मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

पशुपतिको जात्रा सिलाजितको व्यापार : के गरिरहेछ सिंहदरबार वैद्यखाना ?

शनिबार, २१ माघ २०७९, ०९ : १३
शनिबार, २१ माघ २०७९

काठमाडौँ । ‘पशुपतिको जात्रा सिद्राको व्यापार भनेजस्तै हो– व्यापार पनि हुने, काठमाडौं घुम्न पाइने, पशुपतिको दर्शन हुने,’ कुराकानीका क्रममा बलबहादुर बुढाले भने । 

अघिल्लो हप्ता (माघ ८ मा) उनी ललितपुरको बखुन्डोलमा भेटिएका थिए । दौरासुरुवालमाथि अल्लोको टोपी, अल्लोकै कोट र इस्टकोस्ट लगाएका, कालो रंगको पछाडि भिर्ने झोलाभरि जडिबुटी, हातमा केही नेपाली झन्डा, अल्लोको टोपी आदि बोकेका उनी भन्दै थिए– जडिबुटी, सिलाजित हिमाली तेल... । 

उनले त भनेका थिए– पशुपतिको जात्रा सिद्राको व्यापार । मैले सुनेँ– पशुपतिको जात्रा सिलाजितको व्यापार । जुम्लाको कनकासुन्दरी गाउँपालिकाका ६५ वर्षीय बलबहादुरसँगको केहीबेरको कुराकानीले मलाई ‘नोस्टाल्जिक’ बनायो । 

जब हिउँद लाग्थ्यो, हाम्रो गाउँघर (स्याङ्जा)तिर जडिबुटी बोकेर मनाङ–मुस्ताङका मान्छे आउँथे । हामीले उनीहरूलाई ‘भोटे’ भन्थ्यौँ । हाम्रोभन्दा वेशभूषा, रूपरंग अलग्गै भएका उनीहरूलाई टाढैबाट चिनेर हामी केटाकेटीले चिच्याउँथ्यौँ– भोटे आए, भोटे आए । (‘भोटे’ सम्बोधन हेपेर भनिएको हो भने फिर्ता लिइनेछ) । 

उनीहरूले जडिबुटीसँग धान, कोदो, मकै लगायत अन्न साट्थे । मेरी हजुरआमाले सबैभन्दा धेरै जिम्मु राख्नुहुन्थ्यो । जिम्मुले झानेको सिल्टुङको तिहुन र अडहरको दाल खान पाए मलाई केही चाहिँदैनथ्यो । हजुरआमाले राखेको जिम्मु पाँच–सात महिनामै सकिन्थ्यो । त्यसैले भोटे आउनु भनेको हाम्रा लागि जिम्मु आउनुजस्तै हुन्थ्यो । 

राता गाला भएकी, गोरी एउटी भोटेनी दिदी मेरो स्मृतिमा अझै छन् । उनी बर्सेनि आउँथिन्, मेरी हजुरआमालाई ‘आमा’ भन्थिन्, निकैबेर कुरा गरेर बस्थिन् र मेरा कान्छाबासँग खुबै जिस्किन्थिन् । 

यता बलबहादुर बुढाले देखाउँदै थिए– सिलाजित, हिङ, जिम्मु, भोटे खयर, जेठी मधु, हातले बुनेको अल्लो, ऊनीको टोपी, हिमाली तेल आदि । 

एक किलो काँचो सिलाजित बेच्दा उनीहरूलाई तीन हजार रुपैयाँजति आउँछ । पाकेको एक किलो सिलाजितलाई टुक्रा पारेर बेच्दा १०–१२ हजार रुपैयाँ जति कमाइ हुने उनको भनाइ छ । 

यीमध्ये उनका लागि बहुमूल्य चिज थियो– सिलाजित । उनका अनुसार, अप्ठेरा पहाडका ढुंगा रसाएर एकै ठाउँमा सिलाजित जमेर बसेको हुन्छ, निकाल्न भने सहज हुँदैन । भीरमौरी काढेजस्तै अल्लोको डोरीको सहारा लिएर डोकोमा मान्छे बसेर भीरमा जानुपर्छ । ‘हामी ८–१० जना साथी मिलेर जान्छौँ । जमेको सिलाजितलाई छिनोले खनेर निकाल्छौँ,’ उनी भन्छन्, ‘सिलाजित बाह्रैमास पाइन्छ, तर साउन–भदौतिर हिउँ पग्लेको हुन्छ । खुट्टा चिप्लिँदैनन् ।’ 

अचेल यसरी सिलाजित निकाल्नेहरू धेरै हुन्छन् । पहिलेजस्तो ठूलो मात्रामा अचेल सिलाजित पाइँदैन । उनी अलिकति अन्धविश्वासको कुरा सुनाउँछन्, ‘एउटा भूत बस्ने ठाउँ छ । माथिबाट डोरी लगाएर डोकामा मान्छे पठायो, ऊ आत्तिएर उँभो तान–तान भन्छ । माथि तान्दा ऊ अजिंगर बनिसकेको हुन्छ । त्यो ठाउँ अझै छ, त्यहाँबाट सिलाजित कोही निकाल्दैनन् ।’ 

यो उनले सुनेको कुरा हो । हुन सक्छ, भीरमा रहेको अजिंगरले मान्छेलाई आक्रमण गर्‍यो, मान्छे डोकोबाट पर उछिट्टियो र डोकोमा अजिंगर पर्‍यो । जेहोस्, यसपालि उनले १० किलोजति काँचो सिलाजित बटुले । त्यसबाट माटो–ढुंगा लगायत फोहोर हटाएर खानयोग्य सिलाजित तीन किलो जति बन्छ । 

खानयोग्य सिलाजित बनाउने परम्परागत विधि–प्रक्रिया छ । ‘काँचो सिलाजितलाई पहिले तातोपानीमा भिजाउँछौँ । सबै पानीमा घोलिन्छ, त्यसपछि पातलो कपडाले छानेर ढुंगा–माटो छुट्ट्याउँछौँ । पानीमा घोलिएको सिलाजितलाई बेसरी पकाएर बाक्लो बनाउँछौँ,’ उनी सिलाजित तयार गर्ने परम्परागत विधि सुनाउँछन्, ‘त्यसरी पकाउँदा हामीले अलिकति मौरीको मह हाल्छौँ । कसैले गाईको गहुँत पनि हाल्छन् । गहुँतले सिलाजित तितो हुन्छ, तितो सिलाजित प्रेसर लो हुनेले खान सक्दैनन् ।’ 

एक किलो काँचो सिलाजित बेच्दा उनीहरूलाई तीन हजार रुपैयाँजति आउँछ । पाकेको एक किलो सिलाजितलाई टुक्रा पारेर बेच्दा १०–१२ हजार रुपैयाँ जति कमाइ हुने उनको भनाइ छ । 

उनी मंसिरको १६ मा चारजना साथीसहित काठमाडौं आएका रहेछन् । आएकै भोलिपल्ट पशुपतिको दर्शन गर्न पुगे । त्यसयता उनीहरू छरिएर व्यापारमा लागेका छन् । 

पहिलोपटक उनी ०४६ सालमा साथीहरूसँग काठमाडौं आएका थिए, यसरी नै जडिबुटी बोकेर । त्यतिबेला गाडी चढ्नका लागि जुम्लादेखि सुर्खेतसम्म हिँड्नुपथ्र्यो । काठमाडौं आएर पशुपतिको गौशाला चौरमा बसेर उनीहरूले जडिबुटी बेचेका थिए । बहुदलीय व्यवस्थाका लागि आन्दोलन सुरु भयो । उनी भन्छन्, ‘काठमाडौं बस्न अप्ठेरो हुने भएपछि हामीलाई सरकारका मान्छेले सुर्खेत पठाए, साझा बस चढाएर ।’

‘तीन महिनापछि वीरेन्द्रलाई मैले अस्पतालमा बोलाएँ । निर्देशक पराजुली सरको कक्षमा गएर भनेँ, सर यो मान्छेलाई चिन्नुहुन्छ ? उहाँले चिन्नुभएन । किनभने उनी पहिलेको हालतमा थिएनन्, पूर्ण ठीक भइसकेका थिए,’ डा. यादव भन्छन्, ‘उहाँ आश्चर्यचकित पर्नुभयो ।’

आज ३२ वर्षपछि पनि उनी उसरी नै जुम्लाका जडिबुटी काठमाडौंमा बेच्दै छन् । अहिले जुम्लामा सिलाजित लिन भारतका योगगुरु रामदेवका मान्छे पुगिसकेका छन् । तर, हाम्रो सरकार पुगेको छैन । 

जुम्लाले केहीअघि कसरी व्यापार गथ्र्यो ? जुम्ला अफिसर्स क्लबले २०३६ सालमा प्रकाशन गरेको ‘विकासोन्मुख जुम्ला’ पुस्तक पल्टाएँ, लेखिएको छ, ‘यहाँका मानिसले मुख्यतः ऊनी कपडाहरू, जडीबुटी, चरेश, कस्तुरी, घिउ बिक्री गर्छन् । ऊनका सामान (राडी, पाखी, स्वेटर, गलबन्दी, लगाउने लुगाहरू आदि) बुन्ने र त्यसको व्यापार पनि गर्छन् । उत्तरमा हुम्ला, मुगु, ताक्लाकोट, तिब्बत, पश्चिममा दार्चुला, दक्षिणमा नेपालगन्ज, बर्दिया, दाङ आदि ठाउँमा व्यापार हुने गर्छ ।’

साँच्चि, हाम्रो सरकारले जडिबुटीको प्रवद्र्धनमा के गरिरहेको छ ? 

हामी आयुर्वेदिक औषधि उत्पादन गर्ने देशकै सबैभन्दा पुरानो कारखाना सिंहदरबार वैद्यखानामा पुग्यौँ । यहाँ तीन महिनाअघि डा. रामदेव यादव कार्यकारी निर्देशक भएर आएका रहेछन् । उनले हामीलाई आयुर्वेद चिकित्साको मोटामोटी सिद्धान्त नै सुनाए । 

आयुर्वेदको सिद्धान्त

डा. यादव नरदेवी आर्युर्वेद चिकित्सालयका कर्मचारी हुन्, त्यहाँदेखि काजमा वैद्यखाना आएका । उनले नरदेवीमा मर्ने अवस्थामा पुगेका बिरामीको उपचार गरेका रहेछन् । 

भक्तपुर क्याम्पसमा अंग्रेजी विषयका प्राध्यापक वीरेन्द्र वर्मालाई उनले उपचार गरेको प्रसंग उल्लेखनीय छ । वर्मालाई छालाको समस्या सोराइसिस (चर्मरोग) देखिएको थियो । उनको शरीरमा कहीँ राम्रो छाला बाँकी थिएन, दुर्गन्ध आइरहेको थियो । यो देखेर अस्पतालमा भर्ना गर्न सबै हिचकिच्याइरहेका थिए । नरदेवीका निर्देशक कृष्णराज पराजुलीले पनि भर्ना नगर्न भनेका थिए, निको हुँदैन भनेर । तर यादवले भर्ना गरे । 

डा. यादवले वर्मालाई सुरुमा आयुर्वेद चिकित्सा अन्तर्गतको पञ्चकर्म गराए, त्यसपछि औषधि दिएर पठाए । 

‘तीन महिनापछि वीरेन्द्रलाई मैले अस्पतालमा बोलाएँ । निर्देशक पराजुली सरको कक्षमा गएर भनेँ, सर यो मान्छेलाई चिन्नुहुन्छ ? उहाँले चिन्नुभएन । किनभने उनी पहिलेको हालतमा थिएनन्, पूर्ण ठीक भइसकेका थिए,’ डा. यादव भन्छन्, ‘उहाँ आश्चर्यचकित पर्नुभयो ।’

उनले वीरेन्द्रलाई गराएको पञ्चकर्म थेरापी के हो त ? 

Ramdev yadav

उनी व्याख्या गर्छन्– आयुर्वेद पद्धतिमा त्रिदोष (वात, पित्त र कफ) मा आधारित रहेर उपचार हुन्छ । यिनै दोषको घटबढले गर्दा मान्छे बिरामी हुने हो । यी दोष सम्यक् अवस्थामा छ भने मान्छे आरोग्य हुन्छ । आयुर्वेदको सिद्धान्तले चर्म रोगलाई पित्तदोषका रूपमा हेर्छ । पञ्चकर्म कर्म चिकित्सामा पाँच कर्म पर्छन्– वमन, विरेचन,  बस्ति  (अनुवासन र आस्‍थापन) र नस्य  । 

हाम्रो आयुर्वेद सिद्धान्त भन्छ– वातका लागि वस्ती कर्म, पित्तका लागि विरेचन कर्म र कफका लागि वमन कर्म गर्नुपर्छ । ‘मैले वीरेन्द्रलाई विरेचन कर्म गराएँ । यस कर्ममा एउटा प्रक्रिया हुन्छ । सात दिनसम्म घृतपान खुवाउने, त्यसपछि स्नेहन र स्वेदन गराउने अनि विरेचन थेरापी । यति गरेपछि दोष–कष्ट बिरामीको शरीरबाट निस्कियो । त्यसपछि शमन औषधि दिएँ, रोग ठीक भयो ।’

उनका अनुसार, आयुर्वेदका तीन सिद्धान्त छन्, संशमन चिकित्सा, संशोधन चिकित्सा र निदान्त परिवर्तन चिकित्सा । 

राज्यले देशको जडिबुटीको प्रवर्द्धनका लागि सातै प्रदेशमा वैद्यखानाको शाखा खोल्नुपर्ने यादवको धारणा छ । अहिले देशका विभिन्न स्थानमा वैद्यखानाका १३ वटा डिलर छन्, जसले वैद्यखानामा उत्पादित औषधि थोकमा लैजान्छन् र डिलरसँग खुद्रा विक्रेताले किन्ने गर्छन् ।

संशमन चिकित्सा भनेको रोग अनुसारको औषधि दिनु हो । औषधिले रोग शमन भए पनि पुनः आउन पनि सक्छ । संशोधन चिकित्साले शरीरलाई सफा गर्छ । जस्तो : पित्त दोषमा शरीरमा पित्त बढी हुन्छ, यसलाई विरेचन कर्मबाट निकालिन्छ । यसपछि शमन औषधि दिइन्छ । यस्तै किड्नीमा पत्थरी छ, आधुनिक चिकित्साले यसमा अपरेसन गर्न भन्छ । रामदेव भन्छन्, ‘मैले सयौँ पत्थरीका बिरामीलाई आयुर्वेद औषधिले ठीक गरेको छु ।’

आयुर्वेद अनुसार, हाम्रो शरीरमा सातवटा धातु छन्– रस, रक्त, मांस, मेद, अस्थि, मज्जा र शुक्र । यी सम्पूर्ण धातुलाई पोषण गर्नेलाई रसायन भनिन्छ । रसायनको रूपमा त्रिफलाको पनि प्रयोग हुन्छ । त्रिफलामा मिसाइने हर्रो, बर्रो र अमला आफैँमा रसायन हुन् । रसायन औषधिको सम्यक् ढंगले सेवन गर्ने हो भने मान्छे उमेर अनुसारको बूढो देखिँदैन । ‘अर्थात् ६० वर्षको मान्छे ४५ को जस्तो देखिन्छ । जारा र व्यधिलाई नाश गर्छ रसायनले । यस्तो काम त्रिफला, सिलाजित, च्यवनप्राश आदिले पनि गर्छ,’ डा. यादव भन्छन्, ‘च्यवनप्राशको पनि मूल घटक अमला हो । अमलामा सबैभन्दा बढी भिटामिन सी पाइन्छ ।’

‘औषधि नचिन्दा खेर गइरहेछ’

यादव सानै हुँदा उनलाई खोकी लाग्यो । निकै दिन एलोप्याथिक औषधि खाँदा पनि निको भएन । उनकी आमालाई कसैले सुनायो– असुरोको काँढा बनाएर तीन दिनसम्म खुवाउनू । उनकी आमाले त्यसै गरिन्, उनलाई निको भयो । ‘हाम्रै बारीमा असुरो थियो, तर हामीलाई त्यसको औषधीय गुणबारे ज्ञान थिएन,’ उनी भन्छन्, ‘औषधि चिन्न नसक्दा हामीकहाँ अधिकांश बहुमूल्य औषधि त्यत्तिकै खेर गइरहेका छन् ।’

राज्यले देशको जडिबुटीको प्रवर्द्धनका लागि सातै प्रदेशमा वैद्यखानाको शाखा खोल्नुपर्ने यादवको धारणा छ । अहिले देशका विभिन्न स्थानमा वैद्यखानाका १३ वटा डिलर छन्, जसले वैद्यखानामा उत्पादित औषधि थोकमा लैजान्छन् र डिलरसँग खुद्रा विक्रेताले किन्ने गर्छन् ।

‘ठाउँठाउँमा वैद्यखानाको ब्रान्च भयो भने, स्थानीय स्तरका जडिबुटीको प्रयोग छिटो–छरितो ढंगले हुन्थ्यो,’ उनी भन्छन्, ‘आफ्नै छेउछाउ, वनपाखा, खेतबारीमा भएका कैयौँ जडिबुटीलाई मान्छेले चिन्न सकेका छैनन् । स्थानीयवासीलाई कम्तीमा जडिबुटी चिन्ने तालिम राज्यले दिन्छ भने, जडिबुटी खेर जाने थिएन ।’ 

उनले सानैदेखि सप्तरीस्थित आफ्नो बारीमा अशोकका रुख देखेका हुन् । यस रुखका हाँगालाई हाम्रो समाजमा शुभकार्यमा प्रयोग गरिन्छ । जबकि यस रुखबाट अशोकारिष्ट भन्ने औषधि बनेको छ । ‘महिलाको पाठेघरसम्बन्धी रोगमा अशोकारिष्टले काम गर्छ,’ उनी भन्छन् ।

यादव सप्तरीबाट ०३९ सालमा एसएलसी गरेपछि हेल्थ असिस्टेन्ट पढ्न काठमाडौं आएका थिए । त्यतिबेला उनका काका डम्बरनारायण यादव स्वास्थ्यमन्त्री थिए । काकाकै सुझाव अनुसार उनले काठमाडौंको नरदेवी आयुर्वेद चिकित्सालयमा पढ्न थाले । पढाइ सकेर हेल्थ असिस्टेन्ट पदबाट उनको जागिर सुरु भयो । जागिरकै बीचमा उनले भारतीय दूतावासले दिने बिएएमएस (ब्याचलर अप आयुर्वेदिक मेडिसिन एन्ड सर्जरी) अध्ययनको छात्रवृत्ति पाए । भारतको ग्वालिएरमा साढे पाँच वर्ष पढेर आएपछि उनी नरदेवीमै मेडिकल अफिसर भए । यसपछि पनि उनले गुजराजबाट आयुर्वेदमै एमडी गर्ने छात्रवृत्ति पाए । त्यहाँ पढेर फर्केपछि उनी नरदेवीमा कन्सलटेन्ट काज चिकित्सक, पटकपटक निर्देशक, विभागको महानिर्देशक पनि भए । 

उनी अनुभवको पुँजी लिएर सिंहदरबार वैद्यखानामा आइपुगेका छन् । ‘म दृढसंकल्पसहित आएको छु, त्यसलाई पूरा गर्न यहाँका कर्मचारीलाई साथमा लिएर अगाडि बढ्छु,’ उनले भने ।

हामीकहाँ आयुर्वेदका क्लिनकहरूमा अहिले वैद्य (१० वा १५ महिने कोर्स गरेका) र कविराज (दुईदेखि तीन वर्षको कोर्स गरेका) हरूले जाँचिरहेका छन् । वैद्यखानामै अहिले वैद्यले जाँचिरहेछन् । ‘यो विकृति हो । चेकजाँच गर्ने चिकित्सक बिएएमएस गरेको हुनुपर्छ,’ डा. यादव भन्छन्, ‘वैद्यखानाको औषधि बिक्री कक्षमा बिएएमएस गरेको चिकित्सक राख्ने सोचमा छु ।’

डा. यादव भन्छन्, ‘अहिले कर्मचारीले तलब खान पाएका छन् । म आएपछि उत्पादन गरी कमाएको पैसाबाट कर्मचारीलाई तलब र पोसाक भक्ता उपलब्ध गराएँ ।

के गरिरहेछ वैद्यखाना ?

सिंहदरबार वैद्यखाना विकास समिति पछिल्लो दुई वर्षयता धराशयी अवस्थामै थियो । त्रिफला, अविपत्तिकर, अश्वगन्धाजस्ता औषधिको पनि उत्पादन रोकिएको अवस्था थियो । 
‘सबै कर्मचारी घाम तापेर जान्थे,’ कार्यकारी निर्देशक यादव भन्छन्, ‘अहिले अश्वगन्धा, हिमवाष्टक, पञ्चसकार, अविपत्तिकर, सन्धिपन, त्रिफला लगायत चुर्ण, तुलसी चिया, षडबिन्दु तेल, च्यवनप्रास आदि २० प्रकारका औषधि उत्पादन भइसकेको छ । अहिले कर्मचारीले तलब खान पाएका छन् । म आएपछि उत्पादन गरी कमाएको पैसाबाट कर्मचारीलाई तलब र पोसाक भक्ता उपलब्ध गराएँ ।’

वैद्यखानामा ४३ कर्मचारीको दरबन्दी छ । यिनै ४३ कर्मचारीले प्रशासन हेर्नेदेखि औषधि बनाउने काम गर्छन् । यहाँ जागिर खानेमध्ये कसैले आयुर्वेद विधामा कविराज पढेका छन्, कोही वैद्य पढेको, कोही बिएएमएस गरेका समेत छन् ।

डा. यादवका अनुसार, विश्वमा सबैभन्दा बढी राम्रो जडीबुटी नेपालको हिमाली भेगमा पाइन्छन् । अहिले वैद्यखानाले जुन औषधि बजारमा पठाइरहेको छ, अन्य कम्पनीको तुलनामा यहाँको औषधि मूल्य सस्तो छ र गुणस्तर राम्रो । 

‘वैद्यखाना ऐतिहासिक संस्था भएकाले यहाँको सिलाजितको माग ठूलो छ । सिलाजित र च्यवनप्राश मात्रै मार्केटमा पठाउन सके वैद्यखाना कहाँबाट कहाँ पुग्छ,’ उनी भन्छन्, ‘मलाई एक साथी भेट्न आएका थिए, उनले भनेका थिए– म तपाईंलाई पाँच करोड रूपैयाँ एडभान्स दिन्छु । भन्नुको मतलब यहाँको उत्पादनको डिमान्ड ठूलो छ ।’ 

वैद्यखानाले काठमाडौंमै औषधि उत्पादन गर्छ । विकास समिति भएकाले सरकारी प्रक्रिया अनुसार टेन्डर गरी ठेकेदारमार्फत कच्चा पदार्थ लिनुपर्छ । ती कच्चा पदार्थबाट वैद्यखानाले प्रयोग गर्दै आएको शास्त्रीय सूत्र प्रयोग गरी औषधि बनाइन्छ । 

सबैभन्दा बढी माग रहेको सिलाजितको उपादेयता कति छ ? डा. यादव भन्छन्, ‘सिलाजित शक्तिबद्र्धक औषधि हो । शारीरिक दुर्बलता, पिसाबसम्बन्धी रोग (युरिन इन्फेक्सन), मधुमेह आदि रोगमा यसको सेवन गरिन्छ ।’

यस्तै सिंहदरबारले अविपत्तिकर चुर्ण उत्पादन गरिरहेको छ । यो ग्यास्ट्रिकका लागि असाध्यै राम्रो औषधि हो । ग्यास्ट्रिकमा एलोप्याथिक औषधिबाट खाँदा खाँदा मानिस थाकिसकेका छन् । त्यसैले धेरैको ध्यान यतिबेला आयुर्वेदिक औषधिमा छ । उनको अनुभव भन्छ– यतिखेर ग्यास्ट्रिकका रोगी अविपत्तिकर चुर्णतिर आकर्षित छन् । यसले पेट सफा गर्छ । यसको मूल घटक निशोथ हो । यो सुख विरेचक हो । विरेचनमा सबैभन्दा राम्रो निशोथलाई मानेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप