आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

द्वन्द्व पीडितको गुनासो– न राज्यले हेर्छ, न नेताले

सोमबार, २२ फागुन २०७९, १० : ०३
सोमबार, २२ फागुन २०७९

दाङ । ४१ वर्षीय भुलबहादुर विक (असल) पूर्व जनमुक्ति सेनाका सदस्य हुन् । २०३८ सालमा रुकुममा जन्मिएका उनी २०५५ सालमा तत्कालीन जनमुक्ति सेनामा भर्ती भए । २०५९ सालमा जुम्ला भिडन्तमा उनले दायाँ खुट्टा गुमाए ।

तुलसीपुर उपमहानगरपालिका वडा नंं. १८, धनखन्यमा ऐलानी जग्गामा उनको परिवारको बसोबास छ । वैशाखीको सहारामा अभावै अभावको दिन काटिरहेका विकले  भने, ‘ यो दिन काट्नुभन्दा बरु मरेकै भए हुने थियो । मुलुक परिवर्तनका लागि युद्धमा होमिएँ, आफ्नो जीवन बर्बाद पारेर फर्किएँ । अहिले न राज्यले हेर्छ, न नेताले हेर्छन् ।’

एक खुट्टाको जीवन, छोराछोरीको पालनपोषण, शिक्षादीक्षाका लागि लाग्ने खर्च, हिजो व्यवस्था बदल्न देखेको त्यो सपना र आज आफ्नो अवस्थाले निकै मन पोल्ने गरेको उनले सुनाए । व्यवस्था परिवर्तनका लागि ज्यानै दिएका सिपाहीहरूको दयनीय अवस्था कसैले नदेख्दा अझ धेरै पीडा हुने गरेको उनको भनाइ छ ।

उनले भने, ‘हिजोका कमान्डर आज नेता र मन्त्री छन् । हामी सिपाहीमध्ये कति सहिद भए, कोही अपाङ्ग छौँ । कोही घाइते छौँ । कोही बेपत्ता छौँ ।’ हिजोका सिपाहीको अवस्था त्यतिबेलाका कमान्डरहरूले थाहा नपाउँदा अझ पीडा हुने गरेको उनले सुनाए ।

उनीजस्तै रोल्पा स्थायी घर भई सोही ठाउँमा बसोबास गर्दै आइरहेका गणबहादुर बुढा (विद्रोही) अहिले घाइते जीवन बिताइरहेका छन् । उनी राम्रोसँग हिँडडुल गर्न सक्दैनन् । लट्ठीको सहारामा यताउता गर्छन् । उनका एक छोरी र एक छोरा छन् ।

उनको आर्थिक अवस्था निकै नाजुक छ । घाइते अवस्थाका बुढा केही गर्न सक्दैनन् । आफन्त वा गाउँलेले अन्नपात सहयोग गरेमात्रै उनको घरमा चुलो बल्छ । उनको तन बन्दुकको छर्राले पोल्छ भने मन पीडा र अभावले पोल्छ ।

उनले भने, ‘हिजोको त्यो सपना र आजको यो जिन्दगीमा कत्ति पनि मेल भएन । ठुला मान्छे नेता बने, हामीलाई बाँच्नै गाह्रो छ ।’

घाइते जीवन, विपन्न पारिवारिक अवस्थाको कष्टकर दिन काट्दै आइरहेका बुढाले मुलुक फेरिए पनि जनताको अवस्था फेरिन नसक्दा धेरै पीडा हुने गरेको सुनाए । उनले थपे, ‘खै के परिवर्तन आयो भन्ने हो, हामी परिवर्तनका लागि ज्यान दिनेहरूको अवस्था यस्तो छ !’

तुलसीपुर–१८ की कवली सार्कीको पीडा पनि उस्तै छ । ०६० साल चैत १९ गते नेपाल बन्द थियो । पार्टीको काममा उनका पति गएका थिए । तल बजारमा गोली चलेको आवाज आयो । तत्कालीन सेनाले चलाएको त्यही गोलीले उनको पति मारिए ।

‘श्रीमान् मरेपछि अभाव र दुःखका दिन सुरु भए, छोराछोरी हुर्काउन र पठाउन समस्या भयो । अभाव र शोकमा दिन, महिना, वर्ष बित्यो,’ उनले भनिन्, ‘श्रीमान् सहिद भएको पनि वर्षौँ भयो । अभाव र पीडाको जिन्दगी उस्तै छ । रोग र भोकको पीडामै दिन काटिरहेका छौँ ।’

व्यवस्था फेरियो भन्ने गरे पनि आफूहरूले अझै फेरिएको व्यवस्थाको महसुस गर्न नपाएको उनको गुनासो छ । व्यवस्था परिवर्तनका लागि ज्यान दिने सहिद, तिनका परिवार, घाइते, अपाङ्ग र बेपत्ता परिवारको अवस्था फेरिन नसकेको उनी बताउँछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप