शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

औषधिको मूल्य घटाउनुपर्छ – मन्त्री थापा

बुधबार, १० जेठ २०७४, २१ : २४
बुधबार, १० जेठ २०७४
कल्पना पौडेल जेनेभा, जेठ १० – स्विट्जरल्याण्डको जेनेभामा भइरहेको विश्व स्वास्थ्य सङ्गठनको ७०औँ महासभामा नेपालका तर्फबाट सम्बोधन गर्दै स्वास्थ्यमन्त्री गगन थापाले हरेक महादेशका क्षेत्रीय निकायसँग सङ्गठनले सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । सभालाई सम्बोधन गर्दै उनले भने – ‘क्षेत्रीयस्तरमा काम गर्दा स्वास्थ्य क्षेत्रका कामलाई फलदायी बनाउन सकिन्छ । कुनै पनि देशको स्रोतसाधनको अधिकतम उपयोग गर्न र दीर्घकालीन निर्णयलाई प्रभावकारी बनाउन क्षेत्रीय निकायको भूमिका महत्वपूर्ण हुन्छ ।’ सङ्गठन र अन्य सहयोगी संस्थासँगको सम्बन्ध लिने र दिनेको मात्र भएकाले यसलाई प्राविधिक विषयमा मात्र सीमित बनाउन नहुने उनको आग्रह थियो । स्वास्थ्यमन्त्री थापाले सङ्गठनले क्षेत्रीय निकायसँग सहकार्य गरी औषधिको मूल्य घटाउन काम गर्न पर्ने सुझाव पनि दिए । उनले भने – ‘अहिलेको ठूलो समस्या भनेको महङ्गो औषधि हो, स्वास्थ्य क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न यसको मूल्य नघटाई हुन्न । नेपालमा आम व्यक्तिले गर्ने खर्चमध्ये ६७ प्रतिशत रकम औषधिमा खर्च हुने गरेको छ ।’ सङ्गठनले सार्क, आसियान, अफ्रिकन युनियनजस्ता निकायसँग सहकार्य गरी यसबारेमा काम गर्नुपर्ने टड्कारो आवश्यकता रहेको र औषधिको मूल्य नघटाउँदासम्म स्वास्थ्यमा गरिब जनताको समान पहुँच पुर्याउन नसकिने मन्त्री थापाको भनाइ छ । उनले पाँचवर्षे कार्यकालका लागि निर्वाचित भएका सङ्गठनका महानिर्देशक डा टेन्ड्रोस अधानोमको सफल कार्यकालका लागि शुभकामना पनि दिए । मङ्गलबार राति १९४ सदस्य देशको विभिन्न चरणको मतदानबाट निर्वाचित डा टेन्ड्रोसले मन्त्री थापासँगको भेटमा मिलेर काम गर्ने बताएको थियो । मन्त्री थापाले उनलाई नेपाल भ्रमणको निम्तो दिएकामा उनले नेपाल भ्रमणमा आउने इच्छा प्रकट गरेको थियो । उनले आगामी जुलाइबाट आफ्नो कार्यकाल सम्हाल्ने छन् । महासभा जेठ १७ गतेसम्म चल्नेछ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप