आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रोलिफिक स्कुलका प्रिन्सिपलमाथि शिक्षा ऐनविरुद्ध कसुरमा अनुसन्धान हुँदै

सोमबार, २४ वैशाख २०८१, १७ : ०९
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । धुम्बाराहीमा रहेको प्रोलिफिक सेकेण्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महतविरुद्ध शिक्षा ऐन २०२८ विरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कक्षा १२ को परीक्षामा नक्कली परीक्षार्थी खडा गरेर परीक्षा दिलाउन लागेको भन्दै प्रहरीले महतलाई पक्राउ गरेको थियो ।

प्रहरी वृत्त महाराजगन्जको हिरासतमा रहेका महतमाथि शिक्षा ऐन २०२८ विरुद्धको कसुरमा अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ । उनीमाथि अर्कोको नाममा परीक्षा दिन नहुने, नक्कली परीक्षार्थी खडा गरेर परीक्षा दिलाउन नहुने कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक प्रहरी अधिकृतले बताए ।

२०८१ वैशाख १६ गते पक्राउ गरेका महतमाथि दोस्रोपटक सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धान गरेर प्रहरीले जिल्ला प्रशासन कार्यालयमा मुद्दा पेस गर्नेछ । र प्रमुख जिल्ला अधिकारीले कारबाहीको निर्णय गर्नेछन् ।

कक्षा १२ को परीक्षाका लागि आफ्नो भाइ सहित ५ जनाको नाममा नक्कली परीक्षार्थी खडा गरेको पाइएको थियो । यो विषयमा अनुसन्धान गर्नका लागि काठमाडौँ महानगरले प्रहरीलाई पत्राचार गरेको थियो ।

स्कुलले ५ जनाको नाममा भरेको परीक्षा फाराममा अर्कै व्यक्तिको फोटो टाँसेको पाइएको थियो । यो विषयमा शिक्षा मन्त्रालय हुँदै राष्ट्रिय परीक्षा बोर्डमा उजुरी परेको थियो । उजुरी परेलगत्तै बोर्डले नक्कली फाराम भरेका ५ जनाको परीक्षा रद्द गरेको थियो । 

त्यसरी रद्द गरिएकाहरूमा प्रिन्सिपल गोपालका भाइहरू दीपक महत, तिलबहादुर महत तथा प्रशान्त विष्ट, मुकेश चन्द, विवेक न्यौपाने रहेका छन् । बोर्डले पाँचै जनाको परीक्षा भने रद्द गरेको थियो ।

उक्त स्कुलबाट यो वर्ष १२ जनाले कक्षा १२ को वार्षिक परीक्षा दिन परीक्षा फारम भरेका थिए । तीमध्ये ५ जना विद्यार्थीको परीक्षा फारम नक्कली भरेको पाइएको हो । उनीहरूको फाराम रद्द गरेर बोर्डले थप ७ जनाको परीक्षा भने विशेष निगरानीमा गराउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप