शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
अक्षर र पुस्तकका कुरा

वसन्त ऋतुसँगै ज्ञानतिर : सरस्वतीपूजा अर्थात् पुस्तकपूजा

बिहीबार, १२ माघ २०७९, १६ : ४६
बिहीबार, १२ माघ २०७९

जब सरस्वतीपूजाको दिन आउँथ्यो, हाम्रो हजुरबाले भन्थे– ‘आजको दिन पढेको कुरा बिर्सिइँदैन । आज केटाकेटीलाई अक्षर चिनाउनुपर्छ, केटाकेटीले छिटै शब्द फोर्न सक्छन् ।’

हाम्रो घरमा काठको पाटी थियो, त्यसमा मसिनो धुलो माटो छरेर हजुरबाले आफ्नो चोर औँलाले ‘क’ लेखेर देखाए । मलाई धुमिल सम्झना छ– सरस्वतीपूजाकै दिनदेखि म स्कुल जान थालेको हुँ । स्कुल गएको सुरुवाती दिनमा मैले छुवाछुत पढेँ । कथित उच्च जातका केटाकेटीले झोलामा खानेकुरा लिएर आउँथे, छोइन्छ भन्दै हामी दलितलाई एउटै बेन्चमा बस्न दिँदैनथे । बेन्चभन्दा पछाडि पराल ओछ्याइएको थियो, स्कुलका सुरुवाती दिनमा मैले परालमा बसेर पढ्नुपर्‍यो ।  

स्कुल गएको वर्ष दिनमै नेपाली शब्द–वाक्य फरर्र पढ्न सक्ने भएको थिएँ । परीक्षाको दिन आयो, मलाई नेपाली पाठ पढ्न लगाइयो । पढ्दै गएँ, एक ठाउँमा अंक आयो, म रोकिएँ, अंक मेरा लागि पहाड भइदियो । गणित नजानेर पहिलो वर्ष फेल भएँ । आफू असफल र अपहेलित भएको मान्छेले लामो समयसम्म सम्झन्छ । आफूले पहिलोपटक परीक्षा दिएको घटना मलाई अझै याद छ– त्यतिबेला मैले नेपाली खरखर्ती पढेको थिएँ ।    

म फेल भएपछि हजुरबा हेडमास्टरलाई भेट्न गए, कतै यसो भनसुन चल्छ कि भन्ने उनको अभिप्राय थियो । त्यतिबेला प्रायः ६ वर्षको उमेरमा स्कुल भर्ना गर्ने चलन थियो, म पाँचै वर्षमा स्कुल भर्ना भएको थिएँ, । हेडमास्टरले ‘उमेर गएको छैन, शब्द पढ्न सक्ने तर अंक नचिनेको, यो वर्ष सिक्छ’ आदि भनेछन् । मलाई कताकति सम्झना छ— सायद त्यसको एक वर्षसम्म हजुरबाले गाउँलेलाई म फेल भएको कारण बताइरहनुपर्‍यो । त्यसयता भने म कक्षा ५ सम्म कक्षामै पहिलो–दोस्रो भइरहेँ । सानोमा मलाई नयाँ पुस्तकको गन्ध असाध्यै मनपथ्र्यो । नयाँ पुस्तक पाउनेबित्तिकै पाना पल्टाएर सुँघ्न थाल्थेँ ।  

मैले जीवनमा सबैभन्दा पहिले पाठ्यक्रमबाहेकको सबैभन्दा ठूलो पुस्तक पढेको रामायण हो । घरमा हजुरबाले रामायण पढिरहनुहुन्थ्यो । उहाँको आँखा कमजोर हुँदै गएसँगै मैले उहाँलाई रामायण पढेर सुनाउन थालेँ ।

पछि मेरा बाले काठमाडौंबाट लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ लगेका थिए । म कक्षा ३ वा ४ मा पढ्थेँ सायद, एक दिन मुनामदन पढ्न सुरु गरेँ र त्यही दिन सकेँ । जीवनमा पहिलोपटक पुस्तक पढेर रोएको म त्यतिबेलै हो । अचेल मलाई लाग्छ, म बच्चैदेखि भावुक प्र्रकृतिको हुँ ।

त्यतिबेला गाउँमा भर्खर–भर्खर स्वस्थानी पुगेको थियो । गाउँले दिदीहरूले स्वस्थानी व्रत लिन थालेका थिएँ, भाका मिलाएर कथा पढ्ने भएकाले मलाई स्वस्थानी कथा पढ्न दिइन्थ्यो । 

कक्षा ९ मा पुगेपछि खै कताबाट हो, प्रकाश कोविदको उपन्यास देउता मेरो हात पर्‍यो । अन्त्यतिर केही पाना च्यातिएको यो उपन्यास मैले दुई दिनमा पढेर सकेँ (अन्तिमका केही पानाबाहेक) । यस उपन्यासका अन्तिम पानाहरू पढ्ने चाहना मैले निकै दिनसम्म पालेको थिएँ, तर पुस्तक पाउन सकिनँ । गाउँ वरपर कोर्सबाहेकका पुस्तक पाउने पसल नै थिएनन् । यहीबीचमा हजुरबाले नपढ्, बौलाइन्छ भनेको इन्द्रजालको किताब पढेँ । त्यो पुस्तकले भनेजस्तो गर्न सम्भव देखिनँ, तर यो दुनियाँमा केही न केही रहस्य छ भन्नेमा म नजानिँदो ढंगले फसेँ । अहिले आएर आफैँसँग डर लाग्छ– प्रकृतिवादी हुन खोज्दाखोज्दै कतै केही रहस्यवादी भइयो कि !  

वसन्त ऋतुसँगै ज्ञानतिर 

आजको दिन अर्थात् माघ शुक्ल पञ्चमी तिथिलाई श्रीपञ्चमी र वसन्तपञ्चमी भनिन्छ । वसन्त ऋतुको औपचारिक आरम्भ चैतबाट हुने भए पनि हरेक ऋतुको ४० दिनअघिको समयलाई गर्भकाल मानिन्छ । चेतोनाथशर्मा आचार्य आफ्नो पुस्तक ‘हाम्रा धार्मिक चाडपर्व’मा लेख्छन्, ‘वसन्तको ‘कुसुमकारत्व’ यसै दिनबाट सुरु हुने भएकाले आजको दिनलाई वसन्त पञ्चमी भनिएको हो । यसै दिनदेखि कम–बेसी रूपमा वासन्तिक छटाको दर्शन हुन थाल्छ ।’

हामीकहाँ सरस्वतीको पूजा–प्रार्थना कहिलेदेखि हुन थाल्यो होला ? यसको ठोस जवाफ पाइँदैन, केही संकेत र अनुमान भने पाइन्छन् ।

प्रामाणिक इतिहास खोज्दा राजा अंशुवर्मा धनले निम्त्याउने कलहलाई त्यागेर विद्याप्रति आकर्षित भएको देखिन्छ । हाँडी गाउँमा अंशुवर्माको संवत् ३२ उल्लिखित अभिलेख छ । जसको अन्तमा अंशुवर्माले ‘श्रीकलहभिमानिना’ (श्रीकलहभिमानी) पदवी वा उपनाम ग्रहण गरेका छन् । यहाँनेर अंंशुवर्माले श्री अर्थात् लक्ष्मीसँग कलह गर्ने स्वभाव देखाएको बुझिन्छ ।  धनवज्र वज्राचार्यले आफ्नो पुस्तक ‘लिच्छविकालका अभिलेख’मा यस उपनामलाई अथ्र्याउने कोसिस गरेका छन् । उनी लेख्छन्, ‘विद्याप्रेमी अंशुवर्माले श्रीकलहभिमानी– लक्ष्मीसँग कलह गर्न गर्व गर्ने अर्थात् सरस्वतीका भक्त भन्ने उपनाम लिन मनपराएको देखिन्छ ।’

‘श्री’ शब्दलाई ‘लक्ष्मी’ वा धन मान्ने हो भने ‘श्रीपञ्चमी’ले धनतिरै संकेत गरेको बुझिन्छ । वसन्त ऋतु अघिदेखि नै पालुवा पलाउन थाल्छन्, योसँगै धनधान्यका लागि कृषि कर्मतिर लाग्नुपर्ने हुन्छ । जेहोस्, धनले मात्रै मानव समाज चल्दैन— धन कमाउने, जिउने, न्याय–अन्याय छुट्ट्याउने विद्या–विवेक पनि चाहिन्छ ।  

संसारका अधिकांश सभ्यता नदी किनारमा फुले–फक्रेका हुन् । सरस्वती नदीको नाम हो भने, यसले गति र खेतीतर्फ संकेत गर्छ । गति अर्थात् बग्नु, जाग्नु, अघि बढ्नु । अगाडि बढ्ने पढेर र बुझेर नै हो । सरस्वतीपूजामा प्रतीक र प्रतिमाको पूजा गर्नु तपाईंको आस्थाको कुरा भयो । पुस्तकको पूजा भनेकै त्यसबाट ज्ञान हासिल गरेर अगाडि बढ्नु हो ।

हिन्दू समाजमा शक्ति उपासनाको अभ्यास (देवीदेउताको पूजाआजा) वैदिककालदेखि नै गर्न थालिएको पाइन्छ । शक्ति उपासना भन्नाले मानसिक शक्ति बढाउने देवीदेउताको पूजालाई दर्शाउँछ । यसमा विद्याकी देवी सरस्वती पनि पर्नुले विशेष अर्थ राख्छ नै ।

हामीकहाँ सरस्वतीपूजाको अभ्यास हेर्दा ‘नेपालमहात्म्य’मा केही झलक पाइन्छ । त्यसमा उल्लेख छ– ‘देवताहरूले यस्ता भनिएका कमलबाट उत्पन्न भएका देवब्रह्माले कमलको जस्तो आँखा भएकी र कमलैबाट उत्पन्न भएकी देवी सरस्वतीलाई सम्झे ।’ यसले पनि देवी सरस्वतीको आराधना प्राचीन समयदेखि नेपालमा गरिन्थ्यो भन्ने अनुमान हुन्छ ।

रुक्मिणी प्रधान (वन्त) आफ्नो पुस्तक ‘काठमाडौं उपत्यकाका सरस्वतीमूर्तिहरू र पूजा–परम्परा’मा लेख्छिन्, ‘वैदिक सरस्वती हिन्दू धर्म परम्परा अनुसार विद्याकी देवी हुन् । यो कुरा उनको मूर्तिमा देखाइने पुस्तकले स्पष्ट पार्छ । वैदिक युगमा सरस्वतीलाई पवित्र नदीको रूपमा मानिन्थ्यो । यिनै सरस्वती नदीको किनारामा वैदिक संस्कृतिको विकास भएको विश्वास गरिन्छ ।’

उनले भारतीय लेखक वृजभूषण श्रीवास्तवको पुस्तक ‘प्राचीन भारतीय प्रतिमा–विज्ञान एवं मूर्तिकला’लाई उद्धृत गरेकी छन्, ‘भारतमा पनि सरस्वती पूजाको प्रचलन प्राचीन कालदेखि नै थियो । त्यहाँ देवी सरस्वतीलाई ब्राह्मण धर्मको ज्ञान र विद्याकी देवीको रूपमा मानिन्थ्यो । साथै बुद्ध धर्ममा पनि यिनै देवी सरस्वतीलाई ज्ञान र विद्याकी देवीको रूपमा पुज्ने गरेको थाहा हुन्छ । सरस्वती देवीलाई भारतमा महासरस्वती, वज्रवीणा, वज्रशारदा, आर्यसरस्वती आदिको रूपमा पनि मान्यता प्राप्त छ ।’

एउटै देवी सरस्वतीलाई कतै ब्रह्माको शक्ति वा पत्नीका रूपमा त कतै छोरीका रूपमा उल्लेख गरिएको पाइन्छ । यसबाट के बुझिन्छ भने, हिजो हाम्रा पुर्खाले मानसिक शक्ति बढाउने अभ्यासका लागि अनेक प्रतीक र प्रतिमा बनाउँदा, कथा कल्पँदा केही फरक पर्न गयो । अर्को यो पनि संकेत पाउन सकिन्छ– यो कथा हाम्रा पुर्खा सभ्यतातर्फ उन्मुख हुन खोज्दै गर्दाको हो । आदिम समाजमा जथाभावी हुने यौन सम्बन्धमाथि बन्देज लगाएर, विवाह संस्थाको विकास गरेर अर्थात् शक्तिशाली पुरुषले विवाह गरेकी स्त्रीलाई अरुले सम्भोग गर्न नपाउने नियम बनाएर मानिस सभ्यतातर्फ उन्मुख हुँदै आयो । यही सभ्यताको कथा–गाथाको पिँधबाट सरस्वती ब्रह्माकी पत्नी र छोरी दुवै हुन पुगेको हुन सक्छ ।

                                                              000

संसारका अधिकांश सभ्यता नदी किनारमा फुले–फक्रेका हुन् । सरस्वती नदीको नाम हो भने, यसले गति र खेतीतर्फ संकेत गर्छ । गति अर्थात् बग्नु, जाग्नु, अघि बढ्नु । अगाडि बढ्ने पढेर र बुझेर नै हो । सरस्वतीपूजामा प्रतीक र प्रतिमाको पूजा गर्नु तपाईंको आस्थाको कुरा भयो । पुस्तकको पूजा भनेकै त्यसबाट ज्ञान हासिल गरेर अगाडि बढ्नु हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप