शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति निर्वाचनमा राप्रपाले सघाउनेमा एमाले आशावादी

बिहीबार, १८ फागुन २०७९, १८ : २२
बिहीबार, १८ फागुन २०७९

काठमाडौँ । नेकपा(एमाले)बाट राष्ट्रपतिका उम्मेदवार रहेका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर आफूलाई मतदान गर्न आग्रह गरेका छन् । राष्ट्रपतिका उम्मेदवार नेम्वाङले बिहीबार पार्टीका नेताहरूसहित राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा पुगेर आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आफूलाई मतदान गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई आग्रह गरेका हुन् । 

नेम्वाङ एमाले नेताहरू पृथ्वीसुब्बा गुरुङ, योगेशकुमार भट्टराई, रघुवीर महासेठ, विद्या भट्टराई, गणेश पहाडी र ठाकुर गैरे लगायतका नेताहरूसहित त्यहाँ पुग्नुभएको थियो । भेटघाटमा राप्रपाको तर्फबाट अध्यक्ष लिङ्देनसहित नेताहरू डा. प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, धवलसमशेर राणा लगायतको उपस्थिति थियो । 

भेटघाटपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले सौहार्दपूर्ण तरिकाले कुराकानी भएको बताए । उनले राष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा फागुन २४ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने बताए । उनले भने – ‘उहाँहरूसँग सौहार्दपूर्ण तरिकाले कुराकानी भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीले के गर्ने भन्ने कुरा चाहिँ २४ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्छ । त्यसले गरेको निर्णय अन्तिम हुन्छ ।’

भेटघाटपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा (एमाले) की सांसद विद्या भट्टराईले एमालेको उम्मेदवार नेम्वाङप्रति राप्रपा नेताहरूको सकारात्मक र सद्भावपूर्ण धारणा रहेको उल्लेख गरिन् । उनले एमालेसँग राप्रपाको विगतदेखि नै सहकार्य हुँदै आएको भन्दै आगामी दिनमा पनि सहकार्यको निरन्तरता हुने विश्वास व्यक्त गरिन् ।

उनले भनिन् – ‘हामी हाम्रो आग्रह लिएर आयौँ । उहाँहरूले चाहिँ उहाँहरूको बैठक २४ गते बस्छ । त्यो बैठकले निर्णय गर्छ । तर एमालेको तर्फबाट राष्ट्रपतिको उम्मेदवार जो हुनुहुन्छ, उहाँ असाध्यै योग्य व्यक्ति हो । उहाँप्रति हाम्रो सकारात्मक, सद्भावपूर्ण धारणा रहेको छ भनेर व्यक्त गर्नुभएको छ । हाम्रो कार्यालयसम्म आएर एउटा राजनीतिक संस्कृति प्रदर्शन गर्नुभयो । त्यसमा हामी अत्यन्त खुसी छौँ भन्नुभएको छ । हिजोदेखिको जुन सहकार्य हो राप्रपासँगको हाम्रो पटक–पटकको त्यो सहकार्यको निरन्तरता हुने विश्वाससहित हामीलाई उहाँहरूले आज स्वागत पनि गर्नुभयो र त्यो अनुसार बिदाइ पनि गर्नुभयो ।’

राप्रपा नेताहरूले उम्मेदवार स्वयं आफूहरूको कार्यालयसम्म आएर मत मागेको प्रति खुसी व्यक्त गरेका सांसद भट्टराईले उल्लेख गरिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप