बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

संस्थागत सुत्केरीको सङ्ख्या बढाउन नगरपालिकाको ‘कोसेली’

मङ्गलबार, २० जेठ २०८२, ०७ : ४४
मङ्गलबार, २० जेठ २०८२

समाचार सारांश

  • बैतडीको दशरथचन्द नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई 'कोसेली' वितरण सुरु गरेको छ। यसमा पोषणयुक्त खाद्य सामग्री र सरसफाइका सामग्रीहरू समावेश छन्।
  • नगरपालिकाले घरमा हुने सुत्केरीको संख्या घटाउन, आमा र शिशुको स्वास्थ्य सुधार गर्न, र संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न यो कार्यक्रम सुरु गरेको हो।
  • यस वर्ष ४७५ जना सुत्केरी आमालाई 'उपमेयरको कोसेली' वितरण गर्ने लक्ष्य रहेको छ, जसले स्वास्थ्य संस्थामै सुत्केरी हुने संख्या बढाउन मद्दत गर्नेछ।

बैतडी । दशरथचन्द नगरपालिकाले स्वास्थ्य संस्थामा  सुत्केरी हुनेलाई  ‘कोसेली’ प्रदान गर्न सुरु गरेको छ । ‘कोसेली’मा हरलिक्स, काजु, बदाम, दाल र नुनलगायत खाद्य सामग्रीका साथै सरसफाइका सामग्री रहेका छन् ।

घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने उद्देश्यले  ‘उपमेयरको कोसेली’ दिन थालिएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवन जोशीले जानकारी दिए। उनले भने, “चालु आर्थिक वर्षमा माघसम्म स्वास्थ्य संस्थामा सुत्केरी भएका आमाहरूलाई यसअघि नै कोसेली वितरण गरिसकेको थियौँ । माघपछि सुत्केरी भएका आमाहरूलाई अहिले कोसेली वितरण भइरहेको छ ।”

घरमा हुने सुत्केरीलाई शून्य बनाउने, आमा तथा नवजात शिशुको स्वास्थ्य र पोषणमा सुधार ल्याउने, आमा र शिशुको स्वास्थ्यका विषयमा घरपरिवारका सदस्यलाई जागरुक गराउने, मातृ र शिशु मृत्युलाई शून्यमा झार्ने उद्देश्यसहित ‘उपमेयरको कोसेली’ वितरण गर्ने काम भइरहेको जनाएको छ ।  
नगरप्रमुख पुष्करराज जोशीका अनुसार घरमै सुत्केरी हुँदा विभिन्न खालका जटिलता आएर आमा र शिशुको ज्यान जान सक्ने भएकाले संस्थागत सुत्केरीको सङ्ख्या बढाउन कोसेली वितरण गर्ने अभियान सञ्चालन गरिएको हो । 

समुदायमा अझै पनि कतिपय आमाहरूले घरमै बच्चा जन्माइरहेकाले स्वास्थ्य संस्थामै बच्चा जन्माउनेको सङ्ख्या वृद्धिका लागि कोसेलीले सहयोग पुग्ने अपेक्षा गरिएको छ । सुत्केरी अवस्थामा अरु बेलाभन्दा थप पोषिलो खानेकुराको आवश्यकता पर्ने भएकाले कोसेलीमार्फत पोषणसम्बन्धी जागरण फैलाउने उद्देश्य छ । 

नगरपालिकाका उपप्रमुख कौशिला चन्दका अनुसार आमा र शिशुको स्वास्थ्य र पोषणमा सुधार ल्याउन कोसेली दिने कार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने र नगरपालिकालाई नै पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने अर्को उद्देश्य रहेकाले  कोसेली  वितरण गरिरहेका छौँ । यस वर्ष नगरपालिकाभरि चार सय ७५ सुत्केरी आमालाई ‘उपमेयरको कोसेली’ वितरण गर्ने लक्ष्य रहेको छ । ‘उपमेयरको कोसेली’भित्र हरलिक्स, काजु, बदाम, दाल र नुनलगायत खाद्य सामग्रीका साथै सरसफाइका सामग्री राखिएको छ । 

सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य संस्थामा पुर्याउन नगरपालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने गरेको छ । स्वास्थ्य संस्थामै सुत्केरी हुने र सरकारको मापदण्ड अनुसार आठपटक गर्भजाँच गराउने आमालाई सरकारले रु दुई हजार ८०० प्रोत्साहन भत्तासमेत दिँदै आएको छ । यस्तै टिटी खोप, जुकाको औषधि र आइरन चक्की सरकारले गर्भवती तथा सुत्केरीलाई निःशुल्क उपलब्ध गराउँदै आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप

छुटाउनुभयो कि ?