सल्यानका राई नेपालगन्जमा राय, लखनउमा पुग्दा गुप्ता बनेर लुके

समाचार सारांश
- कर्णाली डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्रवीर राय २६० करोड घोटालाको आरोपमा नेपालगन्जमा पक्राउ परेका छन्।
- प्रारम्भिक अनुसन्धानले राय र उनको समूहले २०७० देखि बैंकको रकम अपचलन गरेको देखाएको छ, जसमा ४ अर्ब ९० करोड जोखिममा छ।
- राय बैंक समस्याग्रस्त भएपछि फरार भएर भारतमा लुकेका थिए, र उनले अभयचन्द्र गुप्ताको नामबाट परिचय लुकाए।
काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैँकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय अहिले नेपालगन्जमा प्रहरीको हिरासतमा छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डीएसपी दानबहादुर थापा नेतृत्वको टोलीले उनीमाथि अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि डीएसपीको टोलीलाई नेपालगन्जमा पठाइएको सीआईबीका प्रवक्ता (एसपी) युवराज खड्काले रातोपाटीलाई बताए ।
राय सल्यानका स्थानीय हुन् । उनी २०७९ मा भएको प्रतिनिधिसभाको चुनावमा नेकपा (एमाले) बाट चुनाव लडेका थिए । नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालासँग पराजित उनले १४ हजार मत ल्याएको अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । बिचमा उनी तमलोपामा पनि गए ।
राजेन्द्रवीर सल्यानको राई परिवारमा हुर्किए । नेपालगन्ज बस्न थालेपछि राईबाट उनी राय भए । नागरिकता पनि राय कै थर राखेर बनाएको भेटिएको छ । अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्, ‘म सल्यानको राई हुँ ।’
२०६० साल माघ २२ मा कर्णाली डेभलपमेन्ट बैँकले राष्ट्र बैँकबाट आर्थिक कारोबार गर्ने इजाजत लिएको थियो । फागुन ६ गतेदेखि बैँकले कारोबार सुरु गरे देखिनै राजेन्द्रवीर सो बैँकको हर्ताकर्ता भए । संस्थापक अध्यक्ष र सीईओको रूपमा उनले हालीमुहाली गरिरहे । राय सहितको समूह मिलेर २६० करोड रुपैयाँ घोटाला गरेका प्रारम्भिक अनुसन्धानबाट देखिएको सीआईबीका एआईजी चन्द्रकुवेर खापुङले बताए । उनले भने– ‘२६० करोडभन्दा धेरै घोटाला भएको देखिन्छ ।’
२०८१ पुस १० मा बैँक समस्याग्रस्त घोषित भयो । उनलाई २०६९ मा राष्ट्रबैँकले व्यवस्थापनबाट हटाएको थियो । तर, पछि कागजात मिलाएर फेरि बैँकमा इन्ट्री गरेर हालिमुहाली गरिरहे । कर्णाली डेभलपमेन्ट बैँकको कार्यक्षेत्र बाँके, बर्दिया र दाङ जिल्ला मात्रै हो । २०८१ पुस ११ बाट राष्ट्र बैँकको टेकओभर गरेसँगै राय फरार भए । २०८१ माघ ६ मा उनी विरुद्ध बैँकिङ कसुर तथा सजाय ऐन–२०६४ अनुसारको कसुरमा सीआईबीमा जाहेरी दर्ता भएको थियो ।
आफूविरुद्ध अनुसन्धान सुरु भएपछि उनी भागेर भारत पुगे । लुकेर नेपाल र भारत आउजाउ गरिरहने राय पछिल्लो समय लखनउमा अपार्टमेन्टमा बस्ने गरेको भेटिएको छ । पत्नीलाई पनि उनले लखनउमै लगेर राखे । भारतमा बस्दा राजेन्द्रवीर रायको पहिचान लुकाए । सीआईबीका एक जना उच्च अधिकृतका अनुसार उनले अभयचन्द्र गुप्ताको नामबाट रासन कार्ड बनाएको भेटिएको छ ।
ती अधिकृत भन्छन्, ‘चिकित्सकसँग समय लिँदा पनि गुप्ताकै नामबाट भेटेर चेकजाँच गराएको देखिन्छ ।’ पछिल्लो समय उनी बैँकको सञ्चालक समितिको अध्यक्ष भएर काम गरिरहेका थिए ।
२०७० बाट अपचलन
कर्णाली डेभलपमेन्ट बैँकमा खाता सञ्चालकहरूको ४ अर्ब ९० करोडभन्दा धेरै बचत रकम जोखिममा परेको छ । सो रकममध्ये २६० करोड राय समूहले अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । अपचलनमा उनीसहित अरू ७ जना संलग्न देखिएका छन् ।
उनीहरूले २०७० बाट अपचलन सुरु गरेको भेटिएको छ । बैँकमा दिनभर जम्मा भएको रकम साँझ रायले घरमा लगेर राख्ने गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् । साबुन र नुडल्स फ्याक्ट्री खडा गरेर उनीहरूले लगानी गर्ने गरेका थिए । बैँकको बचत रकम जग्गा कारोबारमा आफैँले लगानी गरेर राय सहितको समूहले अपचलन गरेका हुन् ।
चेक क्लियरिङमा नक्कली डिपोजिट देखाएर अपचलन गरेको अनुसन्धानबाट थाहा भएको छ । सेयर जारी गरेर बैँकमा रकम इन्ट्री नदेखाउने र सो रकम आफ्नै नामबाट भुक्तानी गरेर उनीहरूले बैँकलाई नोक्सान गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले संसदीय समितिबाटै माग्यो गृहमन्त्री लेखकको राजीनामा
-
गृहमन्त्रीको गतिविधिले शङ्का पैदा भयो : माओवादी केन्द्र
-
एकदिवसीय शृङ्खलामा इङ्गल्यान्डसामु निरीह बन्यो वेस्ट इन्डिज
-
भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिन्छु : गृहमन्त्री लेखक
-
राजावादी आन्दोलन रोकिएपछि राप्रपा नेताहरूका लागि सुरक्षाकर्मी पठाउँछौँ : गृहमन्त्री लेखक
-
फिल्म डेब्यु गर्दै ‘सक्किगोनि’की सुरक्षा