सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै
सारांश
- सशस्त्र प्रहरी बलले मधेस प्रदेशका आठवटै जिल्लामा मनसुन र प्राकृतिक प्रकोपको सामनाका लागि विपद् स्वयंसेवक तयार पार्दैछ।
- प्रत्येक जिल्लाबाट २५ जनाको दरले स्वयंसेवक छनोट गरी २१ दिने तालिम दिइँदै छ, जसले विपद् व्यवस्थापनमा सहयोग गर्नेछन्।
- विपद्को समयमा स्थानीय समुदाय नै पहिलो उद्धारकर्ता हुने भएकाले उनीहरूलाई जिम्मेवार बनाउन खोजिएको छ।
वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपालले मधेस प्रदेशका आठ वटै जिल्लामा मनसुन तथा विभिन्न प्राकृतिक प्रकोपको सामनाका लागि समुदायमा आधारित ‘डिजाष्टर भोलेन्टिर’ (विपद् स्वयंसेवक) तयार पार्ने भएको छ ।
सशस्त्र प्रहरी बल मधेस प्रदेशका बाहिनीपति, सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले प्राकृतिक तथा मनसुनजन्य प्रकोपका हिसाबले उच्च जोखिमयुक्त प्रदेश भएकाले पनि सामुदायमा आधारित विपद् स्वयंसेवक तयार पार्न लागिएको बताए । ‘विपद्का समयमा कमभन्दा कम धनजनको क्षति होस् भन्ने उद्देश्य राखेर नै समुदायलाई नै विपद्सँग लड्ने गरी तयार गर्न लागिएको हो’, उनले भने, ‘प्रदेशका प्रत्येक जिल्लाबाट औसतमा २५ जनाको दरले स्वयंसेवक तयार पार्न लागिरहेका छौँ ।’
सशस्त्र प्रहरीले हाल प्रत्येक जिल्लामा २५ जनालाई २१ दिने विपद् स्वयंसेवक तालिम सञ्चालन गरिरहेको छ । यसका लागि रौतहटमा ३८, महोत्तरीमा २६, सर्लाहीमा २५, धनुषामा २५ र सप्तरीमा २५ गरी १३९ जना छनोट गरिएका छन् । बाँकी तीन जिल्ला बारा, पर्सा र सिरहा पनि २५–२५ जनाका दरले विपद् स्वयंसेवक तयार पार्ने तालिम छिट्टै सञ्चालन गरिने जनाइएको छ ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक ढकालले विपद्को पहिलो उद्धारकर्ता स्थानीय नै हुने भएकाले पनि समुदायलाई बढी जिम्मेवार बनाउन खोजिएको बताए । ‘जहिले पनि विपद्को पहिलो उद्धारकर्ता स्थानीय जनता नै हुने गर्छन्’, उनले भने, ‘यसर्थ स्थानीय समुदायलाई जिम्मेवार बनाए मात्रै न्यून क्षति गर्ने प्रयासले सार्थकता प्राप्त गर्नेछ । कमभन्दा कम मानवीय क्षति होस् भन्ने उद्देश्य राखेर नै विपद् स्वयंसेवक तालिम दिँदै आइरहेका छौँ ।’
ढकालले सबै पालिकाका वडाहरूमा कम्तीमा २५ जना विपद् सूचकहरू तयार भएको र अब विपद्का घटनाबारे तुरुन्त सूचना दिने जनशक्ति निर्माण गरिने जानकारी दिए । यसका लागि प्रदेशका सबै पालिकासँग समन्वय गरी विपद् सूचकको फोन नं सहितको विवरण सङ्कलन भइसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण