शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

गरीबी निवारणको सञ्चालकमा ५ जना मनोनयन

मङ्गलबार, १६ जेठ २०७४, १४ : ०८
मङ्गलबार, १६ जेठ २०७४

काठमाडौ, जेठ १६– गरीबी निवारण कोष सञ्चालक समितिको ६६ औं र ६७ औं बैठक प्रधानमन्त्री तथा कोषका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार सम्पन्न भएको छ । सिंहदरबारमा सम्पन्न बैठकले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई सहभागी गराई ‘गरीबी निवारण, व्यवसायिक विकास तथा समृद्धि’ विषयमा प्रदेश स्तरीय गोष्ठी सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसैगरी, बैठकले नारायण कोइराला, विजयनारायण श्रेष्ठ, साधना घिमिरे भेटुवाल, महादेव बडु र विश्व शान्ति विष्टलाई सञ्चालक समितिमा मनोनयन गरेको छ । बैठकले कोषको आगामी रणनीति तयार गर्न प्रधानमन्त्री कार्यालयका सहसचिवको संयोजकत्वमा राष्ट्रिय योजना आयोग, स्थानीय विकास मन्त्रालय र अर्थ मन्त्रालयका उपसचिव सदस्य तथा गरीबी निवारण कोषका प्रतिनिधि सदस्य सचिव रहेको एक कार्यदल पनि गठन गरेको छ । कार्यदललाई रणनीतिक प्रतिवेदन तयारीका लागि एक महिनाको समय तोकिएको छ । बैठकले नेपालका हिमाली तथा नेपाल–तिब्बत सीमा क्षेत्रका जिल्लाहरुमा गरीबी निवारण कार्यक्रम सञ्चालन गर्न चीन सरकार तथा एसियन पूर्वाधार लगानी बैंकलाई परराष्ट्र मन्त्रालयमार्फत् अनुरोध गर्ने निर्णय पनि गरेको छ । त्यसरी नै बैठकले गाउँपालिका र नगरपालिकामा गरीबी निवारण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने, कोषलाई बहुउद्देश्यीय र विविधिकरण गर्ने निर्णय पनि गरेको छ । बैठकमा बोल्दै प्रधानमन्त्री तथा कोषका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोषको कामलाई औपचारिक दायराबाट माथि उठाएर प्रभावकारी बनाउन र लक्षित वर्गको जीवनस्तरमा परिवर्तनको अनुभूति हुने गरी कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए । बैठकले नेपाल सरकारले आर्थिक वर्ष २०७४÷०७५ मा कोषका लागि बिनियोजन गरेको एक अरब अठ्सठ्ठी करोड छयहत्तर लाख पैसठ्ठी हजार बजेटलाई अनुमोदन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप