बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

फ्रान्सको खतरनाक लय : विपक्षीलाई तर्साउँदै ‘सुपरस्टार’हरूको टोली

बुधबार, १७ असार २०८३, १४ : ३०
बुधबार, १७ असार २०८३

न्यु जर्सी । फ्रान्सका विश्वकप प्रतिद्वन्द्वीहरू उनीहरूको खतरनाक फिनिसिङदेखि मात्र डराउनु पर्ने अवस्था छैन । 

यो निकै प्रतिभाशाली ‘लेस ब्लुज’ टोलीको भावना र एकताले पनि प्रतियोगितामा बाँकी रहेका टोलीहरूलाई चिन्तित बनाएको हुनुपर्छ । यो कुरा मंगलबार स्विडेनलाई ३-० ले हराउँदा स्पष्ट रूपमा देखिएको थियो ।

उत्कृष्ट पहिलो गोलपछि फ्रान्सका सर्वकालीन सर्वाधिक गोलकर्ता किलियन एम्बाप्पे सिधै आफ्नो बेन्चतर्फ दौडिएर प्रशिक्षक डिडियर डेसच्याम्प्सलाई अँगालो हाले । आफ्नी आमाको अन्त्येष्टिमा सहभागी हुन फ्रान्स गएर फर्केपछि मुख्य प्रशिक्षक पहिलो पटक डगआउटमा फर्केका थिए । 

यो एउटा निकै भावुक क्षण थियो । त्यसपछि एम्बाप्पे र डेसच्याम्प्ससँग टोलीका अन्य सदस्य पनि मिसिए र सबैले सामूहिक अँगालो हाले ।

france

केही भावुक दिनहरूपछि डेसच्याम्प्सको अनुहारमा मुस्कान फर्किएको थियो । न्यु जर्सीको चर्को घाममा उत्कृष्ट खेल प्रदर्शन गर्दै फ्रान्सले जुलाई ४ मा फिलाडेल्फियामा पाराग्वेसँगको अन्तिम १६ को भिडन्त पक्का गर्‍यो। 

खेलपछि डेसच्याम्प्सले भने, ‘यो समूह एकजुट छ र म यहाँ नहुँदा पनि उनीहरूले उत्कृष्ट नतिजा दिए । हुन त समूहको टिम स्पिरिटले मात्रै म्याच जिताउँदैन । तर यो नहुने हो भने खेल हार्न सकिन्छ भन्ने मलाई थाहा छ । सामूहिक शक्ति सबै कुराभन्दा माथि छ ।’

मिडफिल्डर ओरेलियन चुआमेनीले थपे, ‘प्रशिक्षक कठिन समयबाट गुज्रिरहेका छन् भन्ने हामीलाई थाहा छ, हामी उनलाई सकेसम्म खुसी राख्न आफ्नो तर्फबाट सबै कुरा दिने प्रयास गरिरहेका छौँ ।’

ब्राडली बार्कोलाले खेललाई २-० को स्थितिमा पुर्‍याए । त्यसपछि एम्बाप्पेले आफ्नो दोस्रो गोल गर्दै गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका लियोनल मेस्सीसँगै ६ गोलको बराबरी गरे । इंग्ल्याण्डका पूर्वस्ट्राइकर इयान राइटले भने, ‘यस्तो क्षमतालाई रोक्न सकिँदैन । फ्रान्स मैले विश्वकप प्रतियोगितामा देखेको अहिलेसम्मकै स्पष्ट दाबेदारमध्ये एक हो ।’ 

सन् १९९८ मा फ्रान्सबाट विश्वकप जितेका राइटका पूर्वआर्सनल टिममेट प्याट्रिक भिएराले थपे, ‘उनीहरूले सबैलाई आफूहरूलाई हराउन गाह्रो छ भन्ने देखाइदिए ।’ उनको भनाइ गलत थिएन ।

एम्बाप्पेको उत्कृष्ट फिनिसिङसँगै माइकल ओलिसेले थप दुई असिस्ट गरे । यससँगै यस प्रतियोगितामा उनको असिस्ट संख्या ५ पुगेको छ । लगातार पाँच वटा विश्वकप खेलमा तीन वा सोभन्दा बढी गोल गर्ने फ्रान्स पहिलो टोली बनेको छ । 

यो यस्तो उत्साहजनक प्रदर्शन थियो, जसले रंगशालाभित्र रहेका ८० हजार भाग्यशाली दर्शकलाई एउटा प्रश्न गर्न बाध्य बनायो- फ्रान्सको यो २०२६ को टोलीलाई रोक्न कोही सक्षम छ ?

  • ‘मैले यो भन्दा राम्रो टोली देखेको छैन’

कतारमा भएको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टीमा भोगेको पीडाको चार वर्षपछि ‘लेस ब्लुज’ यस पटक त्यो गल्ती सुधार्दै उपाधिसम्म पुग्न कटिबद्ध देखिन्छ । स्विडेनविरुद्ध उनीहरूले धेरै अवसर गुमाए । उनीहरूले २५ पटक गोलको प्रयास गरेका थिए । 

सन् १९९८ यता एउटै विश्वकप खेलमा फ्रान्सको यो सबैभन्दा धेरै प्रहार हो । यद्यपि अमेरिकामा खेलेका चार खेलमा फ्रान्सले १३ गोल गरिसकेको छ र उनीहरूको व्यक्तिगत तथ्यांक अर्कै स्तरमा छ ।

kyln mbappe

बालोन डि’ओर विजेता उस्मान डेम्बेलेले ६ वटा गोलमा योगदान दिएका छन् जसमा चार गोल र दुई असिस्ट समावेश छ । माइकल ओलिसेले ५ असिस्ट गरेका छन् र उनको एउटा उत्कृष्ट एक्रोबेटिक प्रहार पोस्टमा लागेर फर्किएको थियो । 

तर एम्बाप्पेको रूपमा उनीहरूसँग आफ्नो करियरको उत्कृष्ट र धारिलो लयमा रहेको खेलाडी छ । उसले आफू किन विश्वकै उत्कृष्ट फिनिसरमध्ये एक हो भन्ने प्रमाणित गरिरहेको छ ।

गोल्डेन बुटको दौडमा बराबरी गर्नुका साथै रियल म्याड्रिडका यी फरवार्डको विश्वकपमा १८ गोल पुगेको छ । उनी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता मेस्सीभन्दा मात्र एक गोलले पछाडि छन् । फ्रान्सका कप्तानले सात फरक विश्वकप खेलमा दुई वा सोभन्दा बढी गोल गरेका छन् । यो अन्य कुनै पनि खेलाडीको भन्दा तीनले बढी हो ।

इंग्ल्याण्डका पूर्व फुलब्याक ग्यारी नेभिलले आईटीभी स्पोर्टसँग भने, ‘हामीले फ्रान्सबाट सटिक र खतरनाक खेल देख्यौं । खेल सुरु गर्ने ती अग्रपंक्तिका चार खेलाडी एम्बाप्पे, डेम्बेले, ओलिसे र बार्कोलाले प्रतियोगिताका हरेक डिफेन्डरलाई तर्साउनेछन् । सत्य भन्नुपर्दा उनीहरूलाई कसरी रोक्ने मलाई थाहा छैन । उनीहरू एक स्तर माथि छन् । ब्राजिलले अन्तिम मिनेटमा जित्यो, जर्मनी र नेदरल्यान्ड्स बाहिरिए । तर फ्रान्सले यस चरणमा कसरी खेल्ने भनेर अरू सबैलाई देखाइरहेको छ । अरू टोलीले उनीहरूलाई हेर्दै सोचिरहेका छन्- हामीले पुग्नुपर्ने स्तर यही हो ।’

स्विडेनका प्रशिक्षक ग्राहम पोटरले समेत स्वीकार गर्दै भने, ‘यस्तो फ्रान्स टोलीसँग हार्दैमा बाहिरिनु कुनै अपमान होइन । मैले यो भन्दा राम्रो टोली देखेको छैन ।’

  • ‘सुपरस्टारहरूले भरिएको टोली’

ओलिसेले ६ वर्षको उमेरमा हेस एन्ड यिडिङ युनाइटेडबाट आफ्नो फुटबल यात्रा सुरु गरेको थियो । १८ वर्षपछि क्रिस्टल प्यालेसका यी पूर्वखेलाडीले विश्वकै सबैभन्दा ठूलो मञ्चमा आफू कति उत्कृष्ट प्रतिभा हो भनेर दुनियाँलाई देखाइरहेका छन् । नाइजेरियन बुबा र फ्रान्सेली-अल्जेरियन आमाबाट ह्यामरस्मिथमा जन्मिएको ओलिसे सन् १९९४ यता एउटै विश्वकप प्रतियोगितामा पाँच वा सोभन्दा बढी असिस्ट गर्ने पहिलो खेलाडी बनेका छन् ।

france 2

डेसच्याम्प्सले थपे, ‘माइकलले उच्च स्तरको फुटबल खेलिरहेका छन् । उनी टोलीभित्र एक प्रमुख प्रभावकारी खेलाडी हुन् र स्ट्राइकर र डिफेन्स बिचको कडी हो । उनी अलि अन्तर्मुखी स्वभावका छन्, तर मैदानमा भने उनी अन्तर्मुखी छैनन् ।’

यो फ्रान्सेली टोलीले प्रत्येक खेलमा नयाँ कीर्तिमान बनाइरहेको छ । अमेरिकामा डेम्बेले र एम्बाप्पे मिलेर ६ गोल गरेका छन् । जसमा डेम्बेलेले एम्बाप्पेलाई चार असिस्ट र एम्बाप्पेले डेम्बेलेलाई दुई असिस्ट दिएका छन् । सन् १९६६ यता विश्वकपमा कुनै पनि दुई खेलाडीले मिलेर गरेको यो कीर्तिमानी साझेदारी हो ।

स्कटल्याण्डका पूर्वस्ट्राइकर एली म्याककोइस्टले आईटीभी स्पोर्टसँग भने, ‘उनीहरूको अग्रपंक्तिमा सुपरस्टारहरू मात्र भरिएका छन् । यसको अर्को कुनै व्याख्या छैन । उनीहरू उपाधिका दाबेदार हुन् । दाबेदारले सधैँ जित्छन् भन्ने छैन, तर उनीहरू दाबेदार हुनुको एउटा कारण छ जुन हामीले आज देख्यौँ ।’

france-return-to-boston-base-camp-after-reaching-fifa-world-cup-2026-round-of-16-1200x900

  • ‘कृपया, हतार नगरौँ’

यदि फ्रान्सले लगातार पाँचौँ जित निकाल्दै पाराग्वेलाई हरायो भने बिहीबार जुलाई ९ मा बोस्टन रंगशालामा हुने क्वार्टरफाइनलमा सह-आयोजक क्यानडा र मोरक्कोबिचको विजेतासँग खेल्नेछ । तर डेसच्याम्प्स अहिले नै धेरै अगाडिको कुरा सोच्न चाहँदैन । खेलपछिको पत्रकार सम्मेलनमा फ्रान्स उपाधिसम्म पुग्न सक्छ भनी सोधिएको प्रश्नमा उनले भने, ‘कृपया, हतार नगरौं ।’

उनले थप भने, ‘सुधार गर्ने ठाउँ सधैं रहन्छ र सबै कुरा पूर्ण हुँदैन । हामी अन्तिम १६ मा पुगेका छौँ । यसको सम्मान गरौँ । हामीबाट के अपेक्षा गरिएको छ भन्ने हामीलाई थाहा छ । सुरुवाती १५ मिनेटमा अलि कमजोर देखिए पनि हामीले गर्नुपर्ने काम गर्‍यौँ । पहिलो हाफमा हामी अझै राम्रो गर्न सक्थ्यौँ । हामी अन्तिम १६ मा पुगेका छौँ, तर यो अन्तिम १६ मात्र हो । हामी शान्त रहनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप