शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘माओवादीसँगको एकताबारे वैचारिक, सैद्धान्तिक गहिराइमा पुग्न सकेनौँ’

...त्यसबेला हामीले सरकारलाई समर्थन गरिरहनुपर्छ भन्ने छैन : प्रकाश ज्वाला
बुधबार, ११ माघ २०७९, १५ : ५३
बुधबार, ११ माघ २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले जनता समाजवादी, माओवादी केन्द्रलगायत अन्य पार्टीहरूसँग एकताका लागि वार्ता र संवादलाई तीव्रता दिएको छ । महासचिव वेदुराम भुसालको संयोजकत्वमा गठित वार्ता समितिमा रहेका उपमहासचिव प्रकाश ज्वालाले जसपासँगको छलफल सकारात्मक भएको भन्दै चाँडै टुंगोमा पुग्ने बताएका छन् । तर उनले माओवादीसँगको एकताबारे एक पटकमात्र औपचारिक वार्ता भए पनि वैचारिक, सैद्धान्तिक र कार्यक्रमिक हिसाबले गहिराइमा पुग्न नसकिएको बताए ।

‘हाम्रो तर्फबाट बनेको वार्ता समिति र जनता समाजवादीसँग पटकपटक बैठक र छलफल भैसकेको छ । त्यसक्रममा दुवैतर्फबाट तयार गरिएका दस्तावेजहरू आदान प्रदान गरेका छौँ’, नेता ज्वालाले भने, ‘दस्तावेज आदान प्रदानपछि वार्ता समिति र शीर्ष नेताहरूसँग पनि छलफल गर्दै दस्तावेजहरूको अध्ययन पनि गरिरहेका छौँ । अहिलेसम्मका छलफल सकारात्मक छन् ।’

प्रस्तुत छ दलहरूसँग वार्ता र संवादमा खटिएका ज्वालासँग पार्टी एकता र वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणलगायतका विषयमा रातोपाटीले गरेको कुराकानी :

नेकपा एकीकृत समाजवादीले जनता समाजवादी (जसपा) र माओवादी केन्द्रसँग थालेको पार्टी एकताको प्रक्रिया कहाँ पुग्यो ?

एकतासँग नजिक पुगेका छैनौँ । तर एकताका लागि संवाद र छलफल भइरहेको छ ।

कार्यदल नै गठन गरेर दुई पक्षीय, त्रिपक्षीय वार्ता र छलफल भएको भनिएको छ । त्यो छलफलमा एकताका आधारहरू भेटिए कि भेटिएनन् ?

त्रिपक्षीय कुरा भएको छैन । दुई पक्षीय कुरा भएको हो । हाम्रो पार्टीको तर्फबाट बनेको वार्ता समितिले जनता समाजवादीसँग पटकपटक बैठक र छलफल गरेको छ । दुवैतर्फबाट तयार गरिएका दस्तावेजहरू आदान प्रदान गरेका छौँ । दस्तावेज आदान प्रदानपछि वार्ता समितिमा र शीर्ष नेताहरूसँग पनि छलफल गरेका छौँ । साथसाथै दस्तावेजहरूको अध्ययन पनि गरिरहेका छौँ । त्यसक्रममा हामीले सम्भव भएसम्म पार्टी एकताकै निम्ति प्रयास गर्ने,यदि पार्टी एकता तत्काल सम्भव नहुँदा मोर्चा बनाएर कार्यगत एकता भए पनि गर्ने भन्ने हिसाबले कुराकानी र छलफलहरू भइरहेका छन् । अहिलेसम्मका छलफल सकारात्मक छन् । यो बीचमा विभिन्न व्यस्तताले वार्ता र छलफललाई निरन्तरता दिन नसकिए पनि छिटै हामी बस्नेछौँ । पछिल्लो बसाइमा हामीले दुवै पार्टीका दस्तावेज अध्ययनका लागि दुई जनालाई जिम्मा दिएका छौँ । उहाँहरूले अध्ययन गरेर मिल्न सक्ने विषयहरू र मिल्न नसक्ने भिन्नता के–के हुन्छन्, ती विषय सूचीकृत गर्नुहुन्छ त्यसपछि थप प्रक्रिया अघि बढ्छ ।

वामदेव गौतमसँग पनि सहकार्यका लागि कुरा भयो । उहाँ हाम्रै पार्टी कार्यालयमा आउनुभयो र हामी बस्यौँ । बसाईका क्रममा उहाँले पनि आफ्ना दस्तावेज हाम्रो अध्यक्षलाई दिनुभएको छ ।

विचारको हिसाबले नेकपा माओवादीसँग नजिक हुनुहुन्छ तर एकता वा मोर्चा बनाउने विषयमा चाहिँ जसपासँग बढी नजिक देखिनुभएको छ । माओवादीसँग चाहिँ एकता प्रयास नभएको कि नचाहेको ?

नेकपा माओवादी केन्द्रले पनि वाम एकताका लागि वार्ता समिति गठन गरेको छ । माओवादी केन्द्रको वार्ता समिति र हाम्रो वार्ता समितिबीच अनौपचारिक कुराकानीहरू धेरै पटक भए पनि एक पटकमात्र औपचारिक कुराकानी भएको छ । त्यो कुराकानीमा त्यति धेरै वैचारिक, सैद्धान्तिक र कार्यक्रमिक गहिराइमा त पुग्न सकेनौँ तर त्यहाँ पनि हामीले आपसमा दस्तावेजहरू आदान प्रदान गर्दै भविष्यमा कसरी जाने भन्ने विषयमा नीतिगत कुराकानी गर्‍यौँ । त्यो कुराकानीमा हामीले पार्टी एकता नै गर्ने हिसाबले छलफल अघि बढाऔँ पनि भनेका छौँ । यदि त्यो नहुने भयो र बृहत् छलफल गर्नुपर्ने भयो भने कार्यगत एकता गरौँ, तत्काललाई मोर्चा बनाऔँ र हामी दुई मात्रै होइन सम्भव भएसम्म अरू विचार मिल्ने पार्टीहरूसँग पनि मोर्चा बनाएर अगाडि बढ्ने कि भन्ने हिसाबले छलफल गरेका छौ । तर त्यो छलफल कङ्क्रिट भइसकेको छैन । एउटा बैठकले नै धेरै कुराहरू टुङ्गिने कुरा पनि हुँदैन । उहाँहरूसँगको वार्ता र छलफललाई पनि निरन्तरता दिने कुरा भएको छ । यसैबीचमा मंगलबारमात्रै वामदेव गौतमसँग पनि सहकार्यका लागि कुरा भयो । उहाँ हाम्रै पार्टी कार्यालयमा आउनुभयो र हामी बस्यौँ । बसाईका क्रममा उहाँले पनि आफ्ना दस्तावेज हाम्रो अध्यक्षलाई दिनुभएको छ । त्यसक्रममा हाम्रो अध्यक्षले उहाँलाई अलग नबस्नुस्, एकताबद्ध भएर जाऊ, छिटै आउनुस् भन्नुभएको छ । भिन्नताहरू भए बहस छलफल गर्दै जाऔँ यदि कुनै विषय नमिल्ने रहेछन् भने पनि तिनलाई थाती राखेर पार्टीले डिस्कसन ओपन गरिसकेपछि पनि निष्कर्षमा पुग्न सकिन्छ भनेका छौँ ।

 भनेपछि वामदेव गौतम पनि एकीकृत समाजवादीमा आउँदै हुनुहुन्छ ?

हामीले प्रस्ताव राख्यौँ । त्यसपछि उहाँले आफ्नो डकुमेन्ट दिनुभएको छ, कुराकानी हुँदा पनि उहाँ सकारात्मक देखिनुभएको छ । निर्णय गर्ने कुरा उहाँको हो । उहाँ आउँदै हुनुहुन्छ भनेर मैले भन्नुभन्दा पनि उहाँले सकारात्मक निर्णय गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।

एमालेसँग माओवादी केन्द्र सहकार्यमा जाने स्थिति बन्यो, तर त्यो तत्काल सरकार निर्माणको सन्दर्भ थियो ।

पछिल्लो समय नेकपा माओवादी केन्द्र एमालेसँगको सहकार्यमा छ । नेकपा एकीकृत समाजवादी कांग्रेससँग नजिक देखिएको छ । यस्तो अवस्थामा माओवादीसँगको एकता वा मोर्चा बनाउने कुरा कति सम्भव छ ?

अस्तिसम्म नेपाली कांग्रेस, माओवादी केन्द्र, हामी र जसपालगायतका दलहरू गठबन्धनमा थियौँ । चुनावका बेला जसपा सात दलीय गठबन्धनबाट बाहिरियो त्यो एउटा दुखद् कुरा पनि थियो । हामीले प्रयत्न गर्दागर्दै पनि गठबन्धनमा सँगै जान सकिएन । जसले गठबन्धनमा रहेका दल र जसपालाई पनि त्यस कदमले फाइदा पुगेन । यद्यपि चुनावपछि पनि गठबन्धन कायमै थियो तर आकस्मिक ढंगले घटनाक्रमहरू बदलिए । त्यो पनि प्रधानमन्त्री पदमा पहिला कसको पालो भन्ने विषयले गठबन्धन टुट्ने खालको स्थिति बन्यो । जुन विषयलाई दुखद् नै भन्नुपर्छ । तर माओवादी केन्द्र गठबन्धनसँग नीति र एजेण्डामा फरक मत राखेर बाहिरिएको पनि होइन । त्यसबेला हामीले कांग्रेस र माओवादी दुवैलाई अनुरोध पनि गर्‍यौँ । कांग्रेस लचिलो बनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पहिलो पालो दिएर प्रधानमन्त्री दिँदा के बिग्रन्छ पनि भन्यौँ । तर दुवैले आफ्ना अडान नछोडेपछि एमालेसँग माओवादी केन्द्र सहकार्यमा जाने स्थिति बन्यो, तर त्यो तत्काल सरकार निर्माणको सन्दर्भ थियो । त्यसैले सैद्धान्तिक, वैचारिक र राजनीतिक हिसाबले मिलेको होइन । मोर्चा बनाउने हिसाबले पनि उहाँहरूबीच सहमति भएकोजस्तो लाग्दैन । यसले गर्दा सरकारमा रहने र नरहने कुरा मूल विषय होइन भन्ने हिसाबले नै दुवै पार्टीले छलफल अगाडि बढाएका छौँ ।

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन पनि गर्नुभएको छ । के सरकारमा जाने तयारी हो ?

भर्खर सरकार गठन भएको छ । सरकार गठन हुने बित्तिकै विरोध गर्नुपर्छ भन्ने राजनीतिक नैतिकता हुँदैन । किनभने हामीले राजनीतिक संस्कार पनि देखाउनुपर्छ । हामीले कांग्रेसलाई पनि अनुरोध गर्‍यौँ कि सुरुमै सरकारको विरुद्धमा किन जानुपर्‍यो भनेर । जुनसुकै कारण र जेसुकै भए पनि सरकार बनिसक्यो । हामीले हेर्दा त वामपन्थी नेतृत्वमै सरकार बनेको छ । यद्यपि सरकारमा भएका राजनीतिक दलहरूबीच सैद्धान्तिक राजनीतिक कोणमा भिन्नताहरू देखिन्छन् । उत्तर दक्षिण फर्किएका दलहरू छन् । राजतन्त्रवादीदेखि गणतन्त्रवादीसम्म र संघीयता विरोधीदेखि संघीयता पक्षधरसम्मका पार्टी सरकारमा छन् । तर त्यो पनि सरकार निर्माणका सन्दर्भमा बनेको समीकरण हो । तालमेल मात्र हो । त्यसैले वामपन्थी नेतृत्वको सरकार हो भन्ने हिसाबले सरकारलाई समर्थन गरेका हौ पहिलो कुरा । दोस्रो सरकार बन्ने बित्तिकै विरोध गर्नुभन्दा कमसेकम उसले गर्ने काम, उसले तय गर्ने यात्रा हेरौँ भन्ने हो । संसद्‍मै हाम्रो अध्यक्षले पनि क्याटोगरीकल्ली प्रस्तावहरू राख्नुभएको छ ।उहाँले हामी सरकारलाई समर्थन गर्छौ तर सरकारले यो यो काम गर्नुपर्छ भन्नुभएको छ । ती कामहरू सरकारले गर्‍यो भने त हाम्रो शुभेच्छा त रहन्छ त्यही भएर विश्वासको मत पनि दियौँ ।

कांग्रेससँगको निकटता हाम्रो तात्कालिक विषय हो ।

तपाईंहरूका अपेक्षा अनुसार यो सरकारले काम गर्न सक्ला त ?

अहिलेलाई आशा गरौँ । त्यही आशाका कारण समर्थन गरेका हौँ । भोलि राम्रा कामहरू गर्दै गयो, हामीले संसदमा राखेका कुराहरू सुन्दै जनता र राष्ट्रका पक्षमा, संविधान बलियो बनाउने र रक्षा गर्ने र राष्ट्रिय स्वाधीनतालाई बलियो बनाउने किसिमले लाग्यो भने हाम्रो समर्थन जारी नै रहन्छ । यदि हामीले अघि सारेका विषय, जनताका आवश्यकताका कुरा, संविधान बलियो बनाउने कुरा र आन्दोलनका उपलब्धि जोगाउने कुरामा लागेन, जनताको अहितमा काम गर्न थाल्यो भने फरक ढंगले आफ्नो भूमिका निभाउँछौ । त्यसबेला हामीले समर्थन गरिरहनुपर्छ भन्ने हुँदैन, त्यसमा हामी खुला नै छौ ।

अहिलेको गठबन्धन टिक्दैन भनेर कांग्रेसले भनिरहेको छ । तपाईंहरू पनि अहिले कार्यगत हिसाबले कांग्रेससँगै नजिक रहेको र राष्ट्रपतिमा समेत कांग्रेसले दाबी गरिरहेको अवस्था छ । के राष्ट्रपतिको निर्वाचनका समयसम्म अहिलेको सत्ता समीकरण बदलिन सक्छ ?

कांग्रेससँगको निकटता हाम्रो तात्कालिक विषय हो । केही समयअघि सम्म कांग्रेस, माओवादी र हामीहरू केही एजेण्डाहरूमा एकै ठाउँमा थियौँ । चुनावमै पनि हामीले राजनीतिक स्थिरता,संविधानको रक्षालगायतका विषय त कांग्रेस र हाम्रा साझा मुद्दा हुन् । वैचारिक रूपमा कांग्रेस र हामी कम्युनिस्ट पार्टीबीच निकै भिन्नता पनि छन् । त्यसकारण निश्चित विषय र राष्ट्रका तात्कालिक सवालहरू संविधान र व्यवस्था बलियो बनाउने, प्रतिगमनलाई परास्त गर्ने कुरामा हामी सँगै हिँड्यौ । प्रतिगमन परास्त भएपछि हामी सरकारमा पनि गयौँ ।  चुनावमा पनि सँगै गयौँ तर अहिले हामी कांग्रेससँग निकटभन्दा पनि कांग्रेस पनि र हामी पनि विपक्षमा छौँ । तर अहिले कांग्रेससँगको गठबन्धन पनि होइन । भोलिका दिनमा कस्तो समीकरण बन्ला ? राजनीति कसरी जाला ? त्यो पछिकै कुरा हो र हामी परिस्थिति अनुसारको कार्यनीति बनाउँछौँ । तर अहिले नै राष्ट्रपतिका विषयमा के गर्ने वा नयाँ गठबन्धन बनिहाल्ने र सरकार तलमाथि भइहाल्ने या अहिलेकै अवस्थामा हामी सरकारमा जाने सम्भावना छैन ।

केन्द्रदेखि प्रदेशसम्मका सरकारलाई समर्थन गर्नुको अर्थ के हो त ?

सरकारलाई समर्थन दिएको मात्रै हो । हामी सरकारमा गएका छैनौँ । केन्द्रदेखि प्रदेशसम्म हामी प्रतिपक्षको भूमिकामा छौँ ।

एमाले अहिले पनि पुरानै ठाउँमा छ । हामीले जुन एजेण्डा अघि सारेर विद्रोह गर्‍यौँ, ती एजेण्डाहरू अहिले पनि छँदैछन् ।

सरकारमा सहभागीताका लागि प्रस्ताव आयो भने के गर्नुहुन्छ ?

प्रस्ताव नआएको होइन आएको छ । तर यही अवस्था र पोजिसनमा हामी सरकारमा सहभागी हुँदैनौ । प्रतिपक्षको भूमिका निभाउँछौ, गुण र दोषका आधारमा सरकारलाई समर्थन र विरोधको नीति लिन्छौँ ।

तपाईंहरूले जसपासँग एकता र कार्यगत मोर्चा निर्माणको प्रयास गरिरहेका बेला जसपा अध्यक्ष उपेन्द्र यादव र एमाले अध्यक्ष केपी ओलीबीचको संवादमा जसपा र नेकपा एकीकृत समाजवादीको हिमचिमप्रति ओलीले चासो राखेको भन्ने चर्चा छ नि ?

त्यो विषयलाई जसपाले कसरी लिन्छ त्यो उसको कुरा भयो । फेरि कुनै राजनीतिक पार्टीहरूबीचको संवादलाई लिएर त्यति धेरै गम्भीर रूपले लिएर दवाव दिने ढंगको कुरा गर्नु भनेको राजनीतिक सङ्कीर्णता मात्रै हुन्छ । राजनीतिक पार्टीहरूले आआफ्नै ढंगले स्वतन्त्र रूपले काम गरिरहेका छन् । कोही कसैका बुख्याचा त होइनन् । त्यसकारण जसपाको आफ्नै अस्तित्व, मर्यादा छ, अरूको आफ्नै छ ।

पार्टीहरूबीच एकता र मोर्चाको पहल गरिरहँदा एमालेसँगको एकतामा चाहिँ तपाईंहरूको रुचि नभएको हो ?

एमाले अहिले पनि पुरानै ठाउँमा छ । हामीले जुन एजेण्डा अघि सारेर विद्रोह गर्‍यौँ, ती एजेण्डाहरू अहिले पनि छँदैछन् । एमाले सच्चिनेभन्दा पनि पुरानै एजेण्डा बोकेर जाने र विगतका कमजोरीलाई रियलाइजेसन नगरेको अवस्थामा पार्टी एकताको कुरा अघि बढ्न सक्दैन । रियलाइजेसन गरेपछि, कमिकमजोरी सच्चाएपछि र नयाँ ढंगले जाऊ भनेको अवस्थामा फरक कुरा हो, त्यसबेला फेरि बहस गरौँला । यही अवस्थामा छलफल नै त भएको छैन भने एकताको कुरा त झन् टाढाको भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप