शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नाफामा अरनिको स्मृति दिवस मनाइयो

सोमबार, १३ चैत २०७९, ०९ : ३१
सोमबार, १३ चैत २०७९

काठमाडौं । नाफामा अरनिको स्मृति दिवस मनाइयोकाठमाडौं । राष्ट्रिय विभूति कलाकार अरनिकोको स्मृति दिवस मनाइएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा नक्सालस्थित सीताभवनमा भएको कार्यक्रममा अरनिकोका बारेमा चर्चा गरिएको थियो । अन्तरक्रियात्मक कार्यक्रममा अग्रज कलाकार मदन चित्रकारले नेपाली कलालाई अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन अरनिकोले महत्वपूर्ण योगदान दिएको बताए ।

उनले अरनिकोले बनाएका चित्र, मूर्ति, वास्तु तथा सिजनात्मक कलाले नेपाली पहिचानलाई विदेशमा चिनाउन विशिष्ट भूमिका खेलेको धारणा व्यक्त गरे । उनले भने, ‘कला र संस्कृतिले मानव भावना र सम्बन्धलाई प्रगाढ बनाउँछ । यस कार्यमा अरनिकोको भूमिका अहम् र विशिष्ट रहेको छ ।’

कार्यक्रममा अरनिकोका बारेमा परिचर्चा गर्दै डा.नरेश शाक्यले नेपाली कला र शैलीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको बताए । उनले अरनिकोकै कारण नेपाली मौलिक शैली र कलाले तिब्बत, चीन, मंगोलिया लगायतका देशमा पुग्न सकेको जानकारी दिए । डा. शाक्यले नेपाली कलाको शैली र पद्चापलाई अन्तर्राष्ट्रियकरण गर्न अरनिकोको प्रतिभाले मद्दत गरेको जिकिर गरे । 

कार्यक्रमका नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्यले नेपाली कला र कलाकारलाई देश विदेशमा चिनाउन अरनिकोको भूमिका विशेष रहेको धारणा व्यक्त गरे । उनले २०२८ सालमा अरनिकोको हुलाक टिकटको डिजाइन गरेका थिए । 

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले दिगज कलाकारको स्मृति मनाउनु भनेको कला र कलाकारको योगदानको कदर गर्नु भएकाले यस कार्यक्रमको उद्देश्य अग्रज कलाकारलाई नयाँ पुस्तासम्म लैजानु रहेको विचार व्यक्त गरे । उनले अरनिकोले नेपाली कलाको उचाइँलाई विश्वमा चिनाउन अहम् भूमिका खेलेको बताए ।

प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य सौरगंगा दर्शनधारी, संजय वान्तवा, अग्रज कलाकार तथा लेखक रमेश खनाल, कमलमणि काफ्ले, नेपाल व्यवसायिक कलाकार संघका महासचिव भोलानाथ पौड्याल, नेपाल कमर्शियल आर्टिस्ट संघका महासचिव चित्र कार्की लगायतले अरनिकोका बारेमा चर्चा गरेका थिए ।

अरनिको १७ वर्षको उमेरमा ८० जना कलाकारको नेतृत्व गर्दै तिब्बत हुँदै चीन गएका थिए । सन् १२४४ मा जन्मिएका उनको १३०६ मार्च ११ मा निधन भएको थियो । अरनिकोलाई नेपालमा राष्ट्रिय विभूति घोषित गरिएको छ ।

यस्तै उनको नाममा अरनिको राजमार्ग, हुलाक टिकट बनाइएको छ । यसैगरी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) ले अरनिको १७ फिटको मूर्ति बनाइरहेको छ भने लेखक गणेशकुमार जिसीले नाफाबाटै ‘अरनिको एसिया एक प्रस्तावना’ निकालेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप