आफैलाई मत नहाल्ने उम्मेदवारहरु जसले शुन्य मत पाए
भक्तपुर, १६ जेठ । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन गत वैशाख १९ गते स्थानीय तह मध्यपुर थिमि नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयको वातावरण उल्लासमय थियो ।
राजनीतिक दल मात्र होइन सर्वसाधारणको समेत निर्वाचन कार्यालयमा उत्सुकतापूर्ण भिड थियो । यही भिडमा स्वतन्त्र उम्मेदवारको हैसियतले मध्यपुर थिमि नगरपालिकाका प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराउनेमध्येका एक थिए –मध्यपुर थिमिका बाबुकष्ण श्रेष्ठ ।
वैशाख ३१ गते निर्वाचन सम्पन्न भयो र जेठ १ गते बिहानदेखि सुरु भएको मतगणना– ८ गते बिहान सम्पन्न भयो तर श्रेष्ठले एक मत पनि प्राप्त गर्न सकेनन् । श्रेष्ठको चुनाव चिन्ह थियो ‘ब्याडमिन्टन र कर्क’ । निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेलका अनुसार चुनाव चिन्ह ब्याडमिन्टन र कर्कमा एक मत पनि आएन । पहिलो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत भक्तपुरका चार नगरपालिकामा सम्पन्न निर्वाचनमा शून्य मत प्राप्त गर्ने बाबुकृष्ण श्रेष्ठ एक प्रतिनिधि पात्र मात्र होइन । उनीजस्तै एक मत पनि प्राप्त नगर्ने अरु पनि उम्मेदवार छन् । सो नगरपालिकाको प्रमुखका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका थिए भने उपप्रमुखमा ६ जनाले । उक्त नगरपालिकामा शून्य मत प्राप्त गर्ने अर्का नगर प्रमुख पदका उम्मेदवार रोमन बज्राचार्य पनि छन् । उनको चुनाव चिन्ह चमेरो थियो । बज्राचार्यले निर्वाचनको प्रचारप्रसारको क्रममा कतै पनि आफ्नो प्रचार सामग्री समेत राखेनन् । निर्वाचनमा आफैंले आफूलाई मत नदिनुको कारणबारे उनीसँग प्रतिक्रिया माग्दा बोल्न चाहेनन् ।
बज्राचार्यले यसलाई समाचार बनाउनुपर्ने र यस बारेमा कुनै प्रतिक्रिया दिनुपर्ने आवश्यकता नभएको बताए । त्यसैगरी मध्यपुर थिमिको वडा नं– ७ का वडा अध्यक्ष पदका कङ्गारु र गमबुट चिन्हका उम्मेदवारले पनि शून्य मत पाएका थिए ।
मध्यपुरमा एक मत पनि प्राप्त नगर्नेमा वडा अध्यक्षका उम्मेदवार दुईजना पनि छन् ।
मध्यपुर थिमिमा १० भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको सङ्ख्या नगरप्रमुखमा दुईजना, वडा अध्यक्षमा ११ र वडा सदस्यमा ३५ जना छन् । निर्वाचन अधिकृतको कार्यालयकाअनुसार नगरप्रमुखका उम्मेदवार बिरालो चिन्हका महाप्रसाद पराजुलीले एक, ब्याट्री चिन्हका सरिता दुवाले दुई मत प्राप्त गर्नुभएको थियो । निर्वाचनमा १० भन्दा कम मत ल्याउने वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवार अधिकांश राष्ट्रिय जनमोर्चा, नेकपा माले र सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको गठबन्धनका उम्मेदवार रहेका छन् ।
त्यसैगरी भक्तपुर नगरपालिकामा शून्य मत ल्याउने उम्मेदवारको सङ्ख्या ११ छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार भक्तपुर नगरपालिकाका वडा अध्यक्षमा उम्मेदवारी दिने १० जना र वडा सदस्यमा उम्मेदवारी दिने एक गरी कुल ११ उम्मेदवारले शून्य मत प्राप्त गरेका हुन् ।
कार्यालयले उपलब्ध गराएको विवरण अनुसार भक्तपुर नगरपालिका–२ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार टि टेबल चुनाव चिन्हका सूर्यनारायण फाँजू,– वडा नं। ३ का लसुन चुनाव चिन्हका हरिसुन्दर लवजू,– ४ का विश्वराम त्वायना चुनाव चिन्ह जाँतो,– ५ का नारायणभक्त भेलेको चुनाव चिन्ह– ओखरले शून्य मत प्राप्त गरेका थिए । त्यसैगरी वडा नं– ६ का भूइँकटर निर्वाचन चिन्ह प्राप्त गरेका विद्यान धुसा, चुलेसी निर्वाचन चिन्हका पूर्णभक्त सुवाल,– ७ का टडी निर्वाचन चिन्ह प्राप्त गरेका रोमश्वर प्रजापति,– ८ का डाक्टर निर्वाचन चिन्हका कृष्णप्रसाद कोजू,– ९ का सोली निर्वाचन चिन्हका विष्णुभक्त कुसी– र १० का ह्याट निर्वाचन चिन्ह प्राप्त गरेका भरतप्रसाद भद्राले शून्य मत प्राप्त गरेका हुन् ।
त्यसैगरी वडा नं– १० का वडा सदस्यका स्वतन्त्र उम्मेदवार मोहन कुमार ह्योगोजूले पनि शून्य मत प्राप्त गरेका छन् । उनको चुनाव चिन्ह बाघ थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण