मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
व्यापार

अमेरिकासँगको व्यापारमा नेपाललाई नाफा, गलैँचा, कार्पेट र छुर्पीले सुधार्‍यो निर्यात

बुधबार, २४ फागुन २०७९, ०७ : १८
बुधबार, २४ फागुन २०७९

काठमाडौं । नेपाल–अमेरिकाबीचको वैदेशिक व्यापारमा नेपाल नाफामा फर्किएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ७ महिनासम्ममा अमेरिकासँगको व्यापारमा नेपाल नाफामा रहेको हो । विगत लामो समयदेखि अमेरिकासँगको व्यापारमा नेपालले घाटा व्यहोर्दै आइरहेको थियो ।

आर्थिक वर्ष २०७८-७९ मा नेपाललाई अमेरिकासँगको व्यापारमा ३२ अर्ब ५ करोड ८४ लाख रुपैयाँ घाटा भएको थियो । सो वर्ष नेपालबाट जम्मा १७ अर्ब ९९ करोड २० लाख रुपैयाँको निर्यात भएको थियो भने अमेरिकाबाट ५० अर्ब ५ करोड रुपैयाँको आयात भएको थियो । चालु आर्थिक वर्ष सुरुका २ महिना अमेरिकासँगको व्यापारमा घाटा ब्यहोरे पनि त्यसपछि निरन्तर नाफा भइरहेको हो ।

चालु वर्षको साउन महिनामा भने अमेरिकासँगको व्यापारमा नेपाल घाटामा थियो । उक्त महिना नेपालले ७९ करोड रुपैयाँको घाटा ब्यहोरेको थियो । यस्तै, भदौ महिनामा नेपालले अमेरिकासँगको व्यापार घाटा सुधारेर २८ करोड रुपैयाँमा ल्याइपुर्याएको थियो ।

असोज महिनादेखि भने नेपालले नाफा आर्जन गर्न सुरु गरेको तथ्याङ्कले देखाएको छ । असोज महिनासम्म नेपालले अमेरिकासँगको व्यापार घाटा उल्ट्याउँदै ४६ करोड  ९ लाख रुपैयाँ नाफा गरेको छ । यो महिना नेपालबाट ५ अर्ब १६ करोड रुपैयाँको सामान निर्यात गर्दा अमेरिकाबाट ४ अर्ब ६९ करोडको आयात भएको थियो ।

यस्तै, कात्तिकमा ९२ करोड नाफा आर्जन भएको थियो । तर, मंसिर महिनासम्ममा भने नेपालको व्यापार नाफा खुम्चिएर ११ करोड ५४ लाखमा सीमित भएको छ । यस्तै, पुसमा १३ करोड र माघ महिनामा ८ करोड रुपैयाँ नाफा भएको छ ।

माघ महिनासम्ममा नेपालबाट अमेरिकातर्फ १० अर्ब ७३ करोड रुपैयाँ निर्यात भएको छ । यस्तै, अमेरिकाबाट नेपालतर्फ १० अर्ब ६४ करोड रुपैयाँको आयात भएको छ । यद्यपि, पछिल्ला महिनामा नेपालको निर्यात खुम्चिँदै गएर आयात बढ्दो अवस्थामा रहेपछि व्यापार नाफा खुम्चिएको तथ्याङ्कले देखाउँछ ।

तर, विगत लामो समयदेखि घाटामा रहेको अमेरिकासँगको व्यापार नाफामा आउँदा नेपाली निर्यातमा खुसीको सञ्चार भएको व्यवसायीहरु बताउँछन् ।

तथ्याङ्कमा अमेरिकासँगको व्यापार

data

स्रोत – भन्सार विभाग

छुर्पी, कार्पेट, गलैँचा र ऊनीको निर्यातले फाइदा

नेपालबाट अमेरिकातर्फ सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा कार्पेट, गलैँचा, ऊनी र छुर्पी पर्छन् । यिनै वस्तुको निर्यात बढ्दा नेपाललाई अमेरिकासँगको व्यापारमा नाफा देखिएको छ ।

यस अवधिमा नेपालबाट ४ अर्ब २० करोडको कार्पेट र गलैँचा निर्यात भएको छ । यस्तै, १ अर्ब २३ करोडको ऊनी तथा फेल्ट र १ अर्ब ४१ करोडको छुर्पी निर्यात भएको छ । यसबाहेक नेपालबाट पास्ता, सुगन्धित तेल (अत्तर) हस्तकलाका सामग्री, हातेकागज, पस्मिना, कटनका कपडा, पस्मिनाबाट निर्मित सल र मफलर, सुनचाँदीका गरगहना, वाद्यवादनका सामग्री र ड्रइङ (पेन्टिङ) निर्यात हुन्छ ।

२०७२ सालमा भूकम्प गएपछि नेपालको अर्थतन्त्र पुनः उत्थान गर्ने लक्ष्यसहित अमेरिकाले ७७ वटा वस्तुमा भन्सार छुट दिएको छ । तर, यी वस्तुको फाइदा नेपालले उठाउन सकेको छैन । भन्सार छुट पाएकामध्ये ११ वस्तुको निर्यात शून्य छ भने ३ वटा वस्तुको निर्यात वार्षिक १ हजार डलर पनि पुग्दैन ।

यी वस्तुको निर्यात वृद्धि भएसँगै नेपाललाई व्यापार नाफा भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । अमेरिकन चेम्बर अफ कमर्स, नेपालका अध्यक्ष किरण साःख नेपाल सरकारको बेवास्ताका कारण अमेरिकातर्फको निर्यात खुम्चिएको बताउँछन् ।

रातोपाटीसँग उनले भने, ‘सरकारले ध्यान दिएमा नेपालले अमेरिकामा प्रशस्त निकासी गर्न सक्छ । तर, सरकारको यसतर्फ ध्यान नै छैन ।’

नेपालमा निर्मित पस्मिना, कार्पेट, गलैँचा र गरगहनाको ठूलो बजार अमेरिकामा देखिन्छ । सन् २००२ मा अमेरिकाको ट्वीन टावरमा हवाई हमला हुनुअघि वार्षिक २०० मिलियन डलरसम्मको कार्पेट अमेरिकातर्फ निकासी हुन्थ्यो । तर, त्यसपछि निरन्तर नेपालको निकासी खस्कँदै गएर सन् २००५ पछि करिब शून्यमै झरेको उनी बताउँछन् ।

‘सन् २००५ पछि मल्टिफाइभर एग्रीमेन्ट सकियो । त्यसपछि विभिन्न देशलाई दिइएको विशेष कोटा सकियो,’ उनले भने, ‘अनि नेपालको निर्यात खस्किँदै गयो । भारत र चीनका उत्पादनसँग प्रतिस्पर्धा गर्न सरकारले कुनै व्यवस्था ल्याएन ।’

यस्तै, २०७२ सालमा भूकम्प गएपछि नेपालको अर्थतन्त्र पुनः उत्थान गर्ने लक्ष्यसहित अमेरिकाले ७७ वटा वस्तुमा भन्सार छुट दिएको छ । तर, यी वस्तुको फाइदा नेपालले उठाउन सकेको छैन । भन्सार छुट पाएकामध्ये ११ वस्तुको निर्यात शून्य छ भने ३ वटा वस्तुको निर्यात वार्षिक १ हजार डलर पनि पुग्दैन ।

अमेरिकाले सुरुमा ६६ वटा वस्तुमा भन्सार छुट दिएको थियो भने ११ वटा वस्तुको सूची पछि थपियो । यस्तै, १२ वटा वस्तुको निर्यातबाट १० हजार डलरभन्दा बढी आर्जन भएको छ भने १४ वस्तुको निर्यात ५० हजार डलरभन्दा न्यून मात्रामा छ । र, २६ वस्तुको निर्यातमात्रै ५० हजार डलरभन्दा धेरैको हुन्छ ।  तर, नेपालले यी वस्तुको निर्यात गरेर अमेरिकाबाट पर्याप्त फाइदा लिन सकेन ।

अमेरिकाबाट के आउँछ ?

अमेरिकाबाट नेपालतर्फ मुख्यगरी कृषिजन्य र प्रविधिजन्य वस्तु आयात हुने गरेको पाइएको छ । चालु वर्षको ७ महिनाको अवधिमा अमेरिकाबाट २३ करोड रुपैयाँको बदाम र २ अर्ब ४० करोड रुपैयाँको भटमास आयात भएको छ ।

यस्तै, ४१ करोड ५१ लाखको पिना आयात हुँदा औषधिजन्य वस्तुको आयात समेत पर्याप्तमा मात्रामा हुँदै आइरहेको छ । अमेरिकाबाट ३९ करोडको लामखुट्टे भ्याक्सिन भित्रिँदा १८ करोडको प्रशोधित काठ भित्रिएको छ ।

क्यामेरा र फोटोग्राफीमा प्रयोग हुने सेलुलोस एकेटेट आयातमा २६ करोड रुपैयाँ बाहिरिएको छ भने ३५ करोडको कच्चा सुन भित्रिएको छ । एयरक्राफ्टको इञ्जिन आयातमार्फत १२ करोड रुपैयाँ बाहिरिएको छ भने कम्प्यूटर सर्भर, हार्डडिस्क र डिस्क आयातमा ५७ करोड रुपैयाँ बाहिरिएको छ । यस्तै, २६ करोडको राडार भित्रिँदा १ अर्बको म्यूजिकल इन्सट्रुमेन्ट् आयात भएको विभागको तथ्याङ्कले देखाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप