शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
कला अभिलेखीकरण

एक दम्पतीको प्यारलल जर्नी : महिलाका तीन नेत्रदेखि जहाज बोकेको नरभैँसीसम्म

शनिबार, १३ फागुन २०७९, ०८ : ००
शनिबार, १३ फागुन २०७९

गएको ३ फेब्रुअरीमा कलाकार दम्पती (एरिना र आशा)को सामूहिक कला प्रदर्शनी भयो । कलाहरू छ्यासमिस (मिसाएर) नराखेर छुट्टाछुट्टै राख्ने हो भने दुई कलाकारको प्रदर्शनीलाई पनि ‘एकल कला प्रदर्शनी’कै रूपमा हेर्ने चलन छ । अर्थात् एकैपल्ट, एकै ठाउँमा दुई अलग–अलग एकल कला प्रदर्शनी भएको मान्ने प्रचलन छ । तर यस कला प्रदर्शनीमा कलाहरू छ्यासमिस रूपमा प्रदर्शन गरिएकाले यसलाई ‘दुई व्यक्तीय कला प्रदर्शनी’ भन्ने नामाकरण उपयुक्त हुन्छ । 

६० को दशकमा मूर्धन्य कलाकार लक्ष्मण श्रेष्ठले भारतीय एक कलाकारसँग विवाह बन्धनमा बाँधिएपछि सुरु भएको हो, कलाकार जोडीको प्रदर्शन परम्परा । अहिले नेपाली कला क्षेत्रमा यो परम्परा झाँगिन गएको छ । दुःख गरेर मुम्बईको जेजे स्कुल अफ आर्ट पढ्न गएका लक्ष्मण श्रेष्ठ, आफ्नै सहपाठीसँग विवाह बन्धनमा बाँधिएका थिए । आज नेपालमा मात्र होइन, साउथ एसियामा गिनेचुनेका कलाकारका रूपमा उनी चिनिन्छन् । मुम्बईपछि बेलायतबाट उच्च शिक्षा लिई फर्केपछि उनले कोरेका ठुल्ठूला साइजका अमूर्त कला गुणात्मक हिसाबले अब्बल मानिन थाले । अहिले उनको कला करोडौँमा बिक्री हुने गर्दछ । विश्वका ‘आर्ट कलेक्टर’ उनका सिर्जना कहिले आउँछ भनी पर्खिबसेका हुन्छन् । यो उचाइमा अन्य नेपाली चित्रकार पुग्न सकेका छैनन् । यतिखेर भारतमा बस्दै आएका उनी नेपालमा आधुनिककला भित्र्याउनेमध्ये एक सशक्त कलाकार थिए । 

आजसम्म आइपुग्दा थुप्रै कलाकार जोडी (दम्पती) कला क्षेत्रमा निरन्तर लागिरहेका छन् । सँगसँगै दिनरात नभनी निरन्तर घोटिएर काम गर्नुपर्दा वा गरिरहँदा कला सँगसँगै मन पनि मिल्न गएको देखिन्छ । पहिलेपहिले परिवारका सबै मिलेर एउटै कला बनाउने गर्दथे (पौभा, थाङ्का र विशेष गरेर नेवारी लोककलाहरू) । यस्ता कला व्यावसायिक रूपमा वा संस्कारमा आबद्ध भएर भक्तिभावका साथ बनाइन्थ्यो । एउटाले रेखा खिच्ने, अर्कोले रंग भर्ने, अर्कोले फिनिसिङ गर्ने, अर्कोले अरु आवश्यक कार्य गर्ने हुँदा पहिले यस्ता कलामा नाम लेख्ने प्रचलन थिएन । अहिले पनि एउटै परिवारजस्तै भएर सबैजसो कलाकार मिलेर एक प्रकारका समसामयिक कला बनाउने गर्छन् । जसलाई ‘कोल्याबोरेटिभ आर्ट’ भन्ने चलन छ । 

तेस्रो आँखामा विशेष जोड दिनुले महिला आफैँमा शक्तिशाली हुन् भन्ने उनको अवधारणा, विचार र विश्वास बुझिन्छ । उनका चित्रले यही बोलिरहेका छन् कि महिला कसैबाट अपहेलित हुनपर्दैन, मात्र आफ्नो तेस्रो आँखा खोल्नुपर्छ, तेस्रो आँखा खुलेपछि वा खुलाएपछि स्वतः महिला सशक्तीकरण भइहाल्छन् । 

रमाइलो गरीगरी केही दिन लगाएर यस्ता कला बनाउने हुँँदा स्वभावतः सँगै काम गर्ने युवा कलाकार आपसमा आकर्षित हुन सक्छन् । यसरी बिहेसम्म पुग्दा के कुरा राम्रो देखिएको छ भने, उनीहरु आफ्नो जातपात, धर्म–संस्कृति, संस्कारभन्दा माथि उठेर मात्र मानव हुनुको अर्थ र उदाहरण बनेका छन् । ‘काष्ठमण्डप’ कला समूहमा सँगै बसेर काम गर्दागर्दै एरिना ताम्राकार (श्रीमती) र आशा डंगोल (श्रीमान्) एक भएका हुन् । बिहेपछि पनि यी कलाकारले पहिलेको पहिचान, थर र गोत्रलाई परिवर्तन गरेका छैनन् । 

यो कला प्रदर्शनी एमक्युब ग्यालरीमा भएको थियो । कलाकार मनीषलाल श्रेष्ठ आफैँले आफ्नो निजी घरमा कला ग्यालरी राखेर ‘कला हब’जस्तै बनाएका छन्, रेस्टुराँसहितको यस ग्यालरीमा कला प्रदर्शनी र कलाका विभिन्न कार्यक्रम निरन्तर भइरहन्छन् । बाहिरबाट आएका कलाकार उनीकहाँ नै बस्छन् । यहीँ बसेर उनीहरुले कला सिर्जना पनि गर्छन् । विशेष गरेर युवा कलाकारको जमघट हुने हुँदा यहाँ अत्याधुनिक कलाका प्रमुख धार (पर्फमेन्स, इन्स्टलेसन, इन्टर्‍याक्टिभ, प्रोजेक्ट आर्ट, भिडियो आर्ट, रेसिडेन्सी कार्यक्रम आदि)सँग सम्बन्धित गतिविधि  बढी मात्रामा हुने गर्छ । 

5 (2)

वैकल्पिक कलाका मूलधारका कलाकार मनीष आफैँ पनि कलाका क्याम्पसमा पढाउँछन्, विद्यार्थी कलाकारलाई संलग्न गराएर काम गर्ने गर्छन् । उनका अधिकांश काम इन्टर्‍याक्टिभ र कोल्याबोरेटिभ खालका हुने हुँदा विद्यार्थी कलाकार यहाँ झुम्मिएको पाइन्छ । धेरै युवा कलाकार उनीसँग दौँतरीजस्तो भएर काम गर्छन् । युवा कलाकारका लागि कलासम्बन्धी अनेक प्रयोगात्मक काम पनि यहाँ हुने गर्छ । यस्तै प्रकृतिको ‘कलाको हब’ अन्यत्र देखिँदैन । 

काष्ठमण्डप कला समूह
यसपालि (३ फेब्रुअरीदेखि १७ सम्म) यस ‘एमक्युब ग्यालरी’ले जोडी युवा कलाकारका कला पस्कियो । यी दुवै (एरिना र आशा) ‘काष्ठमण्डप कला समूहसँग आबद्ध छन् । 
नेपालको समसामयिक कला इतिहासमा ७० को दशकको उत्तरकालबाट कलाका यस्ता स–साना समूह बनाउने प्रचलन प्रारम्भ भएको थियो, यसले कला विकासमा ठोस विकास गरेको देखिन्छ । यसपछिका दिनमा कलाकार मिलेर स–साना कला समूह बनाउने एक प्रकारको संस्कारजस्तो बन्दै आएको छ । ८० र ९० को दशकसम्म आइपुग्दा गनिनसक्नु यस्ता कलाको समूह जन्मिसकेका थिए । हरेकजस्तो कलाकार आ–आफ्नै कला–समूहमा आबद्ध हुन्थे । 

यसै शृंखलामा युवा कलाकार प्रशान्तको सक्रियतामा सन् १९९४ मा काष्ठमण्डप कला समूह गठन भएको थियो । प्रशान्तको कलिलै उमेरमा निधन भयो । तर उनीसहित आठ युवा कलाकार संलग्न रहेर जन्मेको यस समूह आजसम्म सक्रिय छ । यस समूहका दुई सदस्य सुनिला बज्राचार्य र प्रदीप बज्राचार्य अमेरिका गएका थिए । पाँच सदस्य (प्रमिला वज्राचार्य, एरिना ताम्राकार, भाइराजा महर्जन, आशा डंगोल र विनोद श्रेष्ठ) यस समूहमा सक्रिय रहे । यतिखेर प्रदीप अमेरिकाबाट फर्केर आएका छन् भने सुनिला अहिलेसम्म अमेरिकामै कला सिर्जनामा व्यस्त छन् । 

‘काष्ठमण्डप’ नेपालको कला इतिहासमा सम्भवतः सबैभन्दा लामो समयसम्म क्रियाशील कला समूह हो । अझैसम्म यस समूहमा सात कलाकार संलग्न छन्,  जसले अनौठो ढंगबाट कला विकासमा लागिरहेका छन् । 

कुपन्डोलमा अवस्थित यस ‘काष्ठमण्डप’ समूहले सुरुवातमा आफ्ना समूहका हरेकजसो सदस्यका लागि अलग–अलग कला स्टुडियो व्यवस्था गरेको थियो । जहाँ हरेक कलाकार कहिले दिनभरि त कहिले रातभरि आ–आफ्नो स्टुडियोमा कला सिर्जना गर्न निमग्न रहन्थे । अहिले यही प्रकृतिको कला गतिविधिलाई नयाँ अवधारणाका रूपमा ‘ओपन आर्ट स्टुडियो’ भन्ने चलन छ । जहाँ कलाकारले कला सिर्जना मात्रै गर्दैनन्, प्रदर्शनी र बिक्री–वितरण पनि गर्छन् । जब कि यस्तो अवधारणा र परम्परा पहिले नै काष्ठमण्डपले सुरु गरिसकेको रहेछ । 

काष्ठमण्डपमा स–साना बालबच्चालाई कला सिकाइरहेको र कलाको व्यावसायिक काम पनि भइरहेको देखिन्थ्यो । चित्र बिक्री गर्ने सन्दर्भमा इ–आर्ट बिजनेसको शुभारम्भ यहीँबाट भएको थियो । कलाका अनेक गतिविधि भइरहँदा यसले यी सात कलाकारलाई निकै उचाइमा पुर्‍याएको थियो । सन् १९७१ मा स्थापना गरिएको ‘स्किब’ समूहपछि यसरी कलाकारले आफूलाई विकास गरेको काष्ठमण्डप समूहबाटै हो, (स्किब अर्थात् एसकेआइबी, जसमा शशिविक्रम शाह, कृष्ण मानन्धर, इन्द्र प्रधान र वत्सगोपाल वैद्य संलग्न थिए) । अहिले काष्ठमण्डपजस्तै निरन्तर सक्रिय रहने अन्य कला समूह देखिएको छैन । अरु स–साना कला समूह लामो समयसम्म मिलेर बस्न सकेको देखिँदैन । 

एरिना–आशाले यसपल्ट आफ्नो प्रदर्शनीको नाम ‘प्यारलल जर्नी’ राखे । यस प्यारलल जर्नीको सुरुआत सन् २०१७ सालबाटै भएको थियो, यसपालिको चौथो शृंखला हो । झन्डै तीन दशकदेखि सक्रिय यी दुई कलाकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय कला प्रदर्शनी, आ–आफ्नै एकल कला प्रदर्शनी अनेकपल्ट गरिसकेका छन् । धेरै अन्तर्राष्ट्रिय कला कार्यशालामा भाग लिइसकेका छन् । उनीहरुका सबै कामलाई यहाँ उल्लेख गर्न सम्भव हुँदैन । नेपाली समसामयिक कलाको मूलधारमा यी कलाकार एक अलग्गै कलाशैली र पहिचानका साथ स्थापित छन् । 

एरिनाको काम 
अहिले हेर्दा एरिनाले सबैजसो चित्रमा महिला पात्रलाई उच्च स्थानमा राखेको देखिन्छ । महिलामाथि हुने विभेदलाई उनले आफ्नो कलाको मूल विषय बनाएको देखिन्छ । महिला अधिकारबारे वकालत गर्ने, महिलाको सवाललाई उठाउने आदि उनको कलागत विशेषता देखिन्छ । यसका लािग उनले इन्स्टलेसनसम्म गर्न भ्याएकी छन् । 

1
महिलाका सवाल उठाउन उनले दरिलो पात्रका रूपमा महिलाकै अनुहार ल्याउँछिन्, जो उनका लागि धारिलो ‘मोटिफ’, प्रतीक र विम्ब बनेको छ । महिलाका अलिकता अनमेल भएका ठुल्ठूला लाम्चा आँखाले उनको क्यानभासमा सदैव ठाउँ पाउने गर्छन् । कतैकतै आँखाकै मात्र चित्र बनाएर महिलाको आँखाको महत्त्व र शक्ति आदिलाई उनले उजागर गरेको पनि देखिन्छ । उनका कला सहज र सरल छन्, जसमा कुनै व्यंग्य, दुखेसो, दर्द आदि केही देखिँदैन । यसो हुँदा कहिलेकाहीँ उनी आफ्नो चित्रमा भावनाभन्दा पनि सौन्दर्यता प्रदान गर्न अझ इच्छुक भएझैँ लाग्छ ।  

सुरुसुरुमा उनी आफ्ना चित्रमा महिलाका दिनचर्यालाई ल्याउँथिन् । यसो गर्न महिलाको सिंगो शरीर, हावभाव, नैसर्गिक स्वरूप नै उनका लागि मुख्य विषय बन्थ्यो । ममतामयी आमा, आमा र बच्चाबीचको स्नेह आदिमा मात्र उनका चित्र बनेको देखिन्थ्यो । यसैमा अहिले उनले प्राविधिक पक्ष (मोनोक्रोम्याटिक पद्धति) लाई अँगालेकी छन् । सन्तुलन मिलाउन र भावकको ध्यानलाई सिधै आफ्नो विषयमा प्रवेश गराउन पनि उनले यस पद्धति रोजेको देखिन्छ । किनकि यसो भएपछि भावकका दृष्टि रंगहरूतिर अलमलिन पाउँदैनन् । उनले आकृति र विम्बमाथि थुप्रिएका रंग बगाइदिएर धमिलो पारेकी छन्, यसले आधुनिकताको भाकाको आभास दिन्छ । अहिलेको उनको चित्र हेर्दा प्राविधिक रूपमा यही फरक देखिन्छ । 

उनले सन् २००५ मा गरेको ‘रिफ्लेक्सन एन्ड रियालिटी’ नामक चित्र हेर्‍यौँ भने आमा र छोराछोरी पात्रका रूपमा छन् । वात्सल्यले वशीभूत भई मधुरो र धमिलो आकारले स्पष्ट नहुने गरी उनका चित्र निर्माण भएको देखिन्छ । यथार्थबाट उफ्रेर अमूर्ततातिर उक्लन खोजेको स्पष्ट भान हुन्छ । यसअघि सन् २००१ मा ‘रिफ्लेक्सन अफ लाइफ’  नामक उनको पहिलो एकल कला प्रदर्शनी भएको थियो, त्यतिबेला प्रदर्शित चित्रमा उनले महिला र आमाबच्चालाई बढी ठाउँ दिएकी थिइन् । त्यसबेला आमा र बच्चाको विषयले उनलाई विशेष रूपले छोएको देखिन्छ । 

त्यतिबेला उनले यथार्थवादी शैलीबाट आकारहरूलाई बिस्तारै धुमिल पार्दै, आकारहरूलाई भत्काउँदै महिलाको वेदना (सुखानुभूतिका वेदना) मुखरित गरेको देखिन्छ । तथापि वेदनालाई छोपेर आमा हुनुको भाव, मर्म र गर्वलाई अगाडि ल्याउन उद्यत भएको पनि देखिन्छ । उनले एकपल्ट भनेकी थिइन्, ‘आफू आफैँ आमा भई हासिल गरेका मिठा दुःखकष्ट, अनौठा अनूभूतिमा हराउँदा यस्ता चित्र बन्न थालेका हुन् ।’ सन् २००६ मा भएको उनको एकल कला प्रदर्शनी ‘वमन इन नेचर’मा उनले महिलालाई रुखपातसँग खेलाएर प्रस्तुत गरेकी थिइन् । यस प्रकार सुरुका वेलादेखि नै महिलाका विषय उठान गरी त्यसलाई अझ परिष्कृत गर्दै ल्याएकी छन्, यसबाट उनी विमुख भएको देखिँदैन । यसपछि उनले अनेकौँ कला प्रदर्शनीमार्फत अनेकौँ कलाका संयोजन गरेकी छन् । 

2 (1)

यसपालिको प्रदर्शनीमा पनि उनले महिलाकै मुखाकृति केन्द्रमा राखेर चित्र निर्माण गरेको देखिन्छ । स–साना क्यानभासमा उनले आफ्ना अभिव्यक्तिलाई पोखेकी छन् । एउटा चित्र छ, क्याभासभरि मौन बसेको जस्तो पारामा आँखा चिम्लेर महिला बसेको देखिन्छ । अति ठूला र लाम्चा आँखालाई अनुहारमा समायोजन गरिएको छ भने टीकाजस्तै आँखाको एक अलग्ग रूपलाई निधारको बीच भागमा स्थापित गरिएको छ । यो उनको पहिलेदेखिकै स्वभाव हो ।

‘थर्ड आई’ भनी एकताका यसलाई नै केन्द्र बनाएर उनले ठुल्ठूला चित्र बनाएर चर्चा समेत कमाइसकेकी छन् । यसबाहेक यस्ता स–साना क्यानभासमा दुलही सिँगारिएको शैलीमा महिलाको सिङ्गो अनुहार स्थापित गर्नु उनको अर्को विशेषता देखिन आएको छ । स–साना लाम्चालाम्चा अरु चित्र छन्, जम्मैमा महिलाबाहेक कसैको अनुहारले ठाउँ पाउन सकेको छैन । यही महिलाको अनुहारलाई किसिम–किसिमले खेलाउने उपक्रममा सँगै अर्को लामो भर्टिकल अवस्थामा महिलाको मुखाकृति छ, टेक्चरले भरिभराउ भएर प्रस्तुत हुँदा यो चित्र स्वभावतः अलग्ग रूपमा देखिन्छ । मूलतः यो पनि महिलाभन्दा अर्को कुरा होइन ।

अर्को एक क्यानभासमा पाँचवटा महिलाका हँसिला अनुहार एकै ठाउँमा स्थापित भएपछि उत्पन्न सौन्दर्य रहरलाग्दो देखिन्छ । एक दशक अघिदेखि एरिना महिलाका राम्रा र लामा आँखामा केन्द्रीभूत भइरहेकी छन् । योसँगै निधारमा तेस्रो आँखा स्थापित गरी महादेवको जस्तो आध्यात्मिक शक्ति महिलामा आएको विम्ब ल्याउनु उनको अर्को विशेषता देखिन्छ । 
3

यस्तै अर्को क्यानभास छ, जहाँ आँखा बढेर अनुहारभन्दा बाहिर आएको छ । निख्खर रातो पृष्ठभूमिमा सिर्जना भएको यो महिलाको व्यक्ति चित्र शान्त र ध्यान गरेजस्तो अवस्थामा देखिन्छ । अर्को क्यानभासमा महिलाकै चित्र छ, आँखालाई टुक्राटुक्रामा विभाजित गरी छताछुल्ल भएको अवस्था सिर्जना गरिएको छ । एकैजस्तो देखिने यी महिलाका व्यक्तिचित्रमा कतै निधारमा चन्द्रमा टाँसिएका पनि देखिन्छन् । महिला मात्रै देखिनु अनि तेस्रो आँखामा विशेष जोड दिनुले महिला आफैँमा शक्तिशाली हुन् भन्ने उनको अवधारणा, विचार र विश्वास बुझिन्छ । उनका चित्रले यही बोलिरहेका छन् कि महिला कसैबाट अपहेलित हुनपर्दैन, मात्र आफ्नो तेस्रो आँखा खोल्नुपर्छ, तेस्रो आँखा खुलेपछि वा खुलाएपछि स्वतः महिला सशक्तीकरण भइहाल्छन् । यो कसैले गरिदिने पनि होइन, यो आफैँ हुने प्रक्रिया हो । 

आशाको काम
आशाको काम पछिल्ला केही वर्षदेखि प्यारोडी शैलीका रूपमा विकास भएको देखिन्छ । पहिलादेखि नै उनी कलालाई सरल र सादगीभन्दा पनि रहस्यमयी बनाउने सन्दर्भमा बढी रुचि राख्ने गर्थे । सामान्य विषय र वस्तुलाई सोझो तरिकाले प्रस्तुत नगरीकन अलिकता व्यंग्यात्मक, अलिकता अमूर्त जस्तो संयोजनमा उनको मन रमाउँथ्यो । अद्भूतता, अस्वाभाविकता अनि रेखालाई बांगाटिंगा गरेर खेलाउने उनको कलागत प्रकृति देखिन्छ । 

मान्छे नै देखिन्छन् तर कतै लमतन्नमा रुखका हाँगाबिँगाजस्ता भएर मानव आकार सलबलाउन थाल्छन् उनका क्यासभासमा । अनि कहिले निख्खर कालो पृष्ठभूमिमा रातो, हरियो नितान्त विपरीत रंग पोतेर कलालाई रोमाञ्चित बनाउने उनको प्रपञ्च देखिन्छ । कहिले क्यानभासभरि यही विघ्न आकृति कोचकाच गरिदिन्छन् । जसमा को के गर्दैछन् ? कसरी र किन गर्दैछन् ? आदि भेउ पाउन घन्टौँ घोरिनुपर्ने हुन्छ । यी र यस्तै उनको स्वभाव हुँदा पनि उनका कलामा स्वैरकाल्पनिकता यथेष्ट मात्रामा रहेको हुन्छ । यसैको पराकाष्ठामा अहिले उनले एक्लो आकृतिलाई मूल विषय बनाउन थालेका छन्, जसमा स्पष्ट बुझिने गरी समसामयिक राजनीति, सामाजिक अवस्था माथिको प्यारोडी दृष्टिगोचर हुन्छन् । यसकारण अहिलेका चित्रमा उनले नितान्त आकारमा खेल्दै व्यंग्यात्मक चरित्र प्रस्तुत गरेका छन् । 

उनको सन् २००५ मा भएको ‘फोल्क फ्युजन’ नामक एकल कला प्रदर्शनीमा सपना र आध्यात्मिकतालाई समायोजन गरिएको थियो । अहिले उनले मानवता र प्रकृतिलाई मूल रूपमा अँगाल्दै किसिम–किसिमका लोककलाका विम्बको प्रयोग गरेका छन् । सन् २००५ का उनका चित्रमा पनि स्वैरकाल्पनिकता यथेष्ट मात्रामा देखिएको थियो । 

4
२००२ मै भएको उनको पहिलो एकल कला ‘फोल्क इमेजेज अफ नेपाल’मा लोककला छाम्न सकिन्थ्यो । लोककलाका मोटिफलाई उनले सन् २००२ बाटै सुरु गर्न थालिसकेका थिए । २००७ मा गरिएको ‘चित्कार’ नामक उनको सोलो कला प्रदर्शनीमा लोककला र परम्परागत विम्ब मात्रै छैनन्, मानवमा भैँसी र बोका अनि हात्तीका टाउका जोडेर कलाको संयोजन गर्न थालिसकेका थिए । सन् २००७ मा भएको ‘सेरामिक एक्सप्रेसन’ नामक प्रदर्शनीमा पनि यस्तै इमेज उनका कलामा देखिन्छन् । त्यसबखत सेरामिक प्लेटमा कला बनाएका थिए । यसपछि पनि उनका कैयौँ कला प्रदर्शनी भएका छन् । प्रयोगात्मक काममा बढी रुचि राख्ने कलाकार भएकाले अनेक प्रयोगात्मक कला उनले सिर्जना गरिसकेका छन् । 

यसपल्ट उनले उत्तेजित आवेशका साथ तीनवटा बराह एउटै मानवको शरीरमा समावेश गरेका छन् । जसमार्फत उनले धर्म–संस्कार, किंवदन्ती अनि समसामयिकता र परम्परागत शैलीलाई सगोलमा प्रस्तुत गर्न चाहेको देखिन्छ । एक मानव आजको वेशभूषामा छ, असहज पोजमा छ, तथापि शिरको रूपमा रहेको बराहको पछाडि आभा (पहेँलो रंगमा)ले देवत्वको शक्ति दर्शाउँछ । आँखीभौँमा परम्परागत चित्र पौभामा प्रयोग गरिने परम्परागत बुट्टालाई सजाइएको छ । नेपाली समसामयिक कलामा परम्परागत शैलीको प्रयोग नितान्त नौलो लाग्छ । 
गैँडाको खागको तस्करी बढी मात्रामा हुँदा उनको मन भाँचिएको थियो, यसैको सन्दर्भमा उनका चित्रमा यस्ता जनावरका चित्र बढी मात्रामा उदाएका हुन् । अर्को एउटा अजीवको चित्र छ, सपाट आकाशको पृष्ठभूमिमा एक मानव आकार । भैँसीको मुखाकृतिको मानव (नरभैँसी)ले हवाईजहाज बोकेर असजिलो आसनमा बसेको छ । आजको नेपालको जल्दोबल्दो समस्या युवा बिदेसिने (कामका लागि वा पढाइको नाममा) विषयमा उनको यो चित्र बनेको हो । बाघको मुकुण्डो लगाएको अर्को मानवको चित्र पनि छ । यस्तै प्यारोडी चित्र बनाएर नेपाली कला क्षेत्रमा आशाले एक अलग्गै स्थान सुरक्षित गरेका छन् । 
(मल्ल कलाकार र कला समीक्षक हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप