शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ–वार्ता

‘बैङ्क ब्याजदर एकल अङ्कमा झर्नुपर्छ, सङ्कटमा लिलामी प्रक्रिया रोकिनुपर्छ’

सबै विकल्प सकिएपछि व्यवसायीले आत्महत्याको बाटो रोज्छन्– संस्थापक अध्यक्ष कटुवाल
मङ्गलबार, ०२ फागुन २०७९

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले फागुन ५ गतेदेखि बैङ्कविरुद्ध देशव्यापी आन्दोलन घोषणा गरेको छ । महासङ्घले देशभरका ३८ वटा व्यावसायिक सङ्घसंस्थासँगको सहकार्यमा बैङ्क ब्याजदरविरुद्ध आन्दोलनको घोषणा गरेको हो ।

यस्तै यतिबेला बजारमा चरम मन्दी छाइरहेको र बैङ्कको किस्ता र ब्याज तथा घरभाडा तिर्न नसकेको भन्दै व्यवसायीहरू आत्महत्याको बाटो रोजिरहेका छन् । बजारमा आइरहेको मन्दी र यसबाट सिर्जित समस्याका विषयमा रातोपाटीले महासङ्घका संस्थापक अध्यक्ष नरेश कुटवालसँग गरेको कुराकानीको सम्पादित अंशः

कोभिड–१९ महामारीबाट सिर्जित अवस्थाका कारण यतिबेला बजारमा मन्दी छ भनिन्छ । खासगरी बजारमा कति प्रतिशत मन्दी छ ?

ठ्याक्कै तथ्याङ्क त भन्न सकिँदैन । तर बजारमा धेरै ठूलो मन्दी चलिरहेको छ । सरकारी निकायले निकालेको तथ्याङ्क त मिल्दैन । बजारमा यतिबेला २० देखि २५ प्रतिशत मात्रै माग र आपूर्ति होला जस्तो लाग्छ । ग्रास लेभलका मान्छेहरूको रोजगारी गुमेको छ । यी मानिसहरूको रोजगारी नगुमेको भए अहिलेको जस्तो समस्या नआउन सक्थ्यो । तर बजारमा जत्रो ठूलो मन्दी आए पनि केही सीमित मान्छेहरूलाई छुँदैन । केन्द्रीय बैङ्कदेखि सरकारलाई नै प्रभावमा पारेर मन्दीबाट बच्न सक्छन् ।

सानो लगानी गरेर एउटा सटर लिएर दैनिक गुजारा चलाउन व्यापार गर्ने व्यापारीले कालोबजारी गर्नै सक्दैन ।

कोभिडअघि बजार जुन हिसाबमा चलायमान थियो । कोभिडपछि कस्तो छ ? वा भनौँ कोभिडअघि १०० रुपैयाँको बिक्री हुन्थ्यो भने अहिले कतिको बिक्री हुन्छ ?

कोभिडअघि दैनिक १०० रुपैयाँको बिक्री हुन्थ्यो भने अहिले २०–२५ रुपैयाँको बिक्री हुन्छ । समग्रमा भन्दा व्यापार नै छैन । बजार ७०–७५ प्रतिशतभन्दा धेरैले घटेको छ । बजारको व्यापारले घरभाडा, बैङ्क ब्याजदर र आफ्नो दैनिक खर्च धान्न सक्ने स्थिति नै छैन । यी खर्च धान्न सक्ने भए व्यापारीले आत्मदाह गर्नपर्ने कारण नै थिएन ।

व्यापारीमाथि सबैले कुदृष्टि लगाएका छन् । व्यापारी र उद्योगी भने सबैलाई भन्छन् । एकखालका माथिल्ला तहका लुटेरालाई केही भन्न चाहँदैनन् । अनि एउटा सामान्य खालको व्यापारीलाई लुटेरा भन्यो, कालोबजारी ऐन लगायो र कारबाही गर्यो ।

त्यसो भए व्यापारीमाथि लाग्ने आरोप र लाञ्छना साना व्यापारीमा केन्द्रित भयो ?

हो, अहिले लाग्ने सबै आरोप र लाञ्छना साना व्यापारीमाथि नै केन्द्रित भयो । सानो लगानी गरेर एउटा सटर लिएर दैनिक गुजारा चलाउन व्यापार गर्ने व्यापारीले कालोबजारी गर्नै सक्दैन । उद्योगी र ठूला थोक व्यापारीबाट बढेर आएको मूल्यमा सामान बिक्री गर्दा कानुनी झमेला साना व्यवसायीलाई आइरहेको छ ।

बजार अनुगमनका नाममा गरिखाने वर्गका व्यवसायीलाई मारमा पारिँदै आइरहेको छ । अनुगमन नै गर्ने भए ठूला उद्योगी  व्यवसायीलाई गरौँ न । ग्रास लेभलका व्यवसायीलाई अनुगमनका नाममा त्रास देखाएर ड्युटी पूरा गर्ने काम सही होइन । यो प्रवृत्तिको अन्त्य नभएसम्म व्यवसायीहरूले खुलेर काम गर्न सक्दैनन् ।

साना व्यवसायीले बैङ्कबाट सानै मात्रामा ऋण लिएका हुन्छन् । साना व्यवसायीको काठमाडौँमा घरजग्गा छैन । घरजग्गा नभएपछि बैङ्कहरूबाट ऋण प्रवाह हुँदैन

बजार अनुगमन गर्न हुँदैन भन्नुभएको हो ?

बजार अनुगमन नै नगर्ने भन्ने विषय होइन । तर बजार अनुगमनका नाममा साना व्यवसायीलाई दुःख दिनु भएन भन्ने हो । अर्थमन्त्रीलाई सुझाव दिने व्यवसायीको घेरा नै सानो भयो  अर्थात् एउटा सानो घेराले अर्थमन्त्रीलाई च्यापेर राख्दा साना व्यवासायी मारमा परेका छन् । अर्थमन्त्रीमा नियुक्त हुनसाथ केही व्यवसायीले २४ घण्टा घेरेर राख्ने र केही व्यवसायीचाहिँ पराइको पराइ हुने भइरहेको छ । यही विषयलाई समाधान गर्न एउटा उच्चस्तरीय समन्वय समितिको आवश्यकता भइरहेको छ । जसमा प्रतिनिधिमार्फत सानादेखि ठूला व्यापारीसम्मको पहुँच अर्थमन्त्रालयसम्म पुगोस् ।

अहिले बजारमा साना व्यावसायीको अवस्था कस्तो छ ?

अहिले साना व्यावसायीहरूले घरभाडा तिर्न सकेका छैनन् । थोरै मात्रामा लिएको बैङ्क ब्याजदरसमेत तिर्न सकेका छैनन् । बालबच्चा पढाउने विद्यालय खर्च जुटाउन सकेका छैनन् । विगतका दिनमा सहकारीहरूले बिनाधितो ५ लाख रुपैयाँसम्म ऋण प्रवाह गर्थे । हाल सहकारी धराशायी बन्दा सबैभन्दा ठूलो समस्या आएको छ । बैङ्कले ऋण दिन ठूलो धितो खोज्छ । यही कारण बजारका साना व्यवसायी समस्यामा छन् ।

साना व्यवसायीले बैङ्कबाट कति मात्रामा ऋण लिएका हुन्छन् ? ठूलै परिणाम हुन्छ कि सानो परिणाम हुन्छ ?

साना व्यवसायीले बैङ्कबाट सानै मात्रामा ऋण लिएका हुन्छन् । साना व्यवसायीको काठमाडौँमा घरजग्गा छैन । घरजग्गा नभएपछि बैङ्कहरूबाट ऋण प्रवाह हुँदैन । 

ठूला व्यवसायीहरूलाई अनुहार हेरेरै ऋण दिन्छ । साना र ठूला व्यवसायीलाई लिने ब्याजको दायरा पनि फरक छ । साना व्यवसायीले १५ प्रतिशत ब्याज तिर्नुपर्छ भने ठूला व्यवसायीले ४–५ प्रतिशत तिर्दा हुन्छ । त्यही भएर पनि यो क्षेत्रमा दूधको दूध र पानीको पानी छुट्टिनुपर्छ भनेर हामी भन्दै आइरहेका छौँ ।

बैङ्कबाट ऋण लिँदै गर्दा एउटा ऋणीले सबै विषय विश्लेषण गरेको हुन्छ । बजारमा भइपरी आउने समस्या र बढ्ने ब्याजदरको आकलन गरेको हुन्छ ।

यो भनेको के हो ? व्यवसायी र बैङ्कर छुट्टिनुपर्छ भन्नुभएको हो ?

अहिले एउटा व्यवसायीले सबै क्षेत्रमा लगानी गरेको छ । सेयरमा उसैको लगानी छ, बिमा, बैङ्क, अटो, रियलस्टेट पनि एउटै लगानी हुन्छ । यो अवस्था छुट्टिनुपर्यो भन्ने हाम्रो माग छ । एउटै व्यवसायीले धेरै क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था कानुनी रूपमा अन्त्य गरिनुपर्छ ।

अहिले बैङ्कको ब्याजदर महँगो भएको र बजामा मन्दी छाएको भन्दै व्यवसायीहरू भटाभट आत्महत्या गरिरहेका छन् । अहिलेसम्म कति व्यवसायीले आत्महत्या गरे भन्ने तथ्याङ्क छ ?

यसको आधिकारिक तथ्याङ्क गृहमन्त्रालय वा सरकारी निकायसँग हुन सक्छ । मैले सुनेअनुसार काठमाडौँ उपत्यकामै १२–१५ जना व्यवसायीले आत्महत्या गरिसकेका छन् । काठमाडौँ बाहिरका जिल्लाको तथ्याङ्क योभन्दा धेरै हुन सक्छ । व्यापार नसुधारिनु र बजार महँगी हुनुलगायतका कारण छन् । जसले गर्दा व्यवसायीलाई आत्महत्याबाहेकको विकल्प हुँदैन ।

बैङ्कबाट ऋण लिँदै गर्दा एउटा ऋणीले सबै विषय विश्लेषण गरेको हुन्छ । बजारमा भइपरी आउने समस्या र बढ्ने ब्याजदरको आकलन गरेको हुन्छ । तर पछिल्लो अवस्था हेर्दा व्यवसायीले यी विषयलाई नजरअन्दाज गरेको जस्तो देखिन्छ नि ।

व्यवसायीले बैङ्कबाट ऋण लिँदा यी वस्तुलाई राम्रोसँग विश्लेषण गर्ने गर्छन् । सुरुमा ऋण लिँदा ८ प्रतिशतसम्म ब्याज तिर्ने भनेर सम्झौता गरेका थियौँ । तर यतिबेला बैङ्क ब्याज बढेर १५ प्रतिशत पुगिसकेको छ । यो कसैले सोच्दैन । बैङ्कहरू बढेको ब्याज तिर्न दबाब दिँदै लिलामि प्रक्रियामा अघि बढ्छ । ऋण तिर्दिन वा ब्याज तिर्दिन भनेर कसैले भनेको छैन । तर बैङ्कहरूले साना व्यवसायीहरूलाई निरन्तर दबाब दिइरहेका छन् ।

बैङ्क ब्याजसँगै यतिबेला भाडादरले समेत साना व्यवसायी मारमा छन् । घरबेटीले जथाभावी भाडा लिइरहेका छन् र जथाभावी बढाइरहेका छन् । यी र यस्ता समस्याले व्यवसायीलाई समस्या परिरहेको छ ।

केही व्यवसायीको सिन्डिकेट तोड्न यो आन्दोलनको घोषणा गरेका हौँ । हाम्रा मुख्य एजेन्डा भनेको ब्याजदर एकल अङ्कमा फर्किनुपर्यो ।

यतिबेला बैङ्क ब्याजदर विश्वभर बढेको छ । अमेरिका र युरोपियन युनियन तथा बेलायती मुलुकमा पनि बढेको छ । नेपालमा मात्रै बढेको हो र ?

बजारमा माग छ भन्दैमा अत्यधिक मात्रामा ब्याज बढाउन हुँदैन । बजारमा माग र आपूर्तिको चक्र मिलेन भन्दैमा ८ प्रतिशतसम्ममा रहेको बैङ्क ब्याज बढेर दोब्बर हुनुपर्ने हो त ? यो त कालाबजारी हो नि । माग र आपूर्तिको चक्र मिलाउनका लागि पनि आवश्यकताअनुसार बढाउने हो । अर्थशास्त्रको नियमले माग र आपूर्तिको चक्र मिलाउन मूल्य बढाउने भन्छ । तर अत्यधिक बढाउने भन्दैन । बैङ्कहरूमा पनि कालोबजारी ऐन लागुुर्नुपर्यो ।

हाल तपाईंहरूले फागुन ५ गतेदेखि आन्दोलनको घोषणा गर्नुभएको छ । यसका एजेन्डा के हुन् ?

हामीले यसअघिदेखि नै आन्दोलनको सुरुवात गरिसकेका छौँ । राष्ट्रिय व्यवसायी महासङ्घले आन्दोलन भनेर घोषणा गरे पनि माग राखेको भन्न सुहाउलाजस्तो लाग्छ । हामीले व्यवसाय गर्न देऊ र हाम्रा उद्योग बचाइदेऊ भनेर माग राखेको हो । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैङ्कविरुद्धको आन्दोलन सुरु गरे पनि देशभरिका व्यवसायीले यसमा समर्थन गरेका छन् । यद्यपि केही मान्छेका लागि यो आन्दोलन घाँडो बन्न सक्छ ।

केही व्यवसायीको सिन्डिकेट तोड्न यो आन्दोलनको घोषणा गरेका हौँ । हाम्रा मुख्य एजेन्डा भनेको ब्याजदर एकल अङ्कमा फर्किनुपर्यो । १५ प्रतिशतसम्म तिर्न सक्ने हैसियतका व्यवसायी छैनन् । यो सबै व्यवसायीलाई सुकुमबासी बनाउने खेती हो । यस्तै किस्तामा भइरहेको सकसलाई सहजता गर भन्ने छ । यस्तै लिलामी गर्ने प्रक्रिया लम्ब्याउनुपर्छ । व्यवसायीले तिर्छु भनेर लिएको ऋण तिर्न केही समय पाउनुपर्छ । महामारीको समयमा लिलामी नगरेर आत्महत्या गर्ने वातावरण नबनाउन भनेका छौँ ।

अहिले बैङ्कको किस्ता र ब्याज नतिर्ने स्वघोषणा गर्ने क्रम चलेको छ । तपाईंहरूको पनि यही नीति हो ?

बैङ्कको अत्याचार बढेसँगै हामीले पनि बैङ्कको किस्ता र ब्याज तिर्दैनौँ भनिरहेका छौँ । यस्तो ठूलो महामारीमा सहयोग नगरी झनै समस्या पार्ने बैङ्कहरू हामीलाई के काम ? बैङ्कहरूले सबै नेपाली वा उद्योगी व्यवसायीलाई सुकुमबासी बनाउन खोजेको जस्तो देखिन्छ । भोलिका दिनमा बैङ्कले गर्ने सबै कारबाहीलाई आत्मसात गर्दै ब्याज र किस्ता नतिर्ने घोषणा गरेर आन्दोलन नै हुन सक्छ । अबदेखि बैङ्कसँग ऋण कारोबार नै नगर्ने भन्ने पनि हाम्रो लक्ष्य छ ।

यसअघि पनि पटक–पटक ब्याज बढेको इतिहास छ । त्यतिबेला पनि व्यवसायीले बैङ्कसँगको कारोबार नगर्ने भनेर घोषणा गरेका थिए । ती घोषणा लागू भए र ?

अघिल्ला पटकमा ब्याज बढ्दा बजारको वातावरण सहज थियो । बजारमा माग र आपूर्तिको चक्र मिलिरहेको थियो । व्यापार व्यवसाय चलेको थियो । तर अहिले बजारमा माग नै छैन । जसले गर्दा व्यवसायीलाई समस्या आइरहेको छ । तर यस्तो महामारीको समयमा बैङ्कले व्यवसायीलाई मार्ने नीति नै लिए । अहिलेको स्थितिले केही धान्दैन । अहिलेको व्यापारले बैङ्कको किस्ता, घरभाडा, बच्चाको स्कुल फी, सरकारलाई बुुझाउनुपर्ने कर केही धान्दैन । यही कारण व्यवसायी आन्दोलनमा उत्रिनुपरेको छ । घरभाडा बढेको बढ्यै, ब्याज बढेको बढ्यै, करको दायरा बढेको बढ्यै छ तर व्यापार घटेको घट्यै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया