शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनीमा शून्य पोलिथिन अभियान सुरु

आइतबार, १५ माघ २०७९, १५ : ०४
आइतबार, १५ माघ २०७९

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकापछि लुम्बिनी सांस्कृतिक नगरपालिकालाई शून्य पोलिथिनयुक्त पालिका बनाउने अभियान थालिएको छ । तिलोत्तमा नगरपालिकामा यो अभियानले पूर्ण सफलता पाउन नसके पनि लुम्बिनी सांस्कृतिक नगरपालिकाले यो प्रयास थालेको छ ।

ग्रीनरी नेपाल गैरसरकारी संस्थासँगको सहकार्यमा लुम्बिनी सांस्कृतिक नगरपालिकाले ६ महिनासम्म पोलिथिन शून्य सरसफाइ अभियान सञ्चालन गर्ने आइतबार घोषणा गरेको हो ।

अभियानको उद्घाटन रुपन्देही ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले गरेका छन् । सो अवसरमा बोल्दै सांसद घिमिरेले अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी देश विदेशका पर्यटक आउने महत्त्वपूर्ण थलो भए पनि पोलिथिनजन्य वस्तुको फोहोरले पर्यटकमा नकारात्मक असर गरेको बताए ।

पोलिथिनजन्य फोहोरले मानव स्वास्थ्य,पशु स्वास्थ्य, खेतीयोग्य जमिन,बालीनाली, वातावरण र पर्यावरणमा प्रतिकुल असर पारेको हुँदा शून्य पोलिथिन बनाएर वातावरण संरक्षण गर्नुपर्नेमा उनले जोड दिए ।

सांसद घिमिरे नगर प्रमुख हुँदा तिलोत्तमा नगरपालिकालाई खुला पोलिथिनमुक्त नगर घोषणा गरेका थिए । तर तिलोत्तमामा यो अभियानले केही समय चर्चा कमाए पनि पूर्ण कार्यान्वयन हुन सकेन । तिलोत्तमामा सरसफाइ अभियान भने केही हदसम्म सफल भएको थियो । 

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले अभियानमा नगरपालिकाका १३ वटै वडाका जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थालाई सहभागी गराई ६ महिनासम्म सरसफाइ अभियान सञ्चालन गरी नगरलाई पोलिथिन शून्य बनाउने बताइन् । अभियानका लागि लुम्बिनी सांस्कृतिक नगरपालिकाले १७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको हरिजनले बताइन् ।

घोषणा कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ता, लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा.हृदयरत्न बज्राचार्य, गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल लगायतले धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप