शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

साहित्यकार विकलले आफु जन्मिएको घर प्रतिष्ठान बनाए

बिहीबार, २६ फागुन २०७३, १८ : ४१
बिहीबार, २६ फागुन २०७३
काठमाडौँ  – साहित्यकार रमेश विकलको नाममा स्थापना भएको प्रतिष्ठानको भवन शिलान्यास आज एक समारोहबीच गरिएको छ । विकलले जीवित हुँदै विसं २०६३ मा रमेश विकल साहित्य प्रतिष्ठानको स्थापना गरी आफू जन्मिएको घर प्रतिष्ठानका नाममा दान गरेका थिए । उनले पुस्तकको रोयल्टीबापत आउने रकमसमेत प्रतिष्ठानका नाममा जम्मा हुने गरी तयार पारीएको इच्छापत्रमा छोराछोरीले सहमति जनाएका छन् । पाँच आना जग्गामा बनेको साढे दुई तले घर २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएपछि नयाँ भवन बनाउन शिलान्यास गरिएको हो । भवन निर्माणका लागि सांसदद्वय रामेश्वर फुयाँल र अम्बिका बस्नेतले काठमाडौँ क्षेत्र नं ३ को सांसद क्षेत्र विकास कोषको रु ४० लाख, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सांस्कृतिक क्षेत्र प्रवद्र्धन कार्यक्रमअन्तर्गत रु ४० लाख र राष्ट्रिय योजना आयोगको रु पाँच लाख गरी रु ८५ लाखको लागतमा भवन निर्माण हुन लागेको प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेले जानकारी दिए । भवनको शिलान्यास गर्दै सांसद रामेश्वर फुयाँलले अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिङ्कनको जन्मस्थल केन्टकी पुगेका बेला विकलका नाममा खुलेको प्रतिष्ठानलाई सांस्कृतिक धरोहरका रुपमा विकसित गर्ने सोच आएको बताए । ‘म जिल्ला विकास समितिको उपसभापति हुँदा महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई सङ्ग्रहालयका रुपमा स्थापित गर्न बजेट विनियोजन गरिएको थियो, देवकोटाकै परिवारले बनाउन दिएन, महाकविको घर राज्यले मूल्य तिरेर किनी देशको सम्पत्ति बनाउनुपर्छ’ – उनले भने । जोरपाटी क्षेत्रमा हास्यव्यङ्ग्यकार भैरव अर्याल र विकलजस्ता प्रसिद्ध साहित्यकार जन्मिएकाले साहित्यिक धामका रुपमा विकसित गरिनुपर्ने सांसद फुयाँलको भनाइ थियो । कार्यक्रममा नेपाली काँग्रेस काठमाडौँ ३ नं क्षेत्रीय सभापति सन्तोष चालिसेले आख्यानकार विकलको नाममा स्थापना भएको प्रतिष्ठानले नेपालमै पहिलोपटक साहित्यिक सङ्ग्रहालय स्थापना गर्न सफल हुने विश्वास व्यक्त गरे । सो अवसरमा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले जोरपाटी क्षेत्रमा नियमित साहित्यिक गतिविधि अघि बढाउन विकलले महत्वपूर्ण प्रेरणा दिएको बताए । प्रतिष्ठानका सदस्य सचिव एवम् विकलका पुत्र वरिष्ठ पत्रकार विजय चालिसेले भवन निर्माण सम्पन्न भएपछि विशुद्ध सांस्कृतिक एवम् शैक्षिक केन्द्रका रुपमा साहित्यिक सङ्ग्रहालय स्थापना गरिने बताए। साढे दुईतले भवन असारसम्म निर्माण सम्पन्न हुने सो अवसरमा जानकारी गराइयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप