मधेसवादी दलको अवसान स्वाभाविक होइन : शैलेन्द्र साह
सारांश
- प्रतिनिधि सभा चुनावमा मधेस केन्द्रित दलहरूले एक सिट पनि जित्न नसकेको र केही शीर्ष नेताहरूको जमानत जफत भएको छ ।
- जसपा नेपालले जेनजी आन्दोलनपछि पार्टीको कमी-कमजोरी सुधार्दै युवाका एजेन्डाहरूलाई प्राथमिकता दिएर जनतामाझ जाने निर्णय गरेको छ ।
- पार्टीले संगठन निर्माण, प्रशिक्षण र आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनको तयारीमा ध्यान केन्द्रित गरेको छ ।
तराई मधेसलाई आधार क्षेत्र बनाएर राजनीति गर्ने मधेस केन्द्रित दलहरू फागुन २१ भएको प्रतिनिधि सभा चुनावमा एक सिट पनि जित्न सकेनन् । कतिपय शीर्ष नेताहरूको जमानतसमेत जफत भएको छ ।
२०४८ यता मधेस केन्द्रित दल यति दुरावस्थामा कहिल्यै पुगेका थिएनन् । जसपा नेपालको केन्द्रीय समिति बैठकले जनतामा जाने निर्णय गरिसकेको छ । २०८४ मा हुने प्रदेश सभा र स्थानीय तहको निर्वाचन मधेस केन्द्रित दलहरूका लागि कस्तो हुने हो भन्नेबारे चासो बढिरहेको छ ।
यसै सन्दर्भमा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साहसँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, साहसँग गरिएको कुराकानीको सम्पादित अंशः
- जेनजी आन्दोलनपछि तपाईंहरूको पार्टी जसपा नेपाल कसरी अगाडि बढिरहेको छ ?
जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक परिस्थिति फेरिएको छ । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणाम हाम्रो पार्टीका लागि अनपेक्षित रह्यो । यसै सन्दर्भमा केही दिन अघिमात्र हामीले केन्द्रीय समितिको बैठक राखेर निर्वाचनको गम्भीर समीक्षा गर्यौँ । निर्वाचन परिणामले कतै न कतै पार्टीका विगतका कमी–कमजोरीहरूलाई सुधार्दै नयाँ ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता देखाएको छ ।
अब हामी युवाका एजेन्डाहरूलाई प्राथमिकताका साथ समावेश गरी जनतामा जाने निर्णयका साथ अघि बढेका छौँ ।
अर्कोतर्फ, साविकको जसपा नेपाल र लोसपा नेपालबिच प्राविधिक रूपमा एकीकरण भए पनि व्यावहारिक रूपमा सांगठनिक एकता पूर्ण भइसकेको थिएन । दुवैतर्फका केन्द्रीय समितिहरू यथावतै छन् । यसै महिनाभित्र यो प्रक्रियालाई टुङ्ग्याउने गरी हामी कार्य गरिरहेका छौँ । प्रदेश, राष्ट्रिय, जिल्ला र पालिका समितिहरूको समायोजनका लागि ५ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलले कार्यविधि बनाएर समायोजन प्रक्रियालाई अघि बढाउनेछ ।
हाल हाम्रो मुख्य ध्यान संगठन निर्माण, प्रशिक्षण र आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित छ ।
- बैठकमा चुनावको समीक्षा त गर्नुभयो, त्यसबाट के निष्कर्ष आयो ? चुनावमा पार्टी कमजोर हुनुको मुख्य कारण के रहेछ ?
कुनै पनि निर्वाचनको समीक्षालाई हामी दुई पक्षबाट हेर्न सक्छौँ– पार्टीको आन्तरिक पाटो र बाह्य परिस्थिति ।
बाह्य परिस्थितिका बारेमा मिडिया र आम वृत्तमा धेरै कुरा आइसकेका छन् । निर्वाचन प्रक्रिया, मत परिणाम र त्यसमा अन्य शक्तिहरूको संलग्नतालाई हेर्दा कतै न कतै निर्वाचन प्रक्रियामाथि नै आशङ्का उब्जिएको विषय समीक्षामा उठेको छ, जसलाई हामीले नकार्न सक्ने अवस्था छैन ।
यसका साथै पार्टीका आन्तरिक कारणहरू पनि छन् । विगतका हाम्रा सांगठनिक र कार्यशैलीगत कमी–कमजोरीहरू पनि यो परिणामका लागि जिम्मेवार छन् भन्ने निष्कर्ष हामीले निकालेका छौँ ।
- बाह्य शक्तिको कुरा गर्नुभयो, ती शक्तिहरूले जसपा नेपाल वा मधेस केन्द्रित दलहरूलाई मात्र किन निसाना बनाएका होलान् ?
यस्तो परिणाम आउन सक्छ भन्ने आशङ्का हामीलाई पहिलेदेखि नै थियो । यदि परिणाम यस्तै आउने थियो भने चुनावमा किन भाग लिएको त भन्ने प्रश्न पनि उठ्न सक्छ । तर, हामी चुनावमा नगएको भए विगतका जनआन्दोलन र मधेस आन्दोलनबाट प्राप्त उपलब्धिहरू नै गुम्ने ठुलो खतरा थियो । त्यसैले हार–जितभन्दा पनि ती ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्न हामी निर्वाचनमा होमिएका हौँ ।
नेपाली जनताले विभिन्न चरणका आन्दोलनमार्फत प्राप्त गरेका उपलब्धिहरूलाई संस्थागत गर्न पुराना दलहरू पनि कतै न कतै चुकेकै हुन् । मधेस केन्द्रित दलहरूलाई कमजोर बनाउने जुन खेल भइरहेको छ, यसको अन्तर्निहित स्वार्थ के हो र यसले उपलब्धिहरूलाई कसरी समाप्त पार्न खोज्दैछ भन्ने कुरा आगामी दिनमा नेपाली जनतासामु स्पष्ट हुँदै जानेछ ।
सुरुवाती चरणदेखि नै चुनावको जिम्मा सेनालाई लगाउने प्रयास हुनु, जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलाउने लगायतका राज्यका सम्पत्ति विध्वंस गर्ने कार्य हुनु र त्यसपछि बनेको सरकारको कदमले गर्दा निर्वाचनको परिणाम सकारात्मक आउनेमा हामीलाई बेलैमा आशङ्का भइसकेको थियो ।
- भू–राजनीतिक हिसाबले तपाईंले आशङ्का गर्नुभएको होला, तर जनतामाथि त विश्वास हुनुपर्ने नि ! जनताले तपाईंहरूलाई किन पत्याएनन् ?
निर्वाचन परिणाम निकै अनौठो आयो । उदाहरणका लागि, धनुषा क्षेत्र नं. १ मा निर्वाचन हुनुभन्दा एक हप्ता अगाडि नै रास्वपाका उम्मेदवारको उम्मेदवारी खारेज भइसकेको थियो । तैपनि मत परिणाममा उहाँकै पक्षमा भारी मत देखियो । पछि अदालतले मातृका यादवजीलाई प्रमाणपत्र त दियो, तर जनमतको त्यो प्रकृतिले निर्वाचन प्रणाली र परिणाममाथि गम्भीर प्रश्न र आशङ्का जन्माएकै छ ।
- त्यसो भए यसपालिको चुनावमा तपाईंहरूको पार्टीको ग्राफ खस्किनु स्वाभाविक थिएन ?
निश्चित रूपमा यो स्वाभाविक होइन, तर यति भन्दैगर्दा विगतमा मधेसी दलहरूबिच भइरहने फुट र जुटको शृङ्खलाले आम मधेसी जनतामा एक किसिमको निराशा पैदा गरेको कुरालाई स्वीकार्नुपर्छ । हाम्रो पार्टी नेतृत्वबाट पनि केही कमजोरीहरू भए । समानुपातिक उम्मेदवार चयन गर्दा वा सत्ता र मन्त्रालयमा जाँदा जनताको अपेक्षाअनुरूप काम गर्न हामी कतै न कतै चुक्यौँ । यसले मधेसी समुदायमा असन्तोष त थियो नै, तर जनमत यसरी शून्यतातर्फ झर्ला भन्ने खालको निराशा पक्कै थिएन ।
- चुनाव सकिएपछि पनि मधेस केन्द्रित दलहरूप्रति जनताको आकर्षण खासै देखिएको छैन नि, किन होला ?
विगतमा दलहरूका कारण सुशासन, भ्रष्टाचार नियन्त्रण, मधेसका मुद्दा र युवा रोजगारीका सवालमा जुन बेथिति मौलायो, त्यसैको आक्रोशस्वरूप जेनजी आन्दोलन भएको हो । अहिले जनताले परम्परागत शक्तिहरूको विकल्पमा रास्वपालाई मत दिएका छन् । रास्वपाले केही गर्छ कि भन्ने एउटा आशा जनतामा देखिएको हो । त्यसैले हाम्रो पक्षमा उत्साह नदेखिएको भन्दा पनि जनता नयाँ शक्ति र सरकारले केही परिवर्तन ल्याउँछ कि भनेर पर्ख र हेरको अवस्थामा रहेको रूपमा यसलाई बुझ्नुपर्छ ।
- त्यसो भए तपाईंहरू पनि अहिले ‘पर्ख र हेर’ को रणनीतिमा हुनुहुन्छ ?
हामी अहिले ‘पर्ख र हेर’ को अवस्थामा छैनौँ । मैले अघि नै भनेँ, हामीले आन्तरिक कार्यतालिका तय गरिसकेका छौँ । संगठन निर्माण, कार्यकर्ता प्रशिक्षण र आगामी निर्वाचनको तयारीका लागि हाम्रा कार्यक्रमहरू लिएर हामी छिट्टै जनतामाझ जाँदैछौँ । जनतामा आफ्नो मुद्दा प्रस्तुत गरेर अन्तर्क्रिया गर्छौं । अगामी दिनका लागि जनताको राय सुझाव सङ्कलन गर्छौं र त्यहाँबाट आएको सुझावको आधारमा अगाडि बढ्छौँ ।
- २०८४ सालको निर्वाचनमा तपाईंहरू पुरानै शाख फर्काएर आउनुहुन्छ भन्ने के आधार वा सूत्र छ ?
लोकतन्त्रमा सबैभन्दा ठूलो शक्ति र स्रोत जनता नै हुन् । हामीले जुन आत्मसमीक्षा गरेका छौँ, त्यसका आधारमा पार्टीमा धेरै परिवर्तन गर्नुपर्ने आवश्यकता छ । नेतृत्वले आफ्नो कार्यशैली बदल्नुपर्छ र सांगठनिक संरचनामा पनि हेरफेर हुनुपर्छ । अब हामीले अधिकार र पहिचानका एजेन्डासँगै जनताले प्रत्यक्ष खोजेका सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ । यी मुद्दाहरू लिएर जनतामाझ जाँदा २०८४ को चुनावमा हामी निश्चित रूपमा बलियो शक्तिका रूपमा उदाउनेछौँ ।
- पार्टी एकता त भयो, तर कार्यकर्ता र आम मधेसी समुदायले कुनै परिवर्तनको अनुभूति गर्न पाएका छैनन् नि, के भन्नुहुन्छ ?
अहिले बनेको संरचना पूर्ण केन्द्रीय समिति होइन । यो केवल निर्वाचन आयोगमा दल दर्ताका लागि बुझाइएको नाममात्र हो । अब बन्ने एकीकृत जसपा नेपालको वास्तविक केन्द्रीय समितिमा युवा, महिला, दलित र जनजातिको सम्मानजनक एवं प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गरिनेछ । हामी एउटा ऊर्जावान् नेतृत्व प्रणाली विकास गर्दैछौँ ।
- तर पार्टीको वर्तमान नेतृत्वमाथि नै प्रश्न उठिरहेको छ नि ?
राजनीतिमा असन्तुष्टि हुनु स्वाभाविक हो । जसपा नेपालमा नेतृत्व परिवर्तनको कुरा व्यक्तिगत रूपमा कसैले उठाएको हुन सक्छ, तर संस्थागत रूपमा हाम्रो आधिकारिक बैठकहरूमा यस्तो विषय उठेको छैन । वर्तमान सङ्कटपूर्ण घडीमा अध्यक्ष उपेन्द्र यादवजीकै नेतृत्वमा विगतका कमजोरीहरूलाई सुधार्दै पार्टीलाई पुनर्जीवित गर्ने कार्यमा हामी लागिपरेका छौँ ।
- तपाईं आफैँ एक युवा नेता हुनुहुन्छ, नेतृत्व परिवर्तनका विषयमा तपाईंको व्यक्तिगत धारणा के छ ?
मधेसको वर्तमान जटिल राजनीतिक परिस्थितिमा केवल युवा भनेर मात्र पुग्दैन; वैचारिक, सैद्धान्तिक परिपक्वता र राजनीतिक अनुभवको ठुलो खाँचो छ । अहिलेको अवस्थामा हाम्रो अध्यक्ष (उपेन्द्र यादव)ज्यूको विकल्प देखिँदैन । हामी जस्ता युवाहरूले उहाँलाई कमजोर बनाउने होइन, बरु उहाँलाई बलियो पारेरमात्रै हाम्रो साझा मिसन सफल पार्न सक्छौँ । व्यक्तिगत स्वार्थका लागि नेतृत्वलाई कमजोर पार्न खोजिएमा त्यसले हाम्रो बृहत्तर लक्ष्य प्राप्तिमा बाधा पुर्याउनेछ ।
- विभिन्न राजनीतिक दलहरूसँग एकता गर्ने भनिएको थियो, त्यो प्रक्रिया कहाँ पुग्यो ?
समान विचार र सिद्धान्त भएका शक्तिहरूसँग एकता गर्ने हाम्रो पुरानै नीति हो । मधेसको राजनीति टुटफुट र एकीकरणको विभिन्न चरण पार गर्दै यहाँसम्म आइपुगेको छ । आगामी दिनमा मधेस केन्द्रित दलहरू एकजुट भएर जानुपर्छ भन्ने पार्टीको स्पष्ट निर्णय छ । यसका लागि अध्यक्षज्यूले अन्य दलका नेताहरूसँग निरन्तर संवाद र भेटघाट गरिरहनुभएको छ । आगामी दिनमा यो प्रक्रियाले मूर्त रूप लिनेछ ।
- विगतमा पनि एकीकरण हुने र फेरि फुट्ने गरेको इतिहास छ, यसपटक दलहरू मिल्छन् र टिकिरहन्छन् भनेर कसरी विश्वास गर्ने ?
पार्टी एकीकरणको मूल आधार वैचारिक र सैद्धान्तिक नै हुन्छ । विगतमा जोडिने बेला विचारकै आधारमा जोडिए पनि फुट्ने बेला वैचारिक मतभिन्नता भन्दा पनि सत्ता प्राप्ति र व्यक्तिगत टकराव मुख्य कारण बन्ने गरेको देखिन्छ । वैचारिक कारणले मधेसी दल फुटेको इतिहास विरलै छ । आगामी दिनमा यी कुराहरूलाई व्यवस्थित गर्न हामीले ‘सामूहिक नेतृत्व’ को संरचना बनाउने तयारी गरेका छौँ । एकीकरणमा आउने सबै नेताहरूलाई स–सम्मान स्थान दिएर मधेसको मात्र नभई देशकै नेतृत्व गर्न सक्ने सुदृढ जसपा निर्माण गर्ने हाम्रो लक्ष्य छ ।
- निष्कर्षमा भन्दा, २०८४ मा जसपा नेपाल पुरानै शक्तिशाली रूपमा फर्किँदैछ, हो ?
एकदम निश्चित रूपमा, तर त्यसका लागि नेतृत्वले आफ्नो व्यवहार र कार्यशैलीमा समयानुकूल सुधार गर्नैपर्छ । अब हामी केवल पहिचान र अधिकारका नारामा मात्र सीमित नभएर जनताको जीवनस्तरसँग जोडिएका सुशासन, विकास, रोजगारी, शिक्षा र स्वास्थ्यका एजेन्डा लिएर अघि बढ्नेछौँ । यसो गर्न सकेमा २०८४ मा हामी पहिलेभन्दा पनि सशक्त रूपमा स्थापित हुनेछौँ ।
- नेतृत्वले आफ्नो कार्यशैली र व्यवहारमा सुधार गर्ला भन्नेमा तपाईंलाई पूर्ण विश्वास छ ?
मलाई पूर्ण विश्वास छ । किनभने, समयलाई पहिचान गरी अब पनि सुधार गरिएन भने पार्टी राजनीतिक अवसानको दिशातिर धकेलिनेछ भन्ने कुरा नेतृत्वलाई राम्रोसँग बोध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व बालसेनालाई तत्काल सम्मानजनक परिपूरणको व्यवस्था गर्न सर्वोच्चको परमादेश
-
ललितपुर महानगरलाई स्थानीयको सुझाव : चक्रपथबाहिर विकास, सम्पदा संरक्षण र सेवामा जोड
-
अखिल (क्रान्तिकारी) को पाँचौँ पदाधिकारी बैठक सुरु
-
बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष पक्राउ
-
देउवाको क्रियाशील सदस्यता अध्यावधिक गरेको कार्ड भाइरल, सचिवालय भन्छ– ‘भ्रामक’
-
पाल्पामा घरघरमै पुग्यो राहदानी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण