शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
दुर्गानन्द झाको ५९ औँ स्मृति दिवस

राजामाथि बम प्रहार गर्दा फाँसीमा चढेका दुर्गानन्दले आमासँग गरेको त्यो संवाद...

आमालाई भनेका थिए, ‘नरुनुस् आमा गणतन्त्र आउँछ आउँछ’
आइतबार, १५ माघ २०७९, १४ : ४६
आइतबार, १५ माघ २०७९

काठमाडौँ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा रहँदा ५९ वर्षअघि अर्थात २०२० माघ १५ गते दुर्गानन्द झालाई राज्यको तर्फबाट फाँसी दिएको थियो । तत्कालीन राजा महेन्द्र शाह जनकपुर भ्रमणमा जाँदा बम प्रहार गरेको आरोपमा उनीमाथि थियो ।

गणतन्त्र पक्षधर उनै दुर्गानन्द हाँसीहाँसी फाँसी चढेको ५२ वर्षपछि मात्र राज्यले सहिदको सम्मान दियो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७२ मा दुर्गानन्द झालाई सहिद घोषणा गरेको थियो ।

नेपाली कांग्रेसले दुर्गानन्द झा आफ्नो पार्टीका रहेको दाबी गर्दै आएको छ । तर उक्त पार्टीले पार्टी पटक पटक शासन सत्ता सम्हाल्दा पनि झालाई सहिद घोषणा गरेको थिएन ।  

आमासँग गणतन्त्रको कुरा

तत्कालीन राजालाई लक्षित गरेर बम प्रहार गरेर आरोप लागेपछि उनी जेल परे । जेलमै रहँदा २०२० माघ १४ गते उनलाई आमा सुकमारीदेवी भेट्न पुगिन् । जेलमा उनको अवस्थामा देखेर आमा भक्कानिन थालिन् । आमालाई सम्झाउँदै दुर्गानन्दले भनेका थिए, ‘नरुनुहोस् आमा, कुनै दिन तपाईंलाई दुर्गानन्द झाको आमा भनेर सबैले गर्व गरेर हेर्ने छन् । गणतन्त्र अब आउँछ–आउँछ ।’

त्यही दिन उनले श्रीमती काशीदेवी झालाई पनि भनेका थिए, ‘यो हाम्रो अन्तिम भेट हो, मेरा कारणले तिमीहरूको नाम देशभर चल्छ ।’ दुर्गानन्द झाले यो कुरा भनेको ४५ वर्षपछि मात्र देशमा गणतन्त्रको घोषणा भएको थियो । २०६५ जेठ १४ गते बसेको संविधान सभाको पहिलो बैठकले नेपाललाई लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको थियो ।

दुर्गानन्द झालाई फाँसी दिँदाको समयमा काशीदेवी झासँग उनको बिहे भएको झण्डै ३ वर्षमात्रै पुगेको थियो । एउटा नवदुलही जो फाँसीमा चढ्ने निश्चित थियो, त्यस्तो बेलामा उनी सासुसँगै श्रीमानलाई भेट्न जेलमा गएकी थिइन् । वरिष्ठ पत्रकार सीताराम अग्रहरी भन्छन्, ‘त्यो क्षण कम्ता वियोगान्त थिएन, भावविह्वल नवदुलही काशीदेव झालाई दुर्गानन्द झाले ‘दो हंसो को जोडा विछड गयो रे, गजब भयो रामा जुल्म भयो रे’ बोलको विरहको गीत सुनाएका थिए ।’   

को हुन् दुर्गानन्द झा ?

झाको जन्म वि.सं. १९९९ वैशाख १४ धनुषाको जटही गाउँमा भएको थियो । बुबा देवनारायण झा र आमा सुकमारीदेवी झाको एक मात्र सन्तानको रूपमा उनको जन्म भएको थियो । घरको एक्लो सन्तान उनको बिहे मेट्रिक पढ्दापढ्दै २०१७ साल १४ वर्षीया काशीदेवी झासँग भएको थियो । सानैमा बुबा गुमाएका उनले आमाको रेखदेखमा गाउँबाट ५ किलोमिटर पर पर्ने भारतीय क्षेत्रको उभगाँवस्थित दिनदयाल हाई स्कुलमा अध्ययन गरेका थिए । हाइस्कूलमा अध्ययनरत रहँदा दुर्गानन्दको अधिक समय छात्रबासमा बित्ने गर्थ्यो भने काशीदेवीसँग उनको भेट पातलो हुन्थ्यो । जेल पर्नुअघि काशीदेवी गर्भवती भए पनि उनले मृत बच्चा जन्माएकी थिइन् ।

महेन्द्रमाथि बम

२०१७ साल पुस १ गते राजा महेन्द्रले चालेको निरकुंश कदमको विरुद्धमा काँग्रेसले आन्दोलन सुरु गरेको थियो । आफ्ना आमाबाबुका एक मात्र सन्तान र नवविवाहित दुर्गानन्द झाले पारिवारिक सुखसयल छाड्दै प्रजातन्त्रको हत्या गर्नेलाई नछाड्ने अठोटका साथ विद्रोहको बिगुल फुकिसकेका थिए । सोही क्रममा उनी भारतको जयनगरमा निर्वासित जीवन बिताइरहेका काँग्रेसका नेता सरोज कोइरालाको सम्पर्कमा पुगे । राजामाथि बम प्रहार गर्ने योजना उनै कोइरालाले बनाएका थिए । २०१८ माघ १९ गते जनकपुर भ्रमणमा गएको बेला महेन्द्रमाथि बम प्रहार गर्ने योजना उनको थियो ।

सोही योजनालाई सफल पार्न उनले आँट गरेको थिए । कडा सुरक्षा घेरामा रहेका महेन्द्रमाथि जानकी मान्दिरमा बम प्रहार भएको थियो ।  तर बम विस्फोट नभए पनि महेन्द्र चढेको गाडीको सिसामा लाग्यो । यद्यपि बम प्रहार गरेर उनी भाग्न सफल भएका थिए । उनी भागेर जनकपुरकै एक मन्दिरमा डेरा गरी बसेका हेमचन्द्र चौधरी र भोगेन्द्र चौधरीको कोठामा पुगे भने भोलिपल्ट भारतको उभगाँव पुगेका थिए ।

यता राज्यले बमकाण्डका नाममा विभिन्न व्यक्तिलाई धडपकड गरिरहेको थियो । देशैभरि हल्लीखल्ली भएको थियो । बमकाण्डको आरोपमा पक्राउ परेकाहरूलाई तत्कालीन सरकारले थुनामा राखेर यातना दिइरहेको थियो  । दिनहुँ धरपकड भए पनि बम फाल्नेबारे पत्ता लाग्न सकेको थिएन ।

बम प्रहार गरी सीमापारी काँग्रेसको छतौनी क्याम्पमा बसेका दुर्गानन्द झालाई निर्दोषमाथि कुटपिट भएको कुरा शैह्य भएन । त्यसपछि जयनगरबाट रेल चढेर जनकपुरका लागि हिँडेका उनी बीच बाटोबाटै पक्राउ परे । उनलाई तत्कालीन एसपी मानबहादुर राईको नेतृत्वको टोलीले पक्राउ गरेको थियो ।  

पक्राउ परेको भोलिपल्ट परकौली सैनिक ब्यारेकमा राखिएको उनलाई पछि हेलिकप्टरबाट काठमाडौँस्थित केन्द्रीय कारागारमा पठाइएको थियो । गिरफ्तारीपछि उनीविरुद्ध राजद्रोहको मुद्दा चलाइएका थियो ।

फाँसी दिन कानुन संशोधन

सरकारले बमकाण्डको अध्ययन गर्न विशेष अदालतका तत्कालीन न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको अध्यक्षतामा एक उच्चस्तरीय समिति बनाएको थियो । जसमा झपटसिंह रावल र गुणनाथ उपाध्याय सदस्य रहेका थिए ।  सो आयोगले २०१९ भदौ १९ मा बुझाएको प्रतिवेदनमा दुर्गानन्द, अरविन्द ठाकुर, दलसिंह थापालाई मृत्युदण्ड दिनुपर्ने सुझाव दिएको थियो । तर, ब्राह्मणलाई मृत्युदण्ड दिनु हुँदैन भन्ने कुरा त्यतिबेलाको कानुनमा उल्लेख थियो । कानुनमा त्यस्तो कुरा उल्लेख भएको थाहा पाएर परिवारका सदस्यहरुले आयोगविरुद्ध सर्वोच्च अदालतमा उजुरी दिएका थिए । सर्वोच्चका न्यायाधीश रत्नबहादुर विष्ट र मीनबहादुर थापाले २०१९ पुस ५ मा उजुरीकर्तालाई झिकाउने आदेश दिए । त्यही सालको फागुन २० मा न्यायाधीशहरू दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले विशेष अदालतकै सिफारिस सदर गरे । २०२० भदौ १ मा मुलुकी ऐन संशोधन गरी सबैलाई समान सजाय दिने व्यवस्था कानुनमा उल्लेख भयो ।

२०२० माघ १५ गते राति दुर्गानन्दलाई त्रिपुरेश्वर जेलको रुखमा दुईपल्ट झुण्ड्याउँदै उतार्दै गरिएको थियो । त्यसबखत पनि दुर्गानन्दलाई माफी मागी बिन्तीपत्र लेख भनिएको थियो, तर उनले मृत्युदण्डलाई नै स्वीकार गरे । उनलाई फाँसी दिएपछि श्रीमती काशीदेवी र आमालाई जानकारी दिइएको थियो । दुर्गानन्दकी आमाले शव मागे पनि राज्यले दिएन भने पछि कुशको शव बनाएर भारतमा अन्तिम संस्कार गरेकी थिइन् ।    

सहिदपत्नी काशीदेवी झा अहिले आफ्ना माइतमा आश्रित छिन् । उनलाई न राज्यले कुनै सोधखोज गरेको छ न कुनै पार्टीले । उनी कहिले जटही त कहिले काठमाडौ बस्ने गर्छिन् । पहिलो सविधानसभामा तत्कालीन तमलोपाबाट समानुपातिक सांसद भएकी काशीदेवी झा कानुन राज्यमन्त्री समेत बनेकी थिइन् ।

जनकपुरमा दुर्गानन्द झाको शालिक राख्ने निर्णय भएको छ । शालिक तयार पनि भइसकेको छ तर राख्ने ठाउँको टुंगो छैन । पत्रकार राजेश्वर नेपालीले महेन्द्रमाथि बम हानेको ठाउँ जानकी मन्दिर परिषरमा नै दुर्गानन्द झाको शालिक  राखिनुपर्ने बताउँछन् । जानकी मन्दिर प्रशासन त्यहाँ राख्न दिने पक्षमा छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप