बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
अपडेट

इन्धनको मूल्य समायोजनसँगै गाडीभाडा घटाउने तयारी

बुधबार, १७ असार २०८३, १४ : २६
बुधबार, १७ असार २०८३

सारांश

  • यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै गाडीभाडा समायोजन गर्ने तयारी गरेको छ ।
  • विभागका निर्देशक मणिराम भुसालले इन्धनको मूल्य घटेको आधारमा अन्तरप्रदेशमा चल्ने सवारी साधनको भाडादर समायोजन गरिने जानकारी दिए ।
  • व्यवसायी र उपभोक्ता इन्धनको मूल्य समायोजनसँगै भाडादर समायोजन गर्न सहमत देखिए पनि कति घटाउने भन्नेमा एकमत छैनन् ।

काठमाडौं । यातायात व्यवस्था विभागले गाडीभाडा घटाउने तयारी गरेको छ । नेपाल आयल निगमले बुधबार बिहानदेखि लागू हुनेगरी मंगलबार पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेसँगै विभागले नयाँ मूल्य अनुसार भाडादर समायोगन गर्ने तयारी गरेको हो । 

विभागका निर्देशक मणिराम भुसालले इन्धनको मूल्य घटेको आधारमा अन्तरप्रदेशमा चल्ने सवारी साधनको भाडादर आजै समायोजन गर्ने तयारी गरेको जानकारी दिए । 

‘हामी नयाँ मूल्य अनुसार भाडादर समायोजन गर्दैछौं, आजै साँझसम्म सूचना जारी हुन सक्छ,’ भुसालले भने । 

इन्धनको मूल्य समायोजन भएसँगै भाडादर समेत तत्कालै समायोजन गर्नुपर्छ भन्नेमा व्यवसायी र उपभोक्ता सहमत देखिन्छन् । यद्यपि कति घटाउने भन्नेमा भने उनीहरुबीच एकमत छैन ।

मूल्य समायोजनसँगै आजै विहान नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले भाडादर समायोजन गर्न आग्रह गरे । उनले पेट्रोलियम पदार्थको मूल्यमा हुने उतारचढावसँगै सार्वजनिक सवारी साधनको भाडा पनि पारदर्शी, वैज्ञानिक र वस्तुगत आधारमा समायोजन हुनु आवश्यक भएको भन्दै यसको कार्यान्वयन तत्काल गर्न आग्रह गरे । 

‘इन्धनको मूल्य वृद्धि हुँदा भाडा बढाउने निर्णय हुने र मूल्य घट्दा समयमै भाडा समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसायी दुवै पक्षमा अन्योल सिर्जना गर्ने गरेको छ,’ उनले भने, ‘सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्य मात्र होइन, सवारी साधनको सञ्चालन खर्च, मर्मतसम्भार, बीमा, श्रमिकको पारिश्रमिक, स्पेयर पार्ट्सको मूल्य, बैंकिङ लागत तथा समग्र आर्थिक सूचकलाई समेत वैज्ञानिक आधारमा मूल्याङ्कन गरिनुपर्छ। यातायात क्षेत्रलाई दिगो, व्यवस्थित र विश्वसनीय बनाउन सरकार, नियामक निकाय, व्यवसायी तथा उपभोक्ताबीच आपसी विश्वास कायम हुनु जरुरी छ।’

अहिले सरकारले तोकेको भाडादरमा ३५ प्रतिशत भार इन्धनको मूल्य र बाँकी ६५ प्रतिशत सवारी साधन, चालक सहचालक लगायतको तलब तथा ज्याला, पार्टपूर्जा लगायतलाई भार दिने गरीएको छ । मूल्य समायोजन हुँदा तिनैको मूल्यका आधारमा हुने गरेको छ । अरु मूल्यलाई कायमै राखेर इन्धनको भार अनुसार मूल्य समायोजन गर्नुपर्ने सिटौलाको तर्क छ । 

तर, उपभोक्ताकर्मीहरु भने यसअघि इन्धनको मूल्य बढ्दा जुन दरमा भाडा बढेको थियो घट्दा पनि त्यही दरमा घट्नुपर्नेमा जोड दिन्छन् । उपभोक्ताकर्मी माधव तिमल्सिना वैज्ञानिक भाडादरको नाममा नाममात्रको भाडा घटाउने काम आफूहरुलाई स्वीकार्य नहुने बताउँछन् । 

‘इन्धनको मूल्य बढ्दा सबै वस्तुको मूल्य बढेको भनेर धेरै भाडा बढाइयो, मूल्य घटेपछि अरु वस्तुको चाहिँ मूल्य घटेको छैन भन्न पाइँदैन, वैज्ञानिक मूल्य समायोजनको नाममा उपभोक्तालाई ऊ७्न पाइँदैन,’ तिवारीले भने । 

अन्तरप्रदेश भाडादर समायोजन भएपछि प्रदेशले समेत सोही अनुसार भाडादर समायोजनको तयारी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप