सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

मन्त्रिमण्डललाई पूर्णता दिन सिंहदरबारमा सत्तारुढ दलको बैठक

शुक्रबार, २९ पुस २०७९, १० : ३०
शुक्रबार, २९ पुस २०७९

काठमाडौँ । सत्ता साझेदार दलहरूको बैठक केही बेरमा बस्दैछ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ११ बजे बस्ने तय भएको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । आजको बैठकमा मन्त्रालयहरूको भागबन्डामा सहमति जुटाएर सकभर आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ । 

सत्ता साझेदार दलहरुबीच कसलाई कति वटा मन्त्रालय भन्ने टुङ्ग्याउन बाँकी छ । यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार र बिहीबार बालकोट र बालुवाटारमा भएको छलफलमा मोटामोटी सहमति भएको बुझिएको छ । त्यो सहमति अनुसार सरकारमा सहभागी दलहरूसँग छलफल गरेर अन्तिम रूप दिने तयारी छ । 

यसअघि एमालेले उपप्रधानसहित चार मन्त्रीको शपथ गराएको छ भने माओवादीबाट प्रधानमन्त्री र एक उपप्रधानमन्त्री, रास्वपाले उपप्रधानमन्त्री र जनमतले एक मन्त्रीको शपथ गराइसकेको छ । उपप्रधानमन्त्रीहरूको मन्त्रालय तोकिए पनि शपथ लिएका मन्त्रीहरूको जिम्मेवारी तोकिएको छैन । बाँकी १७ वटा मन्त्रालय भागबन्डा गर्नुपर्ने छ । अहिलेसम्म एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने सहमति छ । 

गत पुस ११ गते प्रधानमन्त्री प्रचण्डले ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेपछि मन्त्रिमण्डललाई पूर्णता दिने सत्ता साझेदार दलहरुबीच सहमति भएको थियो । सोही सहमति अनुसार प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप