सोमबार, ०३ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीमा मासु व्यवसायको जग बसाल्ने सन्तमाया र वार्ताको सङ्घर्ष

अचेल गर्छन् दैनिक साढे दुई लाखको कारोबार
शनिबार, २१ माघ २०७९, ०९ : ०४
शनिबार, २१ माघ २०७९

धनगढी । कैलालीको धनगढी चौराहाकी ५८ वर्षीया सन्तमाया विक २४ वर्ष पहिले मासु पसल सञ्चालन गर्दाको तीता पल सुनाउँदा भावुक हुन्छिन् । 

‘२ वटा ब्रोइलर काटेँ । यो त आलु हो, को खान्छ ? भन्थे । बुहुनीसमेत नहुँदा मन रोएर आउँथ्यो ।’

विवशताले धकेलिएपछि श्रीमान् बार्ताबहादुरले चार सन्तानसहित सन्तमाया विकलाई विसं. २०५४ मा चितवनको नारायणघाटबाट धनगढी ल्याए । जीविकोपार्जनको बाटो मासु व्यवसाय रोजे । लाख हन्डर खाए । अन्ततः कैलालीको धनगढीमा कुखुरा काटेर मासु बिक्री गर्ने पसलको पहिलो जग बसाले ।

‘हामी धनगढी आउँदा मधेशी समुदायका एक जना व्यक्तिले जिउँदो मुर्गा बेच्नुहुन्थ्यो । काटेर कोही पनि बेच्दैनथे । हामीले नारायणघाटबाट ब्रोइलर मुर्गा ल्याएर बेच्न सुरु गर्यौं । तर बिक्री नहुँदा जिन्दगी कसरी चल्ने होला, भनेर रोएर बस्थेँ,’ सन्तमायाले विगतलाई स्मरण गरिन् ।

नारायणघाटमा हुँदा सन्तमाया विकको जीवन सामान्य थियो । १२ वर्षको उमेरमै विवाह बन्धनमा बाँधिएका बार्ता र सन्तमायाले ९ वर्षपछि मात्रै सन्तान सुख पाए । त्यसपछि भने २ छोरा र २ छोरी जन्माए ।

त्यसताका बार्ता विकले केही साथीहरू मिलेर साझेदारीमा मनकामना फिड उद्योग सञ्चालन गरे । उद्योग नचलेपछि उनी ऋणमा डुबे । नारायणघाटमा घरबारविहीन बने । बालबच्चा बोकेर धनगढी आए । कोठा भाडामा लिएर बस्न थाले ।

सन्तमायाले भनिन्, ‘हामी त्यति पढेलेखेका मान्छे नार्ई, उद्योग डुबेपछि सडकमा आयौँ । जे होला होला भनेर धनगढी आयौँ । पेट पाल्नलाई नारायणघाटबाट ब्रोइलर ल्याएर धनगढीमा काटेर बेच्न थाल्यौँ ।’

Santa maya and Barta BK

२०५४ सालमा नारायणघाटबाट धनगढी आउँदा उनीहरू तत्कालीन धनगढी नगरपालिकाका मेयर किशोरकुमार बमका दाजुको घरमा कोठा भाडामा लिएर बसे ।

त्यसपछि २०५५ सालमा धनगढी नगरपालिकामा नारायणी मासु पसल दर्ता गरेर उनीहरूले विधिवत मासु पसल सञ्चालन गरेका हुन् ।

सन्तमायाको लगनशीलता 

कामप्रति लगनशील र निकै मेहनती सन्तमाया र वार्ताको जोडी ग्राहकको तीखो वचन र कामलाई कहिल्यै हीन भावनाले हेरेनन् । 

बार्ता विक भन्छन्, ‘त्यतिबेला अहिलेको जस्तो सडक, सवारीसाधन पनि थिएनन् तर हामीले यही काम गर्नुपर्छ । आज नाफा नहोला, भोलि त अवश्य होला भनेर कामलाई कहिल्यै विश्राम दिएनौँ । आज आएर राम्रो भयो । हाम्रोसँगै सन्तानकै भविष्य राम्रो भयो ।’

हाल बार्ता विक सुगर र आँखाको बिरामी छन् । अहिले उनी प्यारालाइसिसले थालिएका छन् ।  तर आफूले थालेको पेसामा सन्तानले काँध थापेपछि उनीहरू सन्तुष्ट छन् । उनका छोरा र बुहारीले व्यवसायलाई विस्तार गर्दै लगेका छन् ।

फलतः ३० हजार रुपैयाँको लागतमा सुरु गरेको व्यवसायमा हाल आएर दैनिक २ लाखदेखि २ लाख ५० हजार रुपैयाँभन्दा बढीको कारोबार हुँदै आएको सन्तमायाका जेठा छोरो ज्ञानेन्द्र विक बताउँछिन् ।

सुरुवाती लगानीबारे सन्तमाया भन्छिन्, ‘सुरुमा लगानी ३० हजार लाग्यो । त्यसमध्ये १५ हजार साहुले भाग्ने हुन् कि भनेर अग्रिम पैसा लियो । १५ हजारको अचानोसहितको औजार जुटाउनमै लाग्यो । कुखुरा चाहिँ नारायणघाटका साहुले उधारोमा पठाइदिए । सुरुवाती केही महिना अप्ठ्यारो भए पनि अब सहज भएको छ ।’

उनीहरूको अथक परिश्रमको परिणाम स्वरूप व्यापार फस्टायो । वाहवाही बटुले । पछिल्लो समय कैलाली जिल्ला ब्रोइलर मासुमा आत्मनिर्भर भएको छ । उनीहरूले व्यवसाय सुरुवात गर्दा धनगढीमा मासु काटेर बेच्ने गरिएको थिएन । मासु काटेर बेच्ने कार्यको उनीहरूले सुरुवात गरे । हाल धनगढीमा सयौैँ मासु पसल सञ्चालनमा छन् ।

उनीहरूले धनगढीको चौराहामै जग्गा जोडेर घर बनाए । व्यवसायलाई थप उचाइमा पुर्याउन सङ्घर्षरत छन् ।

Santmaya bk (1)

पशु वधस्थल सञ्चालन

मासु पसललाई समयअनुसार व्यवस्थित गर्दै लगेका छन् । उनीहरू मासु प्रशोधनसँगै पशुपन्छी वधस्थलसमेत निर्माण गरिसकेका छन् । व्यवसायको सम्मूर्ण जिम्मेवारी सन्तमायाका छोरा ज्ञानेन्द्र विकले सम्हाल्दै आएका छन् ।

दुई वर्षदेखि आधुनिक वधस्थल सञ्चालन गर्दै आएका ज्ञानेन्द्रले करिब ३ करोड लगानी गरेको बताउँछन् । उनले कुखुराको मासु प्याकेजिङ गरी धनगढी, काठमाडौँलगायत सहरमा पु¥याउँदै आएका छन् । दैनिक २ सय ५० देखि ३ सय पिस कुखुरा प्याकेजिङ हुँदै आएको ज्ञानेन्द्र सुनाउँछन् । निकट भाविष्यमा मासुको ससेज बनाउने उनको योजना छ ।

रोजगारी सिर्जना

मासु पसलले उनीहरूको जीविकोपार्जन मात्रै भएको छैन । उद्योगका रूपमा फस्टाएपछि रोजगारी पनि सिर्जना भएको छ । उनीहरूको फर्ममा १८ जनाले रोजगारी पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप