मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

वाम एकतामा ढिलाइ किन ?

बुधबार, १७ माघ २०७४, ११ : २९
बुधबार, १७ माघ २०७४

चुनावअघि नै एकता हुनसक्ने बताएका एमाले र माओवादीले चुनाव सकिएको करिब दुई महिना पुग्दासमेत पार्टी एकता गरेका छैनन् । पहिलो र तेस्रो हैसियतका यी दुई पार्टीको एकताले सर्वत्र चासो र आशंका बढाइरहेको छ । कुनै समय एकले अर्कालाई गालीगलौज गर्ने र एकअर्काको अस्तित्व स्वीकार नगर्ने कम्युनिस्टहरू एक ठाउँमा आउने प्रयासलाई सकरात्मक ठान्ने र नाटकीय मान्नेहरू उत्तिकै छन् । तर, चुनावपछिका दृश्यले एकताको बाटो सजिलो भने देखाउँदैन ।
कम्युनिस्ट नै भए पनि यी २ को बाटो र बुझाइ भने फरक छ । एकथरी १० वर्षे जनयुद्ध र हिंसापूर्ण बाटो अवलम्बन गरेर आएका हुन् भने अर्काे संसदीय अभ्यास र उतार चढाबाटै शक्तिशाली बनेका हुन् । १० वर्षसम्म एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्ने पार्टीहरूले एकताका लागि २०७४ असोज १६ गत्ते एउटा आधारशिला निमार्ण गरेका थिए । दुई पार्टी बीचको एकता बाहिबाट हेर्दा जति सहज छ, भित्र भने अवश्य छैन । बाहिरबाट झट्ट हेर्दा सहज देखिए पनि भित्री रूपमा पार्टी एकतासँग धेरै विषहरूले हलो अड्काउने काम गरेको छ । पार्टीको नेतृत्व तहदेखि नीतिसम्म समस्या देखिएको छ । पक्कै पनि पार्टीभित्रको सबै पक्षलाई मिलाएर लैजानु दुई पार्टीका  नेतृत्का लागि फलामको चिउरा चपाए सरह हुने छ । मुख्यतः पार्टी एकतामा देखिएका जटिलताहरू यसरी हेर्न सकिन्छ ।  

नीति र नेतृत्व 
विश्व कम्युनिस्टको झण्डामुनि रहे पनि दुवैको विचार भने फरक रहेको छ । नेकपा एमालेले जनताको बहुदलीय जनवादलाई (जबज) लाई मुख्य विचार मान्दै आएको छ । एमालेको जबजमा नेपालको हित गर्ने र नेपालमा कम्युनिस्टलाई दीर्घकालीन बनाउन सक्ने भनेर व्याख्या गरिएको छ । त्यस्तै माओवादीले २१औँ शताब्दीका माओवादलाई छाड्न नसक्ने अडान दोहोर्याउँदै आएको छ । जबज र माओवादलाई फ्युजन गर्न क्षमता र सामथ्र्य नेपाली कम्युनिस्ट नेतृत्वहरूमा देखिँदैन । त्योभन्दा पनि बढी एमाले र माओवादी आआफ्नो विचारलाई लाद्ने पक्षमा रहेको छ । हुन त एमाले र माओवादीका कतिपय नेता तथा कार्यकर्ताहरूले एमालेले नवौँ माहाधिवेशन र माओवादीले हेटौँडा महाधिवेशनबाट जबज र माओवादका नारा छाडेर पुँजीवादी क्रान्तिको नारा तय गरेको कुरालाई स्वीकार गर्दै आएको छ । अर्काेतर्फ माओवादीहरूले भन्ने गरेको जनयुद्धलाई कसरी हेर्ने भन्ने विषयमा मतभेद रहेको छ । माओवादी कुनै पनि हालतमा जनयुद्ध भन्ने पक्षमा रहेको छ भने एमाले सशस्त्रयुद्ध भन्ने पक्षमा रहेको छ । मुख्यतः जनयुद्धलाई कसरी हेर्ने भन्ने कुरा प्रधान रहेको छ । त्यसका साथै जनयुद्धसँग सम्बन्धित पक्षहरूलाई कसरी स्वीकार्ने भन्ने कुराहरू मुख्य रहेको छ । 
अर्काेतर्फ विचारमा भन्दा बढी नेतृत्वमा समस्या देखिएको छ । केपी ओलीलगायत एमाले जनहरू दुवै पद आफू लिने मनसायमा रहेको छ । त्यस्तै प्रचण्डलगायत माओवादीहरू एमालेलाई आफूले चाहेको पद लिन आग्रह गरेको छ । माओवादीले एमालेले छाडेको पद आफूहरूले लिने जनाउँदै आएको छ । यदि पार्टीको नेतृत्व तहमा सहमति जुटिहालेमा स्थानीय स्तरसम्म कसरी लाने भन्ने कुरा अर्काे चुनौतीको पक्ष रहेको छ । 

बाह्य शक्तिप्रतिको दृष्टिकोण
विशेषतः हाम्रा दुई छिमेकी राष्ट्रहरूलाई विश्व राजनीतिको केन्द्रका रूपमा लिइन्छ । नेपाल जस्तो मुलुकमा हिजोदेखि नै भारत र चीनको प्रत्यक्ष वा अप्रतक्ष हस्तक्षेपहरू रहँदै आएको छ । कम्युनिस्ट पार्टीहरूभित्र पनि यसको प्रभाव गहिरै रहेको छ । पार्टी फुट्नु र जुट्नुमा छिमेकको राम्रै हात हुने गरेको छ । दुवै पार्टीमा छिमेकीप्रतिको बुझाइ फरक–फरक रहेको छ । केही समय अगाडि भारतको खुलेर आलोचना गर्ने माओवादी अध्यक्ष प्रचण्ड लगायत उनको पार्टी मूलतः २०७० को दोस्रो संविधानसभा पछाडि भारतप्रति नरम देखिन्छ भने एमाले अध्यक्ष केपी ओली विशेषतः भारतीय नाकाबन्दीपछि भारतप्रति अलि कडा देखिन्छन् । एमालेभित्रकै माधव नेपाल लगायतका केही नेताहरूलाई भारतपरस्त नेताका रूपमा आरोप लाग्दै आएको छ । 
अर्काेतर्फ छिमेकीहरूको पनि हेर्ने दृष्टिकोण फरक रहेका छ । देशमा वामपन्थीहरूले निर्वाचनमा प्राप्तको गरेको नतिजाको कारण, चुनाव लगत्तै नेपाल भ्रमणको तयारी गरिरहेका भारतका राष्ट्रपति प्ररणव मुखर्जी र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नेपाल भ्रमण स्थगित गरेका छन् । 

गुटको समस्या 
गुट उपगुटहरूमा विभाजन हुनु नेपाली राजनीतिको सबैभन्दा ठूलो रोग हो । नेपालमा सबै राजनीतिक दलहरूभित्र गुट उपगुट रहेका छन् । विशेष गरेर वामपन्थी दलहरूभित्र गुटको समस्या व्यापक रहेको छ । कतिसम्म भने वामपन्थीहरू विचारको नाममा पार्टी फुटाएर नयाँ पार्टी निर्माण गर्न समेत पछि पर्दैनन् । यसका ज्वलन्त उदाहरण हामीले पटक पटक देख्दै आएका छौँ । यदि पार्टी एकता भइहालेमा पनि अहिले रहेको भन्दा दर्जनौँ गुटहरू देखा पर्ने निश्चित छ ।
 
लोकतान्त्रिक गठबन्धनलाई फाइदा 
कुनै समय माओवादी अध्यक्ष प्रचण्डले खुल्ला मञ्चलगायत अन्य सार्वजनिक स्थानमा एमाले र काङ्ग्रेस भन्ने पार्टी एउटै हो भन्दै हिँडेका थिए । उनले एमाले भन्ने पार्टी काङ्ग्रेसमा विलय भए हुन्छ भन्दै हिँडेका थिए । एमालेका कतिपए कार्यकर्ताहरूलाई आजसम्म पनि माओवादीभन्दा काङ्ग्रेस नै प्यारो लाग्ने तथ्यहरूले पुष्टि गर्छ । त्यसैले एमाले र माओवादी एकीकरण भएमा एमालेका तल्लो तहका नेता तथा कार्यकर्ताहरू अन्य पार्टीहरूमा अवतरण गर्ने सम्भावना जीवितै छ । त्यस्तै एमालेलाई कम्युनिस्ट भन्न नरुचाउने माओवादीहरू हिजैदेखि एमाले कम्युनिस्ट नै होइन र रहेन भन्ने स्कुलिङबाट प्रभावित भएका छन् । अर्काेतर्फ एमालेमा पार्टी विलयन भयो भनेर विद्रोह गर्ने कार्यकर्ता तथा नेताहरूको गुट पनि देखापर्ने सम्भावना रहेको छ । माओवादीहरूमा आजसम्म पनि क्रान्तिकारी र कम्युनिस्ट भनेको त आफूहरू मात्र हौँ भन्ने दम्भ रहेको छ । यसले गर्दा पछिल्लो समय नेपाली राजनीतिमा देखिएको लोकतान्त्रिक गठबन्धनलाई फाइदा हुने सम्भावना बलियो छ । 

कम्युनिस्टहरूको विगत 
नेपालमा काङ्ग्रेस र कम्युनिस्ट पार्टीको स्थापना विस २००६ सालमा भएको हो । दुवै पार्टीले प्रजातन्त्रका लागि लडेर २००७ सालमा देशमा प्रजातन्त्रको स्थापनासमेत गरे । तर प्रजातन्त्रको स्थापनापश्चात देशमा कम्युनिस्टको तुलनामा काङ्ग्रेस धेरै नै बलियो देखियो । काङग्रेसले यो वा त्यो बहानामा देशमा शासन गरिराख्यो । कम्युनिस्टहरू भने विचारका आधारमा टुटफुटमा नै रमाउने गरे । जुन रोग हालसम्म पनि विद्यमान छ । कति सम्म भने काङग्रसले कम्युनिस्टहरूलाई वैधानिक पार्टी समेत मानेन । २००६ सालमा स्थापना भएको कम्युनिस्टहरूले सत्ताको स्वाद चाख्न २०५१ कुर्न पर्यो । त्यसभन्दा अगाडि कम्युनिस्टहरू यो वा त्यो बहानामा टुटफुटमा नै रमाए । टुटफुटमा नै रमाउन चाहने कम्युनिस्टहरूले पार्टी एकता गरेर सजह रूपमा अगाडि बढ्ने छाँटकाँठ भने देखिँदैन । 

नयाँ कम्युनिस्ट उदयको सम्भावना
मुख्यतया विचारलाई प्रधान ठान्ने कम्युनिस्टहरू यो वा त्यो बहानामा पार्टी फुटाउन र नयाँ पार्टी निर्माण गर्न माहिर छन् । मुख्यतः २०६२, ०६३ पश्चात शान्ति प्रकृयामा आएका माओवादीहरूलाई पछिल्लो समय यो रोगले सताएको छ । एमालेलाई कम्युनिस्टको रूपमा स्वीकार गर्न नसक्ने माओवादीका कतिपए नेता कार्यकर्ताहरू यति बेला पर्ख र हेरको नीतिमा रहेका छन् । उनीहरू कुनै हालतमा एमालेसँग पार्टी एकता नगर्ने पक्षमा रहेका छन् । उनीहरू यतिबेला बरु नयाँ कम्युनिस्ट जन्माउने पक्षमा रहेको छ । जसको नेतृत्व गोपाल किराँती लगायतका नेताहरूले गरिरहेका छन् । त्यसैले एमाले र माओवादी एकता भइहालेमा अर्काे कम्युनिस्ट पार्टीले क्रान्तिकारी भ्याकुमलाई पूर्ति गर्ने सम्भावना छ । नयाँले नयाँ सङ्घर्ष गर्दा नेपालको कम्युनिस्ट आन्दोलन झनै कमजोर नहोला भन्न सकिँदैन । यी पार्टीहरू र नेताहरू सुध्रिए भने एकताले मुलुकको हित नै गर्ला । ‘काले काले मिलेर खाम भाले’ प्रवृत्ति हावी नै भइरहे एकताको पनि औचित्य देखिँदैन । गलत प्रवृत्तिले कम्युनिस्टप्रतिको जनविश्वास नै मार्नेछ । यसको क्षतिपूर्ति गर्न कैयौँ दशक नलाग्ला भन्न सकिँदैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

देवराज गुरुङ
देवराज गुरुङ
लेखकबाट थप