आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

हत्यामा दोषी ठहर भएका शर्मालाई निलम्बन गरेकोप्रति असन्तुष्टि जनाउँदै लोसपाले लेख्यो पत्र

सोमबार, २४ वैशाख २०८१, १७ : २७
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशका सांसद अभिराम शर्मालाई निलम्बन गर्ने निर्णय विरुद्ध प्रदेश सभामुखलाई पत्र लेखेको छ। 

सोमबार एक पत्र लेख्दै लोसपाका उपनेता उपेन्द्र महतोले संघीय संसदमा नेपाली काग्रेसका सांसद टेकबहादुर गुरुङ सर्वोच्च अदालतको आदेशले निलम्बन फुकुवा हुँदै संसद् बैठकमा सहभागी भएको दाबी गर्दै शर्माको निलम्बन गलत भएको तर्क गरेको छ। 

महतोले प्रदेश सभामुख रामचन्द्र मण्डललाई पत्र पठाउँदै सांसद शर्मामाथि गरिएको निलम्बन सच्याउन माग गरेका हुन्। शर्मा लोसपा मधेश संसदीय दलका भएको र उनको फैसला अन्तिम नभई जिल्ला अदालत तहबाट मात्र निर्णय भएकाले निलम्बन गर्नु गलत भएको दाबी गरिएको छ।

सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा दोषी ठहर गर्दै जिल्ला अदालत महोत्तरीले उनलाई जन्मकैदको सजाय सुनाएको थियो। ०८० मङ्सिर २८ मा अदालतले जन्मकैदको सजाय सुनाएको करिब ५ महिनापछि २१ वैशाखमा प्रदेशसभाले उनलाई निलम्बन गरेको थियो। 

‘मधेश प्रदेशसभा सचिवालयबाट प्रकाशित मिति २०८१।०१।१८ को फैसलामा यहाँले प्रदेश सभा सदस्य अभिराम शर्मालाई मधेश प्रदेशसभा सदस्य सञ्चालन नियमावली, २०७५ को नियम २१० (४) अनुसार निलम्बन गर्नुभएको कुरा उल्लेख छ’ लोसपाको पत्रमा भनिएको छ ‘कुनै पनि मुद्दाको अन्तिम फैसला नहुन्जेल सम्बन्धित व्यक्तिलाई निलम्बन गर्ने जस्तो कारबाही गर्न अनुमति नदिएको ब्यहोरा अवगत गराउन चाहन्छौँ ।’

महोत्तरी जिल्ला अदालतले दोषी ठहर्‍याए पनि पुनरावेदनको अधिकार अहिले समाप्त नभएकाले निलम्बन गर्नु गलत हुने लोसपाले पत्रमा उल्लेख  छ।  ‘यो फैसला अन्तिम हुनको लागि अहिले समय बाँकी नै छ, यस्तो अवस्थामा मधेश प्रदेशसभाका सदस्य अभिराम शर्मालाई अहिले नै मधेश प्रदेशसभाको सदस्यबाट निलम्बन गर्न कानुनतः मिल्दैन’, पत्रमा भनिएको छ। जिल्लाको फैसला विरुद्ध उच्च र सर्वोच्चसम्म जान सक्ने अधिकार शर्मासँग बाँकी नै रहेकाले अहिले नै निलम्बन गर्नु गलत भएकाले फिर्ता लिन लोसपाले माग गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप