बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन कांग्रेस, एमाले र माओवादी केन्द्र सकारात्मक छन्’

बुधबार, १० फागुन २०७९, १४ : २९
बुधबार, १० फागुन २०७९

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले राष्ट्रपतिमा पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई अघि सारेको छ । त्यसमा राष्ट्रिय सहमति जुटाउन अध्यक्ष ठाकुरसहित पार्टीका शीर्ष नेताले विभिन्न दलका नेताहरूलाई भेटिरहेका छन् । लोसपाले महन्थ ठाकुरको नाममा राष्ट्रिय सहमति बनाउन दलहरूलाई प्रस्ताव गरेको छ ।

प्रारम्भिक छलफलमा सबै दल सकारात्मक देखिएका छन् तर ती दलका नेताहरूले आ–आफ्नो पार्टीमा छलफल गरेर मात्र कुनै निष्कर्षमा पुग्ने भनेका छन् । मुख्य रूपमा कांग्रेस र एमालेले राष्ट्रपतिमा दाबी गर्दै आएका छन् ।

एमालेले माओवादी केन्द्रसँग मङ्सिर १० गते भएको सहमति अनुसार नै आफूले राष्ट्रपति पाउनुपर्ने अडान दोहोर्‍याइरहेको छ भने माओवादी केन्द्रले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने अडान राखेको छ ।

माओवादी केन्द्र र एमालेको जुधाइमा कांग्रेसले फाइदा लिन खोजेको छ । राष्ट्रपति पाउनेमा कांग्रेस आशावादी देखिन्छ । त्यही अनुसार तयारी पनि थालेको छ ।

यही बीचमा लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि राष्ट्रपतिका लागि प्रस्ताव अघि सरेका छन् । यस विषयमा कांग्रेस, माओवादी र एमालेको धारणा कस्तो छ त, महन्थ ठाकुर राष्ट्रपति बन्ने सम्भावना कति छ ? यसै सेरोफेरोमा लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीसँग रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंश :

लोसपा अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा अघि सार्नुको आधार के हो ?

–अहिले राष्ट्रपतिका लागि जसरी छलफल भइरहेको छ, त्यसमा सबभन्दा उपयुक्त पात्र महन्थ ठाकुरजी नै हुनुहुन्छ । सुरुदेखि नै राष्ट्रपति पद विवादमा आउने गरेको छ । राष्ट्रपति जुन पार्टीबाट बनेका हुन्छन्, त्यही पार्टीको स्वार्थमा चल्ने गरेको गुनासो व्याप्त छ । देशको राष्ट्रपति हुन नसकेको गुनासो आइरहेका छन् तर महन्थ ठाकुरमा त्यस्तो समस्या हुनेछैन ।

देशको राजनीतिक अवस्था बुझेको, देशको हरेक परिवर्तनको लडाइँमा संलग्न भएको, राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा परिचित भएको, हालसम्म कुनै पनि विवादमा नमुछिएको, सबै दलका सबै नेताका प्रिय नेता भएको, शैक्षिक योग्यतालगायत देशले खोजेको हरेक योग्यतामा उहाँ अब्बल भएको कारण हामीले उहाँलाई अघि सारेका हौं ।

तपाईहरुले उहाँलाई अघिमात्र सार्नु भएको हो कि राष्ट्रपति बन्नुहुन्छ ?

–अहिले देशमा राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउनेबारे छलफल सुरु भएको छ । राष्ट्रिय सहमतिका लागि महन्थ ठाकुरजी उपयुक्त पात्र हुनुहुन्छ । उहाँमा राष्ट्रिय सहमति बन्नुपर्छ भन्ने हाम्रो अपेक्षा छ । राष्ट्रिय सहमति बन्यो भने महन्थजी राष्ट्रपति बन्नुहुन्छ । र, त्यसका लागि विभिन्न दलका नेताहरूलाई भेटेर छलफल अघि बढाएका छौँ ।

हिजोदेखि नेताहरूसँग भेटघाट गर्दै हुनुहुन्छ, कस्तो आश्वासन पाउनु भएको छ ?

–जो–जोसँग भेट्यौँ, सबैले सकारात्मक कुरा गर्नुभएको छ । सबैले महन्थ ठाकुरजीलाई उपयुक्त पात्र भन्नुभएको छ । अहिलेसम्म राष्ट्रपतिमा जतिको नाम आएको छ, त्यसमा महन्थजी उपयुक्त पात्र रहनु भएको सबैले भन्नुभएको छ । यसमा छलफल गरौँ भन्नुभएको छ । हेरौँ, अवस्था कस्तो हुँदो रहेछ ।

प्रधानमन्त्री प्रचण्डसँग हिजो भेट गर्नुभयो, उहाँबाट कस्तो रेस्पोन्स पाउनु भएको छ ?

–उहाँले पनि ‘महन्थजी राष्ट्रपतिका लागि उपयुक्त पात्र हुनुहुन्छ, राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चामा हुनुहुन्छ । उहाँको बारेमा म जानकार छु, विभिन्न ठाउँबाट उहाँको लागि प्रस्ताव पनि आएका छन् । छलफल गर्दै जाऔँ, उहाँका लागि पनि सहमतिको प्रयास गरौँ । उहाँ राष्ट्रपति भएपछि निकै नै राम्रो हुन्छ । देश र जनताले पहिचान गरेको व्यक्ति हुनुहुन्छ । सहमति भयो भने उहाँलाई अगाडि बढाऔँ’ भन्नुभएको छ ।

अहिलेसम्म राष्ट्रपति को हुने, कसको नाममा सहमति गर्ने भन्ने टुङ्गो लागिसकेको छैन । विभिन्न दलबाट विभिन्न व्यक्तिको नाम आइरहेका छन् तर ठ्याक्कै कुन व्यक्तिमा छलफल गर्ने भन्ने विषय अझै बनेको छैन । त्यसैले छलफल गर्दै जाऔँ, महन्थ ठाकुरमा पनि सहमति हुनसक्छ भन्ने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले महन्थजीको बारेमा आफ्नो दल तथा अन्य दलका नेताहरूसँग छलफल गर्ने पनि भन्नुभएको छ । हेरौँ, कुरा कसरी अगाडि बढ्छ !

हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गर्नुभएको थियो, महन्थ ठाकुरको बारेमा उहाँको धारणा के पाउनुभयो ?

–उहाँले पनि राष्ट्रिय सहमति बन्न सक्यो भने महन्थजी जस्तो उपयुक्त पात्र अरु कोही छैन । उहाँको बारेमा पनि कुरा गर्न सकिन्छ भन्नुभयो । तर उहाँले माओवादी केन्द्रसँग सरकार गठन गर्ने बेला भएको सहमतिकै आधारमा अघि बढ्ने अहिलेसम्मको बटमलाइन रहेको भन्नु भएको छ । ‘माओवादी केन्द्रसँग भएको सहमतिकै आधारमा हामी अघि बढी रहेका छौँ । माओवादी केन्द्रसँग भएको सहमति हामी तोड्ने पक्षमा छैनौँ तर राष्ट्रिय सहमति नै गर्ने अवस्था आयो भने महन्थ ठाकुरमा गर्न सकिन्छ’ भनेर उहाँले हामीलाई भन्नुभयो ।

पहिला पनि ओलीजीले हाम्रा पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग यस विषयमा छलफल गर्नु भएको थियो । त्यतिबेला पनि यस्तै सकारात्मक कुरा भएको थियो ।

कांग्रेसका सभापति शेरबहादुर देउवाको कस्तो रेस्पोन्स पाउनुभयो त ?

–आज बिहान हामी कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न गएका थियौँ । उहाँ पनि महन्थ ठाकुरको प्रस्तावमा सकारात्मक हुनुहुन्छ । उहाँले पनि राष्ट्रपतिका लागि महन्थजी उपयुक्त पात्र हुनुहुन्छ, सहमति बन्न सक्यो भने मलाई कुनै आपत्ति हुँदैन भन्नुभयो । यस विषयमा पार्टीमा छलफल गरेर थप कुराकानी गर्ने बचन उहाँले दिनुभएको छ ।

समग्रमा तीन मुख्य दलसँग कुरा गर्दा त महन्थ ठाकुरप्रति सबै दल सकारात्मक नै देखिएको बताउनु भयो, सहमतिको बाधक के होला जस्तो लाग्छ तपाईंलाई ?

–उहाँहरूसँग यो प्रारम्भिक छलफल मात्र हो । लोसपाले आफ्नो प्रस्ताव राखेको हो । कुराकानी सकारात्मक भए पनि उहाँहरूले पनि आ–आफ्नो पार्टीमा छलफल गर्नुहुन्छ । त्यसपछि हुने छलफलले एउटा निष्कर्षमा पुग्न सकिन्छ । यो प्रारम्भिक छलफलले मात्र उत्साहित हुने अवस्था छैन । अहिलेलाई कुरा सकारात्मक भएको छ भनौं, छलफल गर्न अझै बाँकी छ । उहाँहरु सबैजनाले आआफ्नो पार्टीमा छलफल गरेर पुनः छलफल गरौँला भन्नुभएको छ, हेरौँ के हुन्छ !

मधेसवादी दलहरुको बीचमा कुराकानी भएको छ कि छैन ?

–रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी र सीके राउतको जनमत पार्टीसँग छलफल भएको छ । राष्ट्रपतिमा महन्थ ठाकुरको नाममा सहयोग गर्न भनेका छौँ । महन्थ ठाकुरको नाममा सहमति भयो भने उहाँलाई समर्थन गर्न कुनै गाह्रो हुँदैन भनेर उहाँहरूले प्रस्ट भन्नुभएको छ । तर यस विषयमा जसपासँग छलफल भएको छैन, आज या भोलिसम्म जसपासँग पनि छलफल हुन्छ । मलाई लाग्छ राष्ट्रपतिमा महन्थ ठाकुरको नाममा कसैलाई आपत्ति हुनेछैन । मधेस केन्द्रित दलहरू सबै सकारात्मक हुन्छन् र सहयोग पनि गर्छन् जस्तो लाग्छ ।

यस विषयमा पार्टीमा आधिकारिक निर्णय भएको छ कि छैन ?

–हामी पार्टीमा छलफल गरेरै अगाडि बढेका छौँ । आवश्यक प¥यो भने थप छलफल गरौँला । राष्ट्रपतिलगायत अन्य विषयमा छलफल नियमित भइरहेका छन् । हामी नियमित बस्छौँ । त्यही छलफलबाट अगाडि बढेका छौँ । आवश्यक परेमा हामी पुनः बस्छौँ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप