शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
निबन्ध

शकुनी चालहरूले ऐँठन गरिरहेछ देश

शनिबार, २० फागुन २०७९, ०७ : ५७
शनिबार, २० फागुन २०७९

समाचारमा निसृत सन्देशको संगति खोज्छु म । जनमनमा सकार भावको अभिसञ्चार गर्ने तन्तुहरू छन् कि छैनन्, त्यसलाई नियाल्न खोज्छु । बाटो नपाएर भड्किएको मान्छेलाई सिर्जन पथमा हिँड्न उद्रेक गर्ने तत्त्व छ कि छैन, त्यसलाई ठम्याउन खोज्छु । विसंगति र निराशामा रुमलिएको मानव चरीलाई आशावादको ज्योति देखाएर उकाली चढ्न उत्प्रेरित गर्ने लालकिरण छन् कि छैनन्, तिनलाई हेर्न खोज्छु म ।

तर, मिडियामा बज्ने समाचारमा, छापामा मुद्रित खबरपानाहरूमा नेता–नेता बीचको सत्तोसरापको वर्षा छ । अहर्निश दन्तबजानको खेलमा मूल्यवान समयलाई धुवाँ खरानी बनाइरहेका छन् । मानौँ हाम्रा नेताहरूलाई सराप्न सिवाय केही आउँदैन । मानौँ हाम्रा नेताहरूलाई दन्तबजान गर्न सिवाय कुनै  सुललित सिर्जनको बात बोल्न आउँदैन । के नेता र नेतृत्वको काम हमेशा विरोध बोल्नु मात्र हो । स्वीकार, सहमति र सहकार्यको कुनै भाषा छैन ? कुनै शब्दहरू छैनन् ? कुनै लवज र लयविधान छैनन् । 

विध्वंशको बोली बिकाएर कतिन्जेल राष्ट्र दोहन गर्न सकिन्छ ?

सिर्जना र निर्माणमा सिपालु नेतृत्वको हातमा राष्ट्रको बागडोर पर्दा दसै वर्षमा, बिसै वर्षमा , तीसै वर्षमा देश कहाँदेखि कहाँ पुग्दा रहेछन्, त्यो दक्षिण कोरियाले देखाइरहेछ, मलेसियाले बताइरहेछ, सिंगापुरले सुसेलिरहेछ । अहिलेको बंगलादेश र भियतनामहरूले त्यही कुरा भनिरहेछन् । तर, हाम्रो राजनीतिक नेतृत्वलाई तोड्न भलिभाँती आउँछ, फोड्न भलिभाँती आउँछ, बिगार्न भलिभाँती आउँछ । तर  जोड्न,  गोड्न, सिर्जन र निर्माणको सारेगम रच्न अलिकति पनि आउँदैन  ।

मिडियामा दूषित कुरा लेखेर बोलेर आवहवालाई प्रदूषित गरिरहेछन् यिनीहरू । यिनका मुखारविन्दबाट सिर्जनका संगतिपूर्ण कुरा सुन्न पाइन्छ कि भनी आशा गर्नु बेकार छ । यिनका वाणीमा आनन्दको वर्षात  गर्ने कुनै आल्हादकारी तत्त्व छ कि भनी खोजी गर्नु बेकार छ । यिनीहरू विध्वंश बोल्छन् । विद्रपता बोल्छन् । विसंगति बोल्छन् अर्थात् आफू भित्रकै कुरा बोल्छन् । यिनीहरू भित्र स्वस्थ मन छैन । स्वच्छ चित्तदशा छैन । चित्तमा फोहोरै फोहोरको डङ्गुर थुप्रिबसेको छ । त्यही आफू भित्रको फोहोर छरेर वातावरणलाई दुर्गन्धित पारिरहेका छन् । वर्षौँ भयो, हामी त्यही दुर्गन्धको सिकार बनिरहेका छौँ ।

चित्तमा कुरूपता छ, त्यही  कुरूपता वाणीमा अभिव्यक्त हुन्छ । सुन्दर सौम्य विचारको आशा गर्नु  बेकार छ ।  यिनीहरूको आत्मामा मृदुलताको भाव छैन । छ त रूक्षता र रौद्रताको बाढी उर्लेको छ । आर्तहरूका मुटु छुने करुणाका बोलहरू छैनन्, छन् त क्रोधाग्निका फिलुङ्गाहरू छन् । सरलताका सरसताका शालीन स्वरहरू छैनन् । यिनका छातीमा छन् त पाखण्ड र धूर्तताका हुँडार हुइयाँहरू छन् । स्वार्थ र सत्तालिप्साका अति घृणित शकुनी–चालहरू छन् ।  तिनै हुँडार, हुँइया र शकुनी चालहरूले ऐँठन  गरिरहेछ देश । 

निःस्वार्थी निरङ्कारी नेतृत्वको हातमा  शासनको  बागडोर पर्दा   संसारका कयौँ मुलुकमा चमत्कार भएको छ । तर, हाम्रो नेतृत्व अहङ्कारको र स्वार्थको दलदलबाट कहिल्यै  माथि उठ्न सकेन । चाहे त्यो राणाकालीन नेतृत्व होस्, चाहे सात सालदेखि सत्र सालसम्मको प्रजातान्त्रिक नेतृत्व होस् । चाहे पञ्चायतकालीन नेतृत्व होस्, चाहे छयालीस पछिको बहुदलीय प्रजातान्त्रिक नेतृत्व होस् । 

चाहे राजाको  सक्रिय नेतृत्व होस्, चाहे  गणतन्त्रकालीन नेतृत्व होस् । चाहे प्रजातान्त्रिक धारको नेतृत्व होस्, चाहे साम्यवादी वृत्तको नेतृत्व होस् । सबैको एकमुष्ट ध्याउन्न खाने कमाउने, आफ्नो गोजेरो भर्ने, भेटेसम्म पाएसम्म राष्ट्रदोहन गर्ने, यसभन्दा माथि अगुवा अभियन्ताहरूको चिन्तन कहिल्यै माथि उठेन ।  

वैयक्तिक स्वार्थको खातिर आफ्नो स्वाभिमान गिराएर थरिथरिका प्रभुहरूको चारण गीत गाउनु र ऐनमौकामा प्यादाकै भूमिका अदा गर्नु यहाँको नेतृत्वको सनातनी स्वभाव रह्यो । पुग्नुको कुनै गन्तव्य छैन, चढ्नुको कुनै सुनिश्चित शिखर छैन । खालि कोलको गोरुजस्तो आफ्नै लम्पट स्वार्थ–सत्तामा अल्झिराख्नु, त्यही दलदलमा फसिराख्नु र देशलाई फँसाइराख्नु सिवाय गुणात्मक हिसाबले अर्को कुनै काम भएन ।

सबै सबैलाई सत्ताको सुर भयो, जनताको पिर भएन । आफ्नै निम्ति पदको पिर बोके, देशको पिर बोक्न सकेनन् । आफ्नो  सुरक्षाको चिन्ता भयो, मुलुक र मुलुकवासीको सुरक्षामा खातिरदारी राख्न सकेनन् ।  

हुन पनि हो, उनीहरूले मीठो चोखो खाएका छन् । करोडको गाडीमा शयर गरेका छन् । यिनका घरमा विपन्नता र अभावको कुनै मार छैन । महँगी र कालावजारीको भार छैन । यिनले डिजेल र मट्टितेलको लाइनमा उभिनु परेको छैन । सिटामोल र खोलेको अभावमा तड्पिनु परेको छैन । यिनले एउटा बर्काको अभावमा जाडोले कठ्याङ्ग्रिएर मर्नु परेको छैन ।

कालीदासको महाकाव्य रघुवंशका राजा अग्निवर्णको जस्तो चरित्र देख्छु  हाम्रा नेता गणमा । अग्निवर्ण यति कामातुर छ, ऊ चौबिस घण्टा स्त्रीलिप्सामा आशक्तरत रहन्छ । उसलाई देश, दुनियाँ, जनताको पीरमर्का केहीको पर्वाह छैन । सर्वसाधारण जनता आफ्नो समस्या बिसाउन, केही कुरा राख्न दरवार आउँछन् । ऊ सदासर्वदा भोगविलासमा  डुबिराखेको हुन्छ । ऊ यति स्त्रीलम्पट हुन्छ, खोपीबाट तल एक मिनेट ओर्लिदैन । 

जनता पर्खिँदा पर्खिँदा आजित बन्छन् । सिपाहीले मान्छेहरू दर्शनभेटको लागि प्रतिक्षारत छन् भन्ने समाचार सुनाउँछ । ऊ खोपीको झ्यालबाट एउटा खुट्टो देखाइ दिन्छ । जनता कम्तीमा राजाको खुट्टोसम्म त दर्शन गर्न पाइयो भनी सन्तोष मानेर फर्किन्छन् । यसरी जनतालाई झ्यालबाट खुट्टो देखाएर दर्शनभेट दिने अग्निवर्णका नयाँ संस्करण नेपाली राजनीतिमा परिव्याप्त भएको दृश्य देख्छु ।

अग्निवर्ण स्त्रीलम्पट भए जस्तो यहाँका पार्टी र नेतागण सत्तालम्पट बनी कुर्सीलिप्सामा टाँसिएको टाँसियै छन् । उनीहरूले देशको स्वार्थ र जनताको हितलाई भन्दा आफ्नै स्वार्थलाई सर्वोपरि बनाएका छन् । 

चुनाव जितेर गएपछि हिजो गरेका बोल कबोल बाचाकसम सबै भुलिदिन्छन् । अग्निवर्ण त कम्तीमा झ्यालबाटै भएपनि खुट्टोसम्म जनतालाई देखाइदिन्थ्यो । अनुहारको दर्शन गर्न नपाए पनि चरणको दर्शन गरेर जनगण फर्किन्थे । हाम्रा नेताहरू अग्निवर्ण भन्दा चुत्थो दर्जाका स्वार्थी र कांचन कामिनीप्रति कामातुर बनेका छन् । आफैँ चुलिने, आफैँ मोटाउने धन्दामा रत छन् । द्रव्यलिप्साको अलिङ्गनमा यसरी बेरिएका छन्, त्यसको पाशबाट यिनलाई छुटाउनु मुस्किल छ ।

यस खालको धुन्धुकारी नेतृत्वबाट सर्वसाधारण पीडित छन् । त्यसैले, त उनीहरूको मनोविज्ञानमा सकारात्मक भाव छैन । उनीहरूप्रति समादरको चिन्तन छैन । छ त उनीहरूको अन्तरहृदयमा घोर उदासीनता छ, वितृष्णा छ, घृणा छ, क्षोभ र ग्लानिको भाव टनाटन खाँदिएर बसेको छ । 

पार्टी र नेतृत्व गणमा मैत्रीभाव नहुनु, सहकार्य नहुनु, सहअस्तित्व स्वीकार नगर्नु, हरदम दन्तबझान, हरदम विद्वेष र विरोधको परिपाटी कायम राख्दा जनतामा निराशा, कुण्ठा र रुग्णताको रोग सल्केको छ । 

नेता र पार्टीको रोगले सर्वसाधारणका दिल दिमागलाई कुरूप र विक्षिप्त बनाउँदै लगेको छ । जाहाँत्यहीँ क्रोधित अनुहार, कुपित बोली, इष्र्या र आक्रोश, रोष र अहङ्कारको प्रदूषित हावा चलिरहेको छ । यसले गर्दा विस्तारी  विस्तारी समाज  सिर्जनतिर होइन,  विध्वंश र आगजनीतर्फ उन्मुख छ । निर्माणतिर होइन, तोडफोड हिंसातर्फ अभिमुख छ । शान्ति र निरङ्कारतिर होइन, अशान्ति र अहङ्कारतिर अग्रसर छ ।

यो भयानक डढेलोलाई बेलैमा ननिभाउने र यसको स्थायी समाधान नखोज्ने हो भने विद्यमान व्यवस्था, नेता, पार्टी र समाज सबै सबैलाई एकैचोटि भष्मिभूत पार्ने खतरा बढेको छ । अग्नि वर्णका नव संस्करणहरूमा यो कुराको चेतना बेलैमा हुनु जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुण्य कार्की
पुण्य कार्की
लेखकबाट थप