोचिरहेका थिए ।’
उनी थप्छन्, ‘तर अब प्रतियोगिता सुरु हुनै लाग्दा मानिसहरू अत्यन्त उत्साहित भइरहेका छन् । यहाँ विविध समुदाय बस्छन् र विश्वभरिबाट आएका मानिसहरू छन्, जसका देशहरू यस प्रतियोगितामा सहभागी छन् ।’
समर्थकहरूका लागि आफ्नो देशको टोली खेल्ने सहरमै उपस्थित हुन पाउनु ठुलो उत्साहको विषय बनेको छ । भलै उनीहरू फुटबलका कट्टर समर्थक नहुन् । सान्टा मोनिकामा भेटिएका साक्रामेन्टो काउन्टीका इसायाह र हुस्ना प्रतियोगिताको अनुभव लिन उत्सुक थिए ।
इसायाह भन्छन्, ‘म निकै उत्साहित छु ।’ ‘मैले वास्तवमा कहिल्यै विश्वकप हेरेको छैन, तर यस वर्ष हेर्नेछु ।’
‘यो रोमाञ्चक हुनेछ किनकि अहिले यो एलएमा भइरहेको छ र एलए नै सबैको केन्द्रमा छ । यो केही फरक अनुभव हुनेछ ।’
हुस्नाले थपिन्, ‘यहाँ धेरै मानिसहरूलाई विश्वकप के हो भन्ने नै थाहा छैन । तर अहिले यो एलएमा भइरहेको छ र यो निकै लोकप्रिय स्थान भएकाले मानिसहरूले यसको बारेमा थाहा पाउनेछन् र हेर्नेछन् ।’
तर उनीहरू दुवैले आफ्नो मुलुक अमेरिकाले पहिलो खेल कसविरुद्ध खेल्दैछ भन्ने चाहिँ बताउन सकेनन् ।
कतिपय सन् १९९४ को अमेरिकी विश्वकप प्रत्यक्ष अनुभव नगरेका युवा अमेरिकीहरू पनि विश्वकपप्रति निकै उत्साहित देखिन्थे ।
त्यस्तै एक समर्थक माहोनले भने, ‘हामीले खेल हेर्ने सामूहिक कार्यक्रमको व्यवस्था गरेका छौँ, त्यसैले हामी निकै उत्साहित छौँ ।’
‘हाम्रा केही साथीहरू फुटबलमा रुचि राख्दैनन्, तर हामी उनीहरूलाई ‘टिम युएसए’ अर्थात् राष्ट्रिय गौरवको भावना बुझाउने प्रयास गरिरहेका छौँ ।’
‘मलाई लाग्छ लोकप्रियताका हिसाबले यसले बेसबललाई उछिनेको छ । तर अमेरिकन फुटबल वा बास्केटबलजत्तिको ठुलो भने हुने छैन ।’
‘मानिसहरू यसतर्फ आकर्षित हुनेछन् ।’
‘विश्वकप चलिरहेको छ भन्ने कुरा कसैलाई थाहा छैन जस्तो लाग्छ’
स्कटल्यान्ड करिब ३० वर्षपछि पहिलोपटक विश्वकपमा फर्किएको छ र उसका समर्थकहरू यो स्तरको फुटबलमा टोलीको पुनरागमन हेर्न बोस्टन पुगेका छन् । उनीहरूको पहिलो खेल हाइटीविरुद्ध छ । तर केही स्कटिश समर्थकहरूलाई उनीहरू किन आएका हुन् भन्ने नै नबुझेका अमेरिकीहरूले स्वागत गरेका छन् ।
एक स्कटल्यान्ड समर्थक भन्छन्, ‘१० मिनेटअघि मैले अमेरिकाबाट एउटा पत्र पठाएँ । त्यहाँकी युवतीले म यहाँ किन आएको भनेर सोधिन् र छुट्टी मनाउन आएको हो कि भनेर पनि सोधिन् ।’
‘मैले स्कटल्यान्डको जर्सी लगाएको थिएँ । उनलाई विश्वकप चलिरहेको छ भन्ने पनि थाहा थिएन ।’
अर्का समर्थकले भने, ‘यहाँका पबहरू उत्कृष्ट छन्, तर विश्वकप चलिरहेको छ भन्ने कुरा कसैलाई थाहा छैन जस्तो लाग्छ ।’
घरेलु समर्थक टिकट मूल्यका कारण बाहिरिए, तर विश्वकप सफलताले दीर्घकालीन प्रभाव पार्न सक्छ
अमेरिकी र विदेशी समर्थकहरू दुवैका लागि सबैभन्दा ठुलो समस्यामध्ये टिकटको मूल्य एक बनेको छ । अमेरिकाको पहिलो खेलअघि पनि टिकट उपलब्ध थिए । तर सबैभन्दा सस्तो टिकटको मूल्य १,१२० अमेरिकी डलर (८३६ पाउन्ड) भएकाले विशेषगरी परिवारहरूका लागि खेल हेर्न जानु कठिन बनेको थियो ।
लस एन्जलसको केन्द्रभागमा भेटिएका चार सदस्यीय परिवार क्रिस, एन्जी, लायला र लरेनले आफ्नो क्षेत्रमा विश्वकप आउनु खुसीको विषय भएको बताए । क्रिसले भने, ‘हाम्रा दुई छोरी क्लब फुटबल खेल्छन्, त्यसैले हामी निकै ठुलो समर्थक हौँ ।’
‘दुर्भाग्यवश हामी घरमै बसेर हेर्नेछौँ । टिकटको मूल्य र उपलब्धता अर्को छुट्टै विषय हो ।’
श्रीमती एरिका र छोराछोरी स्टेफानी तथा मार्सेलसँग रहेका ब्रेननले भने, ‘यदि परिवारका लागि बढी सुलभ मूल्य भएको भए हामी निश्चित रूपमा रंगशाला जान्थ्यौँ ।’
‘यद्यपि हामी अझै पनि उत्साहित रहनेछौँ र घरबाटै खेल हेर्नेछौँ ।’
यस प्रतियोगितामा अमेरिकी राष्ट्रिय टोलीले कस्तो प्रदर्शन गर्छ भन्ने कुराले पनि दर्शकको चासो बढाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ । टोली जति लामो समय प्रतियोगितामा टिक्छ, समर्थन पनि त्यति नै बढ्ने सम्भावना छ ।
पहिलो खेल नजिकिँदै जाँदा त्यो समर्थन बढेको देखिएको छ । यसै साता ३० मिनेटको प्रशिक्षण सत्र हेर्न ५,००० टिकट उपलब्ध हुँदा ३०,००० समर्थकले रुचि दर्ता गरेका थिए ।
नयाँ दर्शक वर्गसम्म पुग्न विभिन्न उपायहरू अपनाइएका छन् । हालै अमेरिकी अन्तर्राष्ट्रिय खेलाडी मलिक टिलम्यान लामो च्याउजस्तो देखिने टोपी लगाएर एक फेसन पत्रिकाको आवरणमा देखिएका थिए ।
अमेरिकी टोली तथा क्रिस्टल प्यालेसका डिफेन्डर क्रिस रिचड्र्सले भने, ‘त्यो तस्बिर समूह च्याटमा धेरै पटक पठाइएको छ । केही तस्बिरहरू साँच्चै रोचक छन् !’
सहकर्मी सेन्टर–ब्याक मार्क म्याकेन्जीले थपे, ‘अन्ततः कुरा पहुँच विस्तारको हो । आफूलाई विभिन्न तरिकाले अभिव्यक्त गर्न म सधैँ तयार छु ।’
यदि यस्ता प्रयास सफल भए र नयाँ दर्शक वर्गसम्म पुग्न सकियो भने, त्यसलाई विश्वकपमा अमेरिकी टोलीको बलियो प्रदर्शनले थप सहयोग पुर्याउन सक्छ । यसो भएमा सन् १९९४ मा जस्तै अमेरिकामा फुटबल खेलको भविष्यमा दीर्घकालीन र परिवर्तनकारी प्रभाव पार्न सक्नेछ । बीबीसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण