बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

निगुरो बेचेर घर खर्चको जोहो गर्दै कुमाल समुदाय

मङ्गलबार, २० जेठ २०८२, ०३ : ३१
मङ्गलबार, २० जेठ २०८२

समाचार सारांश

  • गुल्मीका कुमाल समुदायले जङ्गलमा पाइने निगुरो टिपेर बिक्री गरी घर खर्च चलाउँदै आएका छन्।
  • उनीहरूले निगुरो संकलन गरी स्थानीय बजार र सदरमुकाम तम्घासमा बिक्री गर्छन्, मासिक ३० हजारसम्म कमाइ गर्छन्।
  • निगुरोबाट अचार, तरकारी बनाउन सकिने र यसको बजारमा राम्रो माग रहेको छ।

गुल्मी। जिल्लाको पश्चिमी भेगमा बसोबास गर्ने कुमाल समुदाय निगुरो बिक्री गरेर घर खर्च चलाउँदै आएको छ । उनीहरूले वर्षौँदेखि वन जङ्गलमा पाइने जडीबुटीजन्य तरकारी निगुरो सङ्कलन गरेर बिक्री गरी नुन तेलको जोहो गर्दै आएका छन् । उन्यू  प्रजातिको एक प्रकारको वनस्पति निगुरो तरकारी र अचार खान प्रयोग गरिन्छ । 

विपन्न कुमाल समुदाय बढी मात्रामा यो पेसासँग जोडिएको छ । जेठ महिना सुरु भएपछि असोज महिनासम्म वन पाखामा प्रशस्त मात्रमा निगुरो पाइने गर्दछ । बिहानै उठेपछि डोको र नाम्लो बोकेर जङ्गलसम्म पुगेर डोकोभरि निगुरो टिपेर उनीहरू फर्कने गर्दछन् । यस क्षेत्रमा बसोबास गर्ने कुमाल समुदायसँगै अन्य विपन्न परिवारका सदस्यको दिनचर्या दिनभर जङ्गल र पाखामा निगुरो टिपेर बित्ने गर्दछ।

मनग्य आम्दानी गर्न सकिने भएका कारण त्यस क्षेत्रका कुमाल समुदाय यो पेसालाई अँगाल्दै आएका छन् । उनीहरू आफूले अघिल्लो दिन टिपेको निगुरो दोस्रो दिन बिहानै बिक्रीका लागि स्थानीय बजारदेखि सदरमुकाम तम्घाससम्म आइपुग्छन् । जिल्लाको अर्जै, घमिर, अर्खाबाङ्, नेटा तथा ह्वाङ्दी, मुसिकोट लगायतका जङ्गलमा प्रशस्त मात्रमा निगुरो पाइने गर्दछ । विपन्न परिवारका लागि निगुरो यति बेला राम्रो आम्दानीको मुख्य स्रोत बनेको छ । आफूले निगुरो बिक्री गरेर मासिक रु ३० हजारसम्म कमाउने गरेको इस्मा गाउँपालिका–५ की सरस्वती मुखिया बत्ताउँछिन् । उनलाई त्यसैबाट घर खर्च चलाउन सजिलो भएको छ । 

एक मुठा निगुरो रु ५० मा बिक्री गर्ने गरेको मुखियाले बताइन् । “दिनभर जङ्गलमा पुगेर टिप्ने हो, झरी, घाम, सर्प सबैबाट जोगिनुपर्छ, टिपेर ल्याएपछि बिक्री गर्न त गाह्रो छैन, घर खर्च चलाउन कसैसँग सापट माग्नु परेको छैन,” मुखियाले भनिन् । 

जङ्गलबाट टिपेर ल्याएका वस्तुको गाउँमा खासै महत्त्व नहुने भएका कारण त्यसलाई डोकोमा बोकेर बिक्रीका लागि सदरमुकाम तम्घाससम्म ल्याउने गरिन्छ । यसलाई उत्पादन गर्न कुनै लगानी गर्नु नपर्ने, जङ्गलमा पुगेपछि सित्तैमा टिप्न पाइने र बजारमा राम्रो मूल्य पाइने भएका कारण निगुरो टिप्ने गरिन्छ । जङ्गलबाट टिपेर ल्याएको निगुरोलाई सुरुमा साना–साना मुठा बनाउने र त्यसलाई डोकोमा बोकेर बिक्रीका बजारसम्म पुराउने गरिन्छ ।  

निगुरोले उचित मूल्य पाउने गरे पनि यसलाई टिप्न भने गाह्रो काम भएको इस्मा अमरपुरकी सीता कुमालले बताइन् । “दिनभर जङ्गलमा जाने हो, घाम पानी नभनेर निगुरो टिप्छौँ”, उनले भनिन् । सीता मुखिया मात्र हैन उनीसँगै पसिना पुछ्दै डोकोमा निगुरो बोकेर सदरमुकाम आइपुगेकी चमेली राना निगुरो बिक्री गरेपछि घरपरिवारका सदस्यहरूको आवश्यकता पूरा गर्छिन् । 

“आम्दानी नहुनेलाई घर खर्च चलाउन निकै सजिलो भएको छ” उनले भनिन् । बर्खाको समयमा जङ्गलदेखि निगुरो टिपेर दुई दिनको समय खर्चेर सदरमुकामसम्म आउन उनीहरूलाई त्यत्ति सहज भने छैन । गुल्मीको निगुरो सदरमुकाम तम्घासमा मात्र होइन बुटवलका हाटबजारसम्म पुग्ने गर्दछ । आफन्तलाई कोसेलीको रूपमा पनि निगुरो खोजी खोजी पठाउने प्रचलन छ । बजारमा विषादी प्रयोग गरेका तरकारी खाँदाखाँदै हैरान परेका व्यक्तिका लागि पहाडको जङ्गलबाट टिपेर ल्याएको अर्ग्यानिक निगुरोको बजारमा प्रशस्त माग हुने गर्दछ ।  

निगुरोबाट अचार, तरकारी, चुकौनी लगायतका परिकार बनाउन सकिने र ती परिकारहरू मिठो र स्वादिलो हुने गरेको स्थानीय हरिप्रसाद शर्माले बताए । निगुरो बिक्री गरेर यस क्षेत्रका विपन्न कुमाल समुदायले सिजनमा न्यूनतम रु दश हजारदेखि रु तीस हजारसम्म आम्दानी गर्दै आएका छन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप

छुटाउनुभयो कि ?