शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

१६ दिनमै कांग्रेस यसरी उभियो प्रचण्डको पक्षमा

कांग्रेस नेता भन्छन्, ‘सम्भावनाको ढोका खुल्यो’
मङ्गलबार, २६ पुस २०७९, १९ : ४९
मङ्गलबार, २६ पुस २०७९

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको छ । संघीय संसद्को सबैभन्दा ठुलो दल भएर पनि सत्ता गुमाएको कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर ‘प्रतिपक्षी हैसियत’ पनि गुमाएको हो ।

चुनावताको गठबन्धन टुटाएर धोका दिएका प्रचण्डलाई विश्वासको मत दिएकोमा कांग्रेसभित्र विरोध पनि भएको छ । महामन्त्रीहरूसहित पाँच जना सांसदको फरक मतका बीच कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएको छ । ३ पुसमा संसदीय दलको निर्वाचन हुँदा देउवाको विपक्षमा २५ सांसद उभिएका थिए । विश्वासको मत दिने देउवाको निर्णयको विपक्षमा आज संसदीय दलमा चुनाव लडेका महामन्त्री गगन थापालाई ५ सांसदले मात्र साथ दिए ।

नेता प्रकाशमान सिंह विश्वासको मतको विपक्षमा उभिँदा शेखर कोइरालाको फरक मत आएन । तर पार्टीको कार्यसम्पादन समिति र संसदीय दलमा फरक मत राखेका पाँच जना सांसद पनि प्रचण्डलाई विश्वासको मत दिन बाध्य भए । प्रचण्डलाई मत दिन सभापति देउवाबाट पार्टीका सांसदलाई ह्वीप समेत जारी गरिएको थियो ।

संसदीय लोकतन्त्रको हिमायती दाबी गर्ने कांग्रेसले प्रतिपक्षविहीन संसद्को भाष्य निर्माण गर्न खोज्नु लज्जाको विषय भएको कांग्रेसकै नेताहरूको तर्क छ । सरकारलाई विश्वासको मत दिएपछि पार्टीले प्रतिपक्षको गहन भूमिका निर्वाह गर्न नसक्ने र त्यो नैतिक धरातल पनि नरहने फरक मत राख्ने नेताहरूको राय छ । पाँच नेताको तीन बुँदे फरक मतमा कांग्रेस प्रतिपक्षमै बस्न उपयुक्त हुने मत दर्ज गराएका थिए ।

 

तर कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रचण्डलाई विश्वासको मत दिए पनि कांग्रेसको प्रतिपक्षी भूमिका सुरक्षित रहेको तर्क टिप्पणी गरे  । मंगलबार प्रतिनिधिसभाको बैठकपछि उनले परिस्थिति हेरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताए । ‘२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि हामी प्रमुख प्रतिपक्षमा थियौँ,’ उनी भन्छन् ।

त्यो बेला पनि त्यसबेलाको परिस्थितिलाई ध्यानमा राखेर हामीले विश्वासको मत दिएका उनको भनाइ छ । ‘त्यही अनुसार यस पटक पनि मुलुकको परिस्थितिको ध्यान राख्दै, परिस्थितिलाई बुझेर, हामीले विश्वासको मत दिएको हो,’ खड्काले भने । संविधान रक्षा, शान्ति प्रक्रियाको पूर्णता, चुनावअघि जनतासँग गरिएका बाचालगायत विशिष्ट परिस्थितिलाई बुझेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उनको भनाइ छ ।

सरकारलाई विश्वासको मत दिएपछि कांग्रेसले सत्ता राजनीतिमा नयाँ सम्भावनाको आशा देखेको छ । त्यो सम्भावनाको खेल खेल्न कांग्रेसले केन्द्रीय समितिको बैठक पनि २० दिन पर सारेको छ ।

कांग्रेस नेता तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले भने विश्वासको मत सरकारलाई दिएको पार्टी सैद्धान्तिक रूपमा प्रतिपक्षी नहुने बताए । ‘सरकारलाई समर्थन र विश्वासको मत दिएको दल प्रतिपक्षी हुन्न,’ उनले भने ।

प्रचण्डले यसरी पाए कांग्रेसको पनि मत

कांग्रेसले पहिलो चरणमा प्रधानमन्त्री नछाडेपछि १६ दिनअघि अर्थात पुस १० मा पाँच दलीय गठबन्धन टुटेको थियो । सात दलको समर्थन जुटाएर प्रचण्डले सोही दिन राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा दाबी पेस गरेपछि कांग्रेस प्रतिपक्षी कित्तामा पुगेको थियो । 

आज विश्वासको मत दिएर सत्ता हिस्सेदार बनेको छ । योसँगै प्रचण्डलाई कांग्रेसको पनि विश्वासको मत दिलाउने माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको प्रयास सफल भएको छ । शर्माले गत बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर विश्वासको मत मागेका थिए ।

सभापति देउवाको निवास धुम्बाराहीमा पुगेर शर्माले प्रचण्डलाई विश्वासको मत दिन औपचारिक रूपमा प्रस्ताव राखेका थिए । बिहीबार साँझ महामन्त्री विश्वप्रकाश शर्माको निवासमा महामन्त्रीद्वय गगन थापा, शर्मा र संसदीय दलको मुख्य सचेतक रमेश लेखकबीच छलफल भएको थियो ।

‘अब राजनीति के–के हुन्छ के–के हुन्छ ? सम्भावनाको ढोका खुल्यो ,’ यादव भन्छन् ।

यस्तै शुक्रबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पूर्व अर्थमन्त्री समेत रहेका जनार्दन शर्माले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका थिए । शुक्रबार साँझ नै सभापति देउवाले प्रचण्डलाई विश्वासको मत दिने वा नदिनेबारे पार्टीका शीर्ष नेतासँग छलफल गरेका थिए ।

देउवासँगको छलफलमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए । देउवाले गठबन्धन भत्किनुको कारण र आगामी सम्भावनाबारे छलफल गरेका थिए । शुक्रबारसम्म प्रचण्डलाई विश्वासको मत दिने–नदिने विषयमा देउवा अलमलमा थिए ।

उपसभापति खड्का र नेता कृष्णप्रसाद सिटौलाले विश्वासको मत दिँदा नयाँ सम्भावनाको ढोका खुल्ने देउवालाई विश्वास दिलाएको कांग्रेसका एक पदाधिकारीले बताए । उपसभापति खड्काले विश्वासको मत दिँदा राष्ट्रपति र सभामुखको भागबण्डाको आधार बन्ने विश्वास दिलाएको बुझिएको छ । माओवादी नेताहरूले विश्वासको मत दिए नयाँ समीकरणको ढोका खुल्ने आश्वासन दिएको पाइएको छ । एक पदाधिकारीका अनुसार उपसभापति खड्काले प्रचण्डलाई भेटेर कुराकानी गरेपछि देउवा विश्वासको मत दिने पक्षमा उभिए ।

सोमबार साँझ भएको देउवा र प्रचण्डबीच भेटवार्ताको तारतम्य पनि खड्काले मिलाएका थिए । सोही अनुसार सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड आफैँ विश्वासको मत माग्न देउवाको निवासमा पुगेको ती पदाधिकारीले रातोपाटीलाई बताए ।

‘गठबन्धन हाइज्याक भएको थियो । त्यसलाई करेक्शन गर्ने उद्देश्यले पनि मतदान गरेर संविधान बचाएर मुलुकको सङ्कटलाई टार्ने एउटा प्रयास गरेका छौँ।’ 

कांग्रेसले विश्वासको मत दिनुका पछाडि छिमेकी राष्ट्र भारत पनि जोडिएको लुकेको छैन । प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसलाई भारतबाट दबाब आएको नेताहरू बताउँछन् । विश्वासको मत दिनुपर्छ भनेर भारतको एकदम ठुलो प्रेसर थियो । 

एमालेलाई राष्ट्रपति र सभामुख दुवै पद नदिन कांग्रेसलाई विश्वासको मत दिन लगाएर भारतले चलखेल गर्न खोजेको देखिन्छ । ती नेताका अनुसार विश्वासको मत दिए नयाँ सम्भावना खुल्छ भनेर भारतले पार्टीका केही नेताहरूलाई सुझाएको थियो । आन्तरिक र बाह्य दबाब–सुझावपछि देउवाले कांग्रेसलाई प्रचण्डलाई विश्वासको मत दिने पक्षमा उभ्याएको देखिन्छ । 

कांग्रेसमा नयाँ सम्भावनाको आशा

सरकारलाई विश्वासको मत दिएपछि कांग्रेसले सत्ता राजनीतिमा नयाँ सम्भावनाको आशा देखेको छ । त्यो सम्भावनाको खेल खेल्न कांग्रेसले केन्द्रीय समितिको बैठक पनि २० दिन पर सारेको छ । पुस २८ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक माघ १५ गतेका लागि ताकेको छ । माघ ५ मा हुने सभामुखको निर्वाचन, प्रदेश सरकार गठनका विषयमा रणनीति चाल चल्न कांग्रेसले केन्द्रीय समिति बैठक पछाडि धकेको देखिन्छ । गठबन्धन भत्किएपछि घायल भएका देउवा योबीचमा कुनै राजनीतिक उपलब्धि हात पारेर मात्र सानेपा प्रवेश गर्ने रणनीतिमा देखिन्छ ।

पार्टीभित्र रक्षात्मक अवस्थामा रहेका उनी राजनीतिक कमब्याक गरेर मात्र केन्द्रीय समिति फेस गर्ने तयारीमा रहेको नेताहरू बताउँछन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलेले पनि संविधान जोगाउन बनेको गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न प्रचण्डलाई विश्वासको मत दिएको बताएका छन् । 

उनले भने, ‘गठबन्धन हाइज्याक भएको थियो । त्यसलाई करेक्शन गर्ने उद्देश्यले पनि मतदान गरेर संविधान बचाएर मुलुकको सङ्कटलाई टार्ने एउटा प्रयास गरेका छौँ।’ 

कांग्रेसले कुनै पनि संवैधानिक भाग लिनको लागि भन्दा पनि संविधानमाथि आइपरेका खतरालाई हृदयङ्गम गरेर संविधान बचाउनका लागि मतदान गरेको बताए । उनले बदलिएको राजनीतिक घटनाक्रमले राष्ट्रिय दलहरूबीच एकता र सहकार्य खोजेकाले सबैजना एक ठाउँमा उभिएको पनि बताए ।

यस्तै कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले मुलुकको राजनीति अनुमान गरेकोभन्दा बाहिर जाने बताए । उनले भने, ‘सत्ता गठबन्धनको सहमति एकछिनमै चेन्ज हुनसक्छ । पहिलो पनि ६ वटा प्रदेश सरकारमा रहेको एमाले सडकमा आएको हो नि ।’ 

कांग्रेस, माओवादी र जसपाको विश्वासमा मुलुकको राजनीति अगाडि बढ्ने उनको दाबी छ । ‘अब राजनीति के–के हुन्छ के–के हुन्छ ? सम्भावनाको ढोका खुल्यो ,’ यादव भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप