शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

बागमती प्रदेशसभा सदस्य खड्काविरुद्ध अवैध हातहतियारमा मुद्दा दर्ताको तयारी

बुधबार, २७ पुस २०७९, १६ : ५७
बुधबार, २७ पुस २०७९

बारा । हातहतियारको अवैध प्रयोग गरेर पर्सा राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तु चोरी सिकारी गरेको घटनामा बागमती प्रदेशसभा सदस्य श्याम खड्काविरुद्ध मुद्दा दर्ताको तयारी भएको छ । ३ साताअघि पर्सा राष्ट्रिय निकुञ्जको जमुना खोला छेउमा बस्दोबस्तीको सामानसहित चित्तलको टाउको र मृत पोथी जरायो, २ वटा गाडी र करिब ३ लाख रुपयाँसहित ५ जनालाई निकुञ्जले नियन्त्रणमा लिएको थियो ।

सो घटनामा जरायो मार्न प्रयोग भएको बन्दुक काठमाडौँ निर्वाचन क्षेत्र नं ५ (ख) बाट निर्वाचित खड्काको नाममा रहेको खुलेको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) अशोकरामले जानकारी दिए । ‘भोलि अनुसन्धानको क्रममा उहाँ (श्याम खड्का) चोरी सिकारी मुद्दामा संलग्न भएको नभेटिए पनि हातहतियार तथा खरखजना मुद्दामा अवश्य पर्नुहुन्छ,उहाँविरुद्ध छिट्टै मुद्दा दर्ता हुन्छ, अहिले दैनिक तारेखमा हुनुहुन्छ’ प्रमुख संरक्षण अधिकृत अशोकरामले भने , ‘बयानको क्रममा उहाँले हतियार मेरो हो भनिसक्नु भएको छ, हतियार लाइसेन्स प्राप्त भएपनि त्यसको अवैध ढंगले प्रयोग भएको देखिएको छ।’

पुस ४ गते राति निकुञ्जभित्र वन्यजन्तु चोरी सिकारी भइरहेको छ भन्ने सूचनाका आधारमा निकुञ्ज कर्मचारी विष्णु पौडेलको नेतृत्वमा सेना सहितको टोलीले पाँच जनालाई नियन्त्रणमा लिएको थियो । सो घटनामा  पर्सा निर्वाचन क्षेत्र नं ३ ९ख०का प्रदेशसभा सदस्य प्रमोद जैशवाल र उनका भाइ प्रदीप जैशवालको नाममा रहेको फार्म हाउस र गाडीको समेत प्रयोग भएको भेटिएको छ ।

अनुसन्धानको क्रममा   प्रदेश सभा सदस्य जैशावालको फार्म हाउसबाट हातहतियार  बरामद भएको थियो भने वन्यजन्तु सिकारीमा उनका भाइ प्रदीप जैशावालको नाममा रहेको प्र.२–०३–००१ च ३०९७ नं को बरेलो गाडी प्रयोग भएको छ । ‘हातहतियार भेटिएको प्रमोद जैशवालको फाम हाउस उनको श्रीमतीको नाममा भएकोले उनको प्रत्यक्ष संलग्नता देखिँदैन’ प्रमुख संरक्षण अधिकृतले भने ।

निकुञ्जका वार्डेन अशोकरामले अनुसन्धानको क्रममा प्रदेशसभा सदस्य जैशवाल र उनको भाइको तुलनामा वाग्मती प्रदेशसभा सदस्य खड्काको प्रत्यक्ष संलग्नता रहेको बताएका छन् । ‘यो घटनामा हामीले आफ्नो पाटोबाट वन्यजन्तु चोरी सिकारीमा अरु को को संलग्न हुनसक्छन् भनेर अनुसन्धान गरिरहेका छौँ, हातहतियार खरखजनाको हकमा जिल्ला प्रहरी कार्यालय पर्साले हेरेको छ,’ उनले भने ।

निकुञ्जभित्र हातहतियार सहित वन्यजन्तु चोरी सिकारी भएको विषयमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट), हातहतियार तथा खरखजना मुद्दामा जिल्ला प्रहरी कार्यालय पर्सा, नेपाली सेनाको अनुसन्धान ब्युरो र पर्सा राष्ट्रिय निकुञ्जले रेन्जर विष्णु पौडेलको नेतृत्वमा छुट्टाछुट्टै टोली खटाएर अनुसन्धान गरिरहेको छ ।

पर्सा निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी  सूर्य खड्काले हातहतियार तथा खरखजना र अवैध रूपमा निकुञ्ज प्रवेश गरेर वन्यजन्तु चोरी सिकारी गरेकोले सो घटनामा २ वटा मुद्दामा दर्ता हुने जनाएका छन् । जनावरको हकमा चित्तल र जरायो संरक्षित जनावरभित्र नपर्ने भएकाले २० देखि ५० हजार सम्म जरिवाना र ६ महिनादेखि १ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने खड्काले जनाएका छन् । यता वाग्मती प्रदेशसभा सदस्य खड्काले भने निजी निवासमा रहेको हतियार कसरी प्रयोग भयो भन्ने विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । सामाजिक सञ्जाल मार्फत प्रदेशसभा सदस्य खड्काले कानुनद्वारा निषेधित कुनै पनि क्रियाकलापमा आफ्नो संलग्न नभएको जनाएका  छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप