सर्वोच्चको फैसलाले गैरआवासीय नेपाली तरंगित हुनु पर्दैन : ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलाबाट गैरआवासीय नेपाली तरंगित हुनु नपर्ने बताएका छन् ।
आइतबार प्रवासी नेपाली मंच अष्ट्रियाले आयोजना गरेको समृद्धि नेपाल प्रवासीको भूमिका कार्यक्रमलाई जुममार्फत सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नागरिकता विधेयक अगाडि बढेपछि गैरआवासीय नेपालीको सम्पत्ति पनि सुरक्षित हुने बताए । समृद्धि नेपाल निर्माण गर्न गैरआवासीय नेपालीहरुको लगानी आवश्यक रहेको उनले बताए ।
एमाले सचिव तथा पूर्वपर्यटन मन्त्री योगेश भट्टराईले प्रवासमा रहेर प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा सहयोग गरेको धन्यवाद दिँदै मुलुकको अर्थतन्त्र सन्तुलन राख्नुपर्नेमा जोड दिए ।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका अध्यक्ष संजय थापाले विदेशमा बस्ने नेपालीहरूले मुलुकको अर्थतन्त्र सन्तुलन गर्न खेलेको भूमिका र योगदानको वर्णन गर्दै नागरिकता र मताधिकारको व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।
जुम मार्फत गरिएको कार्यक्रममा एनआरएनएका सचिव रामशरण सिम्खडासहित प्रवासी नेपाली मंच अन्तर्राष्ट्रििय कमिटी र राष्ट्रिय कमिटिका पदाधिकारीहरु, पत्रकारहरु, गैर आवासीय नेपाली संघका पदाधिकारीहरु, अन्य राजनैतिक संगठनका पदाधिकारीहरुको उपस्थिति रहको थियो ।