नेतृ कुन्ती पोख्रेलको नेतृत्वमा कागेश्वरी मनोहरा नगरपालिकामा राप्रपाको महिला भेला सम्पन्न

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र २ अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला भेला सम्पन्न भएको छ । उक्त महिला भेला राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य तथा नेतृ कुन्तीदेवी पोख्रेलको नेतृत्वमा सम्पन्न भएको छ। सो भेलामा ७ सयभन्दा बढी महिलाहरूको उपस्थिति रहेको थियो ।
भेलामा कागेश्वरी मनोहरा नगरपालिकाका महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो । भेलाकी अध्यक्ष पोख्रेलले महिला दिदीबहिनीहरू आर्थिक रूपमा पुरुषको पछि लाग्ने नभई आफै सक्षम हुनुपर्नेमा जोड दिएकी थिइन् । नेतृ पोख्रेलले आर्थिक रूपमा आफू सक्षम हुनको लागि महिलाले आफ्नो क्षेत्रमा आयआर्जनमुखी काम गर्नुपर्ने बताइन् । त्यसको लागि महिला दिदीबहिनीहरूलाई उद्यमी हुनुपर्ने र उद्यमशील महिला नै समाजमा सक्षम हुने उनले जिकिर गरिन् ।
अहिलेसम्म राजनीतिक दलहरूले जति महिलाको हक अधिकारका कुरा गरे पनि त्यो कागजमै सीमित भएको उनले बताइन् । देशमा महिलाहरू उद्यमशील बन्छु भन्दा पनि सरकार र सम्बन्धित निकायबाट सहयोग नभएको उनले गुनासो गरिन् । महिलालाई आत्मनिर्भर बनाउन महिलाहरू नै सजग हुनुपर्नेमा नेतृ पोख्रेलको जोड छ ।