मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट

सोमबार, २२ वैशाख २०८२, २२ : ४७
सोमबार, २२ वैशाख २०८२

लन्डन । नेपालको सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको न्यायिक प्रतिनिधिमण्डलले यहाँ महत्वपूर्ण भेटघाट गरेको छ । २७ अप्रिल संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लन्डन आइपुगेको प्रतिनिधिमण्डलमा सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँल, विशेष अदालतका न्यायाधीश रीतेन्द्र थापा, उच्च अदालतका न्यायाधीश हेमन्त रावल र सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेल संलग्न रहेका थिए ।

उक्त न्यायिक प्रतिनिधिमण्डललाई लन्डन हिथ्रोमा बेलायतका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरे र दूतावासका अन्य वरिष्ठ कूटनीतिज्ञहरूले स्वागत गरेका थिए । बेलायत भ्रमणका क्रममा प्रधानन्यायाधीश राउतले २९ अप्रिलमा संयुक्त अधिराज्यको सर्वोच्च अदालतका अध्यक्ष लर्ड रीड अफ अल्लरमुइरसँग उनकै कार्यकक्षमा भेट गरे ।

सो भेटघाटका क्रममा दुई न्यायाधीशीले सद्भावना पत्रमा हस्ताक्षर आदानप्रदान गरे । जसले नेपाल र संयुक्त अधिराज्यको सर्वोच्च अदालतबिच लामो समयदेखिको सम्बन्ध अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।  सद्भावनापत्रले दुई देशका सर्वोच्च अदालत र न्यायिक प्रणालीबीच उत्कृष्ट अभ्यासहरु साझा गर्न र पारस्परिक सहयोग प्रवर्द्धन गर्न सम्बन्धित न्यायपालिकाहरूको पारस्परिक प्रतिवद्धतालाई सहयोग पुग्ने आशा गरिएको छ ।

उक्त भेटघाटमा नेपालका प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतले दिएका केही ऐतिहासिक फैसलाहरूमाथि प्रकाश पारेका थिए । संयुक्त अधिराज्यको सर्वोच्च अदालतका अध्यक्ष अल्लरमुइरले दुई देशबिचको ऐतिहासिक सम्बन्धबारे चर्चा गर्दै नेपालको न्यायिक क्षेत्रलाई सहयोग गर्ने आश्वासन दिए ।

सदभावना पत्रमा हस्ताक्षर नेपाल र बेलायतको न्यायिक इतिहासमा महत्त्वपूर्ण कोसेढुङ्गा भएको प्रतिनिधिमण्डलको विश्वास छ । सो अवसरमा उनीहरूले न्यायिक अभ्यास र अनुभवका विभिन्न पक्षमा छलफल गरेका थिए । न्यायिक अधिकारीहरूलाई तालिम दिने, कुशल न्याय प्रशासनको अनुभव साझा गर्ने, फैसलाको मस्यौदा तयार गर्ने र न्यायिक अभ्यासहरू जस्ता क्षेत्रहरूमा सहकार्य गर्न उनीहरु सहमत भएका छन् । उनीहरूले कानुनी शासन कायम राख्न सहयोग प्रवद्र्धन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रधानन्यायाधीश राउतले इङ्ग्ल्याण्ड र वेल्सका महिला प्रधानन्यायाधीश ब्यारोनेस कार अफ वाल्टन–अन–द–हेलसँग दुई देशका न्यायिक संयन्त्रबिचको सहकार्यका सम्भावनाबारे छलफल गरेका थिए । प्रधानन्यायाधीश राउतले बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलसँग पनि भेट गरेका छन् ।

भेटघाटका क्रममा दुई विशिष्ट व्यक्तित्वले संसद् र न्यायपालिकाबिचको सम्बन्धसहित पारस्परिक हितका विभिन्न द्विपक्षीय विषयमा छलफल गरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । सोही दिन प्रधानन्यायाधीशसँग इङ्ग्ल्याण्ड र वेल्सको न्यायपालिकाका न्यायाधीश रोबिन नोल्स, लर्ड जस्टिस डिङ्गेमेन्स, अन्तरराष्ट्रिय न्यायिक टोलीका लर्ड जस्टिस स्नोडेन, श्रीमती एडी, एडवर्ड लर्ड गार्नियर, किंग्स कलेज लन्डनका प्रोफेसर जेम्स ली र हाउस अफ कमन्सका सांसद डेभिड स्मिथ जस्ता प्रवुद्ध व्यक्तित्वहरूसँग भेट गरेका थिए ।

भेटमा उनीहरूले न्यायिक प्रणालीका विभिन्न आयाम र सहयोगका सम्भावित क्षेत्रहरुबारे छलफल गरे । प्रधानन्यायाधीश राउतले बेलायतको न्यायिक प्रणालीका प्रमुख व्यक्तिहरूसँगको बैठकमा भाग लिएका थिए, जसमा ‘जुडिसियल अपोइन्टमेन्ट कमिस्नर’ तनवीर इकराम, इङ्ग्ल्याण्ड र वेल्सको बार अध्यक्ष श्रीमती बारबरा मिल्स केसी र बार काउन्सिलको अन्तरराष्ट्रिय समितिका अध्यक्ष ह्यु मर्सर केसी पनि रहेका थिए ।

बैठकमा प्रधानन्यायाधीश राउतले कानुनी तर्क, वस्तुनिष्ठता, निष्पक्षता र न्यायप्रति अटल समर्पणको ब्रिटिस परम्पराको प्रशंसा गरे । उनले दुई देशका सर्वोच्च अदालतबिचको सदभावना पत्रमा हस्ताक्षर गर्नुको महत्त्वलाई पनि प्रकाश पार्दै दुवै देशका न्यायपालिकाबिचको सम्बन्धलाई बलियो बनाउन र आपसी समझदारी र सहयोगलाई बढावा दिने लक्ष्य राखेको उल्लेख गरे ।

बेलायतको सर्वोच्च अदालतका अध्यक्ष लर्ड रीड अफ अल्लरमुइरले दुई राष्ट्रहरूबिचको लामो समयदेखिको ऐतिहासिक सम्बन्धमा थप जोड दिँदै सदभावना पत्रले कानुनी परम्परा र न्यायिक प्रणालीको क्षेत्रमा सहकार्य बढाउने आशा व्यक्त गरे ।

राजदूत चन्द्रकुमार घिमिरेले दूतावासमा प्रधानन्यायाधीश राउत नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा स्वागत समारोह आयोजना गरे । स्वागत समारोहमा संयुक्त अधिराज्यको सर्वोच्च अदालतका अध्यक्ष लर्ड रीड अफ अल्लरमुइरसहित बेलायतको न्यायिक प्रणाली र समाजका प्रतिष्ठित व्यक्तित्व उपस्थित थिए ।

गत १ मेमा नेपाली प्रतिनिधिमण्डलले बेलायतको न्यायिक क्षेत्रका प्रमुख व्यक्तित्वहरू ओल्ड बेली (केन्द्रीय फौजदारी अदालत) का एन्थोनी लियोनार्ड केसी र सारा ह्वाइटहाउस साथै इनर टेम्पल इन्टरनेशनल कमिटीका अध्यक्ष किरोन बिल केसीसँग अन्तरक्रिया गरेको थियो ।

बेलायत बसाइको क्रममा प्रतिनिधिमण्डलले दुई देशको न्यायिक प्रणाली र अभ्यासहरूको बारेमा जान्न र अन्तर्दृष्टि आदानप्रदान गर्न स्कटल्याण्डको भ्रमण समेत गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप