शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

जहाँ गिद्धको चारो बनाउन गाई पालिन्छ

सुनसरीको बराहक्षेत्र– ८ मा विगत ८ वर्षदेखि गिद्ध रेस्टुरेन्ट सञ्चालन
सोमबार, ०२ माघ २०७९, ०६ : २८
सोमबार, ०२ माघ २०७९

विराटनगर । सुनसरीको बराहक्षेत्र ८ मा रहेको रामधुनी सामुदायिक वन सालबन्दीमा जटायु रेस्टुरेन्ट अर्थात् गिद्धको रेस्टुरेन्ट सञ्चालित छ । उक्त रेस्टुरेन्टमा गिद्धलाई नियमित चारो दिइन्छ ।

गिद्धको चारो व्यवस्थापनकै लागि त्यस क्षेत्रमा दुई दर्जनभन्दा बढी गाई पालिएको छ । पशुपालक किसानहरूले बुढा भएका तथा बेत बसेका गाईहरू उक्त रेस्टुरेन्टमा ल्याएर निःशुल्क दिने गरेको स्थानीय योगेश खतिवडा बताउँछन् ।

एक अध्ययन अनुसार सिनो व्यवस्थापनको मूल्य तोक्ने हो भने एउटा गिद्धले करिब ११ हजार अमेरिकी डलर बराबरको आर्थिक सहयोग पुर्‍याउँछ । सोही कारण विश्वमा गिद्ध संरक्षण गर्न ठूलो लगानी खर्च पनि भइरहेको छ ।

Gidda (1)

सुनसरीको बराहक्षेत्र–८ मा रहेको रेस्टुरेन्टमा झण्डै १२० भन्दा बढी गिद्ध रहेको अनुमान छ । सो क्षेत्रमा जाडोको मौसममा हिमाली गिद्धहरु पहाडबाट झर्छन् । फागुनको अन्तिमसम्म बसेर गर्मी महिना लागेसँगै ती गिद्ध फेरि पहाडतिर लाग्छन् । साइबेरियाबाट कोशी टप्पुमा विभिन्न चरा आए पनि गिद्ध भने सो क्षेत्रमा नेपाल बाहिरबाट आउँदैनन् ।

नेपालमा जटायु रेस्टुरेन्ट जम्मा ६ वटा छ । त्यसमध्ये प्रदेश १ मा यही एउटा मात्रै हो । ‘हामीले अनुभव गरेको के हो भने महामारी वा प्राकृतिक विपद्को बेलामा जथाभावी जीवजन्तु मरे र सम्हाल्नै नसक्ने अवस्था भयो भने गिद्धले सफा गर्छ,’ स्थानीय योगेश खतिवडा भन्छन्, ‘पृथ्वीको सफा गर्ने कुचिकार भनेकै गिद्ध हो । पृथ्वीलाई सफा गर्छ भने यसलाई संरक्षण गर्नुपर्छ ।’

Yogesh Khatiwoda

यो क्षेत्रमा जटायु रेस्टुरेन्ट बनाउनुको उद्देश्य सुनसरीलाई विश्वमा चिनाउनु रहेको उनको भनाइ छ । ठूलो जंगल क्षेत्र रहेको सो रेस्टुरेन्टको नजिकै मानिसहरूको मनोरञ्जनका लागि पार्क निर्माणका लागि भौतिक संरचना धमाधम बनिरहेका छन् । गिद्ध संरक्षणमा विश्वले धेरै डलर खर्च गरे पनि यहाँसम्म कम आउने गरेको खतिवडा बताउँछन् । 

गिद्ध ८ दिनसम्म नखाई बाँच्छ । यहाँ १ सय हाराहारीमा गिद्ध छन् । अध्ययन अनुसार एउटा गाई खानका लागि त्यहाँका गिद्धले १८ मिनेट लगाएका थिए । उक्त रेस्टुरेन्टको सबै व्यवस्थापन रामधुनी सामुदायिक वन सालबन्दीले गरिरहेको छ । उक्त वनले गिद्ध संरक्षण थालेको ८ वर्ष नाघ्यो । सो क्षेत्रको प्रचार प्रसार र लगानी कम छ । गिद्धको आहाराका लागि त्यहाँ गाईपालन गरिएको छ ।

गिद्ध मांशाहारी भए पनि जिउँदो जनावरमाथि कुनै आक्रमण गर्दैन । यसले मरेको सिनो मात्रै खान्छ । यिनीहरू आपसमा कहिल्यै झगडा गर्दैनन् ।

Gidda (10)

सिनो फालेपछि सुरुमा काग आउँछ । कागले कराएर सन्देश टाढा टाढा पुर्‍याएसँगै गिद्ध आउन थाल्छन् । अनुसन्धान अनुसार सिनो हालेको आधा घण्टामा गिद्धहरु आइपुग्छन् । गिद्धले ८० कोष टाढासम्म देख्ने अनुसन्धाताहरू बताउँछन् ।

सो रेस्टुरेन्टमा गाईबाहेक मरेका बाख्रा, कुकुर, भैँसी पनि जनताले ल्याइदिन्छन् । पहिले सामुदायिक वनसँग सम्पर्क गरेर औषधि हाले–नहालेको चेकजाँचपछि डाक्टरको सिफारिसमा गिद्धलाई खान दिइन्छ । एक पटकमा एउटा हिमाली गिद्धले ८ किलोसम्म सिनो खानसक्छ ।

Gidda (4)

गिद्धको सङ्ख्या पहिलेको भन्दा बढेको छ । पहिलो पटक सर्भे गर्दा यसको गुँड सङ्ख्या ८ वटा थियो । दोस्रो पटक सर्भे गर्दा ११ वटा भेटियो । तेस्रो पटक सर्भे गर्दा १८ वटा भेटियो । ‘गुँड बढ्नु भनेको यसको सङ्ख्या बढेको हो,’ खतिवडा भन्छन् । एक जोर गिद्धले एक पटकमा एउटा अण्डाबाट एउटै चल्ला कोरल्छ । बुढाखाडा, बेत बसेका गाईहरू किसानले निःशुल्क पनि दिने गरेका छन् । यसलाई हेरचाहका लागि कर्मचारी नै राखिएको छ ।

Gidda (5)

‘नेपालमा हाडफोर, सेतो, डंगर, सानो खैरो, खैरो, हिमाली, राज, सुन र लामो ठुँडे गरी ९ प्रजातिका गिद्ध पाइने सो विषयका जानकार बताउँछन् । ती गिद्धमध्ये डंगर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध र लामो ठुँडे गिद्ध अति सङ्कटापन्न सेतो गिद्ध सङ्कटापन्न, हिमाली र हाडफोर गिद्ध सङ्कटको नजिक र खैरो गिद्ध सामान्य अवस्थामा छन्,’ करुण देवानले हिमाल खबरमा लेखेको एक आलेखमा भनिएको छ, ‘नेपालमा पाइने गिद्धहरूमध्ये ६ प्रजाति गिद्धहरूले मात्र गुँड बनाई बच्चा कोरल्छ । डंगर, सानो खैरो र सुन गिद्ध रूखमा गुँड बनाउने प्रजाति हुन् भने हिमाली, हाडफोर र सेतो गिद्धले पहरामा गुँड बनाउने गर्छन् । अरू चरा प्रजाति जस्तै गिद्धको पनि भाले पोथी सजिलै छुट्याउन सकिन्न ।’

Gidda (7)

सोही लेख अनुसार १९९० को दशकमा नेपालमा करिब १० देखि १६ लाख गिद्ध थिए । तर हाल २० हजार भन्दा कम गिद्ध छन् । नेपाल पंक्षी संरक्षण संघको सन् २००२ देखि २०११ सम्मको अध्ययनले डंगर गिद्ध ९१ प्रतिशत र सानो खैरो गिद्ध ९६ प्रतिशतले घटेको देखाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप