शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चुनाव सरेको भोलिपल्टै भारतीय दूताबास पुगे राजपाका नेता

मङ्गलबार, १६ जेठ २०७४, १७ : ४४
मङ्गलबार, १६ जेठ २०७४

काठमाडौं, जेठ १६– सरकारले चुनावको नयाँ मिति तय गरेसँगै राजपा नेपालका नेताहरु लैनचौरस्थित भारतीय दूताबासमा छलफलका लागि पुगेका छन् । राजपाका नेताहरु भारतीय राजदूत मञ्जिभसिंह पुरीसँग छलफलका लागि मंगलबार बिहान लैनचौरस्थित भारतीय दूताबासमा पुगेका हुन् । सोमबार मात्रै मन्त्रिपरिषद्को बैठकले राजपालाई चुनावमा सहभागि गराउने उद्देश्यले जेठ ३१ गतेको स्थानीय तहको चुनाव असार ९ गतेको लागि सार्ने निर्णय गरेको थियो ।

छलफलमा राजपाका नेताहरुले आफूहरुको चाहनाअनुसार चुनावको मिति सारिएको भएपनि अझैं वातावरण बनिनसकेको बताएका थिए । तर, भारतीय राजदूत पुरीले मधेसी दलकै चाहनाअनुसार सरकारले चुनावको मिति सारेकाले अब चुनावमा सहभागि भए राम्रो हुने सुझाव दिएका थिए । सिंहको भनाई उदृत गर्दै भेटमा सहभागि राजपाका एक नेताले भने, ‘ राजपालाई चुनावमा सहभागि गराउनकै लागि सरकारले असार ९ गते चुनाव सारेको छ। त्यसलाई सदुपयोग गरेर जाँदा नै मधेसी दललाई फाइदा पुग्न सक्छ ।’ सिंहले आफूहरुले सुझाव मात्रै दिएको भन्दै कसरी अघि बढ्ने भन्नेमा सुझबुझपूर्ण निर्णय लिन समेत नेताहरुलाई सुझाएका थिए । राजदूत पुरीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अब बन्ने भनिएको सरकार मोर्चाको माग पूरा गर्न तत्पर जस्तो देखिएको समेत बताएका थिए । ‘भारत मधेसको माग पूरा होस् भन्ने चाहन्छ तर लोकतन्त्रको सुन्दर पक्ष चुनाव भएकाले त्यसमा सहभागि हुँदा राम्रो हुन्छ’, राजदूत पुरीको भनाई उदृत गर्दै ती नेताले भने, ‘ हामीले अरु भन्न मिल्दैन । सुझाव मात्रै दिने हो तर अब पनि चुनावमा नगए सन्देश नराम्रो जानसक्छ ।’

जवाफमा मधेसी नेताहरुले आफूहरु पनि चुनावमा जान तयार रहेको भन्दै मात्रै आफूहरुको माग पूरा हुनुपर्ने मात्रै भनेको बताए । मधेसी मोर्चाले संविधान सश्ांोधन हुनुपर्ने, सीमांकन हेरफेर हुनुपर्ने, मधेसमा स्थानीय तहको संख्या बढाइनुपर्ने, चुनाव चिन्ह पाउनु पर्ने लगायतका माग राख्दै आएको छ । राजपाका शीर्ष नेताहरु सहभागि बैठकमा राजदूतसँग दूतबासमा एक घण्टाबढी छलफल भएको बताइएको छ । राजदूतसँगको छलफलसँगै अब चुनावमा जाने नजाने बारे छिट्टै राजपाका नेताहरुले बैठक बसेर निर्णय लिने बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप