शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसको ‘विश्वासको मत’ले प्रचण्डलाई कति सहज ?

मङ्गलबार, २६ पुस २०७९, १४ : १३
मङ्गलबार, २६ पुस २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राष्ट्रिय पार्टीबाट विश्वासको मत पाएका छन् । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत सात दल र स्वतन्त्र सांसदले समेत प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका हुन् । प्रचण्डले मतदानमा उपस्थित १७० सांसद मध्ये १६८ सांसदको मत पाउँदा राष्ट्रिय जनमोर्चा र नेमकिपाको मात्रै मत पाएनन् । 

सबै राष्ट्रिय पार्टीले समर्थन गरेपछि प्रधानमन्त्री प्रचण्डलाई काम गर्न कति सहज होला भन्ने विषयमा विश्लेषण हुन थालेको छ । कांग्रेसले समेत विश्वासको मत दिएपछि प्रधानमन्त्री प्रचण्डलाई काम गर्न सहज भए पनि संसदीय अभ्यासमा संसद् प्रमुख प्रतिपक्षविहीन हुनु राम्रो मान्न नसकिने संविधानविद् चन्द्रकान्त ज्ञवालीले टिप्पणी गरे ।

‘कांग्रेसले विश्वासको मत दिने निर्णय गरेपछि सरकारका नीति तथा कार्यक्रमलाई सपोर्ट गरेको ठहरिने भयो । संसद्‍मा राष्ट्रिय पार्टी प्रतिपक्ष नहुने भयो । ससाना दलमात्रै प्रतिपक्ष हुने भए,’ ज्ञवालीले भने, ‘प्रचण्ड नेतृत्वको सरकार राष्ट्रिय सहमतिको सरकार बन्ने भयो । जसलाई संविधानले चिन्दैन ।’

यदि कांग्रेसले समर्थन फिर्ता लिएमा पनि प्रचण्डसँग बहुमत कायमै रहने भएकाले कुनै समस्या नहुने ज्ञवालीले जिकिर गरे ।

संसदीय अभ्यासमा बलियो प्रतिपक्ष हुनुपर्छ भन्ने मान्यता भए पनि कांग्रेसले समर्थन गरेपछि सरकारलाई लगाम लगाउने दल नै नहुने  ज्ञवालीको तर्क छ । ‘अब सरकारले जस्तोसुकै नीति तथा कार्यक्रम ल्याए पनि हुने भयो । सबैले समर्थन गर्ने भए । अब सरकारले जस्तो कार्यक्रम ल्याए पनि थपडी बजाउने अवस्था भयो,’ ज्ञवालीले भने ।

तर, कांग्रेसले विश्वासको मत दिएमा प्रधानमन्त्री प्रचण्डलाई काम गर्ने सवालमा भने सहज हुने ज्ञवालीको विश्लेषण छ । ‘कांग्रेसले विश्वासको मत दिने भएपछि प्रचण्डलाई काम गर्न असाध्यै सजिलो हुने भयो । आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सहज हुने भयो । विपक्षमा कोही हुँदैन, सबैले सपोर्ट गरिहाल्छन् । आफूले चाहेको सबै कार्यक्रम लागु गर्न सकिन्छ । झन् प्रचण्डलाई काम गर्न सहज हुन्छ,’ ज्ञवालीले भने ।

यदि कांग्रेसले समर्थन फिर्ता लिएमा पनि प्रचण्डसँग बहुमत कायमै रहने भएकाले कुनै समस्या नहुने ज्ञवालीले जिकिर गरे । ‘कांग्रेसले समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री प्रचण्डसँग पूर्ण बहुमत रहन्छ । कांग्रेसले समर्थन फिर्ता लिए पनि त्यसको कुनै औचित्य रहँदैन,’ ज्ञवालीले भने, ‘त्यो अवस्थामा प्रधानमन्त्रीले फेरि विश्वासको मत लिइरहनु पर्दैन । कांग्रेसले समर्थन गर्दा पनि नगर्दा पनि प्रधानमन्त्रीसँग बहुमत रहन्छ ।’

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले कांग्रेसले विश्वासको मत दिएमा प्रचण्डलाई काम गर्न झन् गाह्रो हुने टिप्पणी गरे । प्रधानमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिएमा प्रचण्ड र कांग्रेस दुवैलाई नोक्सानी हुने उनको विश्लेषण छ ।

यस्तै त्रिभुवन विश्वविद्यालयका राजनीतिशास्त्र विभागका प्रमुख रामचन्द्र तिवारीले कांग्रेसले समेत विश्वासको मत दिएपछि प्रचण्डलाई काम गर्न सहज हुने प्रतिक्रिया दिए । ‘कांग्रेस सहित सबै दलले विश्वासको मत दिँदा प्रचण्डलाई काम गर्न सजिलो बनाउँछ । एउटा दलले समर्थन फिर्ता लिए पनि अर्को दलको साथ छ भन्ने आत्मविश्वास बढ्छ । अब झन् प्रचण्डको नेतृत्व सबैले स्वीकार गरेको ठहरिने भयो,’ तिवारीले भने, ‘यसले नेपालको राजनीतिमा प्रचण्डको उचाई अझ बढाउने भयो । सबै दलको एजेण्डा समेटर काम गरेर देखाउने अवसर हुने भयो ।’

राष्ट्रिय सहमतिको सरकार बनाएर प्रचण्डलाई मुलुकको विकास र समृद्धिको नेतृत्व गर्ने अवसर भएको तिवारीको भनाइ छ । यदि कांग्रेसले दाउपेचको राजनीति खेल्न विश्वासको मत दिएको भए मुलुक झन् ठूलो संकटतिर जान सक्ने तिवारी बताउँछन् ।

तर, अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले कांग्रेसले विश्वासको मत दिएर प्रचण्डलाई काम गर्न झन् गाह्रो हुने टिप्पणी गरे । प्रधानमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिएर प्रचण्ड र कांग्रेस दुवैलाई नोक्सानी हुने उनको विश्लेषण छ । ‘प्रधानमन्त्रीलाई कांग्रेसले विश्वासको दिने निर्णय ग¥यो, अब कांग्रेसले जनताबाट विश्वसनीयता गुमायो । मलाई लाग्छ कांग्रेसको ५/७ लाख मत घट्छ । त्यसमा कुनै शंका छैन । त्यसका आधारहरु प्रशस्त छन्,’ आचार्यले भने, ‘अब प्रधानमन्त्री कहिले बालकोट, कहिले धुम्बाराही कुद्ने हुन्छ । काम गर्ने र निर्णय गर्ने सवालमा थप कमजोर हुन्छन् । प्रधानमन्त्रीको आफ्नो एजेण्डा केही हुँदैन । देउवा र ओलीका एजेण्डाको भरिया हुन्छन् ।’

तर, कांग्रेसले विश्वासको मत दिएसँगै एमाले अध्यक्ष केपी ओलीको खटनपटन भने कम हुने आचार्यको भनाइ छ ।

साँझ ५:५० बजे अध्यावधिक गरिएको 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप