शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
चिकित्सक संघको चुनाव

मेरो पहिलो एजेण्डा स्वस्थ नेपालका लागि स्वस्थ चिकित्सक हो : डा. अनिल कार्की

बिहीबार, ०५ माघ २०७९

नेपाल चिकित्सक संघको चुनाव नजिकिँदैछ । उपत्यकाबाहिर माघ ६ र ७ गते तथा काठमाडौं उपत्यकामा माघ १९, २० र २१ गते चुनाव हुँदैछ । ७२ वर्ष यात्रा पार गरेको संस्था हो, नेपाल चिकित्सक संघ । यसको नेतृत्वका लागि लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार डा अनिलविक्रम कार्की छन् । संघको वर्तमान उपाध्यक्ष रहेका उनको चुनावको तयारी र एजेण्डाबारे केन्द्रीत रही प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीः 

कस्तो छ तपाईंको चुनावको तयारी ?

समग्रमा चुनावको तयारी राम्रो छ । अहिले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म चुनावी अभियानमा लागिरहेका छौंंँ । चुनावी अभियानमा एजेण्डाका विषयमा देशव्यापी रुपमा बहस गरिरहेका छौँ । चिकित्सकका  समस्या सुन्ने, नजिकबाट नियाल्ने काम पनि यस चुनावी अभियानमा भइरहेको छ । देश दौडाहामा निस्किदा उत्साहजनक सहभागिता पाएका छौँ ।

तपाईं एक कार्यकाल संघको उपाध्यक्ष भैसक्नु भएको छ । अध्यक्षमै उम्मेदवारी किन ? 

नेपाल चिकित्सक संघको इतिहास हेर्दा २००७ सालदेखि युनिटी फेटानिटी र सर्भिस भनेर चलेको संस्था हो । चिकित्सक, स्वास्थ्य र आम नागरिकको स्वास्थ्यको विषयमा काम गर्छ यसले ।

कुनै पनि संगठनलाई चलाउनका लागि अनुभव पनि चाहिन्छ । सँगसँगै उत्साह, जोश र जुझारुपन चाहिन्छ । अझ यो त निकै पुरानो संस्था ।

म एक कार्यकाल सदस्य र उपाध्यक्ष रहेर नेपाल चिकित्सक संघको वर्तमान कार्यसमितिमा रहेर भइरहेका सबै काममा प्रत्यक्ष रुपमा संलग्न भएको छु । त्यसैले, कतिपय एजेण्डालाई निरन्तरता दिन पनि अध्यक्षमा उम्मेदवारी दिएको हुँ ।

२१ वर्षको चिकित्सा क्षेत्रमा काम गर्ने क्रममा प्रत्यक्ष रुपमा अग्रज चिकित्सकदेखि भर्खरै पास गरी चिकित्सक भई आएका जुनियरहरुसँग प्रत्यक्ष जोडिएका कारण अध्यक्षमा मेरो उम्मेदवारी परेको हो ।

संघमा जुनियर, सिनियरसँग समन्वय राम्रो रहेको तपाईंले बताइरहँदा किन नेपाल चिकित्सक संघमा युवा चिकित्सकको सहभागिता कम छ ?

नेपाल चिकित्सक संघमा सहभागिता भनेको ऐच्छिक हुन्छ । अभ्यास गर्नका लागि नेपाल मेडिकल काउन्सिल छ । काउन्सिल स्थापनाका लागि चिकित्सक संघकै अग्रज चिकित्सक र स्वास्थ्य मन्त्रालय मिलेर बनाइएको हो ।

काउन्सिल अनुगमन गर्ने निकाय हो । नेपाल चिकित्सक संघ चिकित्सकका हक अधिकारसँगै जनस्वास्थ्यका विषयमा आवाज उठाउने संस्था हो । काउन्सिलमा दर्ता भएका ३० हजारमध्ये १३ हजार ८३५ जना डाक्टर नेपाल चिकित्सक संघमा आवद्ध हुनुहुन्छ ।

नेपालमा भएका ५० प्रतिशतको संघमा सहभागिता छैन । अन्य विदेश जहाँ चिकित्सक संघ काउन्सिलको भूमिका छ, त्यहाँ सबै चिकित्सकको सहभागिता हुने भयो । तर, काउन्सिलको काम गर्ने र संघ मात्रै भएका स्थानमा सहभागिता यस्तै नै छ । सन्तोष गर्ने ठाउँ के छ भने छिमेकी राष्ट्र भारतको तुलनामा नेपालका चिकित्सकहरुको संघमा सदस्यता बढी छ ।

नेपाल चिकित्सक संघ पुरातन शैलीबाट सञ्चालन गरिएकाले सबै चिकित्सकहरु नअटाएको अन्य उम्मेदवारहरुको आरोप छ । यसबारे के भन्नुहुन्छ ?

जसले संगठन संरचना बुझ्नु भएको छैन, उहाँहरुको निराधार आरोप हो यो । तीन वर्षसम्म कार्यसमितिमा रहेर काम गरेको अनुभव, कोरोना महमारी आउँदा सबैभन्दा बढी युवा चिकित्सकहरुलाई पीपी, मास्कको अभाव हुँदा उहाँहरुको समस्या समाधानका लागि पहल गरेका थियौं ।

लकडाउनको समयमा प्रहरीले पनि चिकित्सक भनेर चिन्ने स्थिति नहुँदा, ठाउँ ठाउँमा चिकित्सकलाई कार्डको व्यवस्था, लामो समयदेखि चिकित्सकको तलव बढेको थिएन, त्यसलाई बढाउन प्रयास संघले ग¥यो त्यसमा हामी सफल भएका हौँ ।

 

निजी अस्पतालहरुमा काम गर्ने चिकित्सकहरुका लागि छाता संगठनसँग सहकार्य गरेर न्यूनतम पारिश्रमिक उपलब्ध गराउन पहल संघले गरेको हो । यस कार्यकालमा नेशनल हेल्थ समिट भनेर नीतिगत अभियान अगाडि बढाइ छलफल गरेका छौँ । हेल्थ समिटमा मेडिकल शिक्षाका विषय, स्वास्थ्य सामग्री विषयमा छलफल गरेर नेपाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई प्रतिवेदन बुझाएका छौँ ।

विमेन मेडिसिन भनेर महिला चिकित्सकलाई सम्मान गर्ने परम्परालाई अगाडि बढाएका छौँ । यस कार्यकालमा डाक्टर्स ओल्यफर फन्टबाट, जो चिकित्सक बिरामी हुुँदा स्वास्थ्यमा गम्भीर असर तथा मृत्यु भएमा आर्थिक सहयोग पनि गरेका छौँ ।

साथै, प्रत्येक महिना नेपाल मेडिकल अफ जर्नल एसोसिसन प्रकाशन गर्छौ । यसलाई एकेडेमिक र अनुसन्धानमुलक बनाउने कोशिसमा छौँ ।

जुनियर डाक्टरहरु जो पिजीको इन्ट्रान्सको तयारी गर्नेहरुका लागि पढ्ने रुम र लाइव्रेरीको व्यवस्था गरेका छौँ । ०६५ साल देखिको लगातारको प्रयासपछि स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षा ऐन २०७९ सालमा ल्याउन सफल भएका छौँ । संस्थामा रहेर नयाँ नयाँ काम गर्दा नवीनतम नदेख्नेहरुलाई पुरानत शैली भन्ने लाग्न सक्छ ।

केही कामै नगरी बसेको भए भन्न पुरातन मिल्थ्यो । नेपाल चिकित्सक संघले कोरोना महामारीको बेलामा एकैपटक १५ हजार चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आईसीयूसम्बन्धि तालिम दिएको छ । जनसरोकारको विषयमा हेल्पलाइन सेवा पनि सुरु भयो । त्यस महामारीकालमा चिकित्सकको प्रत्यक्ष रुपमा जाने सम्भावना थिएन । फोनमार्फत् परामर्श तथा जानकारी दिएका थियौँ । टेलिमेडिसिन सेवा, चिकित्सकहरुका लागि एम्बुलेन्स सेवा, आइसोलेसन सेन्टर बनायौँ । यसरी नयाँ काम गर्दागर्दै पुरातन भन्नु निराधार कुरा मात्र हो ।

प्रगतिशील, स्वतन्त्र समूहबीच चुनावमा तालमेल भएमा लोकतान्त्रिक समूहलाई चुनाव जित्न सकस पर्छ भन्छन् नि  ?

सबै चिकित्सकहरु वौद्धिक समूहका हुन् । म साधारण इन्ट्रनसिप, मेडिकल कलेजदेखि आफ्नो हकहित र अधिकारको आवाज उठाउँदै आएको छु । चुनावी मैदानमा अन्य डाक्टर आए पनि मलाई कुनै असर गर्दैन । किनकि म कर्ममा विश्वास राख्ने मान्छे हुँ । कर्म गर्छु, खासै फलको आशा राख्दिन ।

हामी डाक्टर–डाक्टर चुनावी मैदानमा उत्रिदा मत विभाजन हुन सक्छ तर हाम्रो मन विभाजन हुँदैन । निर्वाचित भएर संघमा पुग्ने डाक्टर नै हो । त्यहाँ पुग्नेले हाम्रो हक हितका लागि काम गर्ने हो । काम गरिरहेको पक्षलाई भोट कि संघमा रहेर काम गरेनन् भनेर फगत हल्ला गर्नेलाई ? उहाँहरुको हातमा छ ।

तपाईंको चुनावी मुल एजेण्डा के के हुन् ?

पहिलो एजेण्डा स्वास्थ नेपालका लागि स्वास्थ चिकित्सक हो । हामी रातदिन घामपानी नभनिकन चिकित्सा क्षेत्रमा काम गरेका छौँ । चिकित्सकको समस्यामा राज्य र सेवाग्राहीहरुले कम बुझेको कारणले डाक्टरहरुले आफ्ना हकहितहरु पूर्ण रुपमा प्राप्त गर्न सकिरहेको अवस्था छैन ।

स्वास्थ चिकित्सक भनिएपनि सामाजिक, आर्थिक र भौतिक पक्षहरु स्वास्थ छैन । राज्यले डाक्टर पढ्नको लागि मँहगो शुल्क तोकेको छ । तर डाक्टरलाई तलब  दिनका लागि कन्जुस्याइ गरिन्छ । एघारौ तहको चिकित्सकले राज्यबाट धेरै सेवा पाउँदैन । तर, त्यही तहको प्रशासनतिरको कर्मचारीले राज्यबाट गाडी, लोन लगायतका सुविधा पाउँछन्  ।

घरपरिवार छाडेर ३६ घण्टा काम गर्दा परिवारलाई दिने समय छैन । यसरी काम गर्दापनि उपचारको क्रममा चिकित्सकमाथि आक्रमण हुन्छ । सामाजिक रुपमा कुनै भोजभतेर सभा समारोहमा सहभागी हुँदा यसका आर्थिक पाटाहरुलाई केलाउने गरिन्छ । चिकित्सा पेशाबाट सामाजिक, आर्थिक र शारीरिक, मानसिक पक्षलाई सवल बनाउने मूल एजेण्डाहरु प्रजातान्त्रिक समूहको छ ।   

अन्य थप एजेण्डा केही छ कि ?

डाक्टरहरुलाई अस्थायी र स्थायी लाइसेन्स भनेर दुई वर्षसम्म झुल्याउने काम गरिन्छ । किन डाक्टरहरुलाई अस्थायी लाइन्सेन्स दिने, यस लाइसेन्सका विषयमा पनि काम गर्छौ ।

त्यसबाहेक चिकित्सकहरुका लागि छुट्टै चिकित्सा शिक्षा ऐन बनाउन पहल गछौँ । एवीवीएसको इन्ट्रान्स वर्षमा दुई पटक खुल्ने व्यवस्था गर्छौ ।

कोरोना महामारीमा विना वर्दीको सेना भएर काम गर्दा पनि राज्यको स्वास्थ्यको तीन वटा पिलर पूर्वाधार, जनशक्ति र बजेटमध्ये जनशक्तिको समस्यालाई आजसम्म समाधान गर्न सकेको छैन । यस विषयलाई एजेण्डा बनाएर अगाडि बढेका छौँ ।

साथै, चिकित्सक र स्वास्थ्यकर्मीका लागि छुट्टै अस्पताल बनाउँछौ । समग्रमा मेरो उम्मेदवारी भनेको एमवीवीएस पढ्दै गरेको विद्यार्थीदेखि अवकाशप्राप्त चिकित्सकको आवाज आत्मसात गरी सामाजिक, आर्थिक, शारीरिक, मानसिक रुपमा सवल बनाउनका लागि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया