शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

बागमतीमा मन्त्रालयको भागबन्डा मिलाउन कार्यदलको बैठक बस्दै

बिहीबार, १६ चैत २०७९, ०७ : २७
बिहीबार, १६ चैत २०७९

मकवानपुर । बागमती प्रदेशको मन्त्रालयको भागबन्डा मिलाउन आज कार्यदलको बैठक बस्दैछ । बैठक आज बिहान ९ बजे बानेश्वरमा बस्ने तय भएको छ । 

भागबन्डाको विषय मिलाउन समस्या देखिएपछि सङ्घीय सरकारको पूर्णता पछि बागमती प्रदेशको सत्ता भागबन्डाको अन्तिम निर्णय लिने तयारी गरिएको भए पनि मंगलबार गठबन्धनका २ वटा दलले मन्त्रालय भागबन्डाको विषय मिलाउन कार्यदल गठन गरेका थिए । 

प्रदेशको सबैभन्दा ठुलो दल कांग्रेस र माओवादी केन्द्रको काठमाडौँमा बसको बैठकले मन्त्रालयको भागबन्डा मिलाउन कार्यदल बनाएको थियो । बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा र मुख्यमन्त्री जम्कट्टेलले भागबन्डा मिलाउन कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले प्रदेशको भागबन्डा मिलाउने गरि अधिकार प्रदान गरिएको छ ।

कार्यदलको नेतृत्व कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले गरेका छन् भने ७ सदस्यीय कार्यदलमा कांग्रेसबाट ३ माओवादी केन्द्रबाट २ जना, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबाट १÷१ जना सदस्य रहेका छन् । 

उक्त समितिमा कांग्रेसबाट चित्रकार, संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्ले र तीर्थ लामा रहेका छन् भने माओवादी केन्द्रबाट सरल सहयात्री र मुख्य सचेतक रत्नप्रसाद ढकाल रहेका छन् । त्यस्तै समितिमा एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टीबाट शैलेन्द्रराज बज्राचार्य रहेका छन् । 

बैठकले सरकारमा सत्ता साझेदार ४ दलहरूलाई हैसियत अनुसार मन्त्रालय भागबन्डा गरिने कार्यदलका संयोजक एवम् नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए । संभव रहेसम्म बिहिबार नै भागबन्डाको निर्णय गरिने र समितिका सदस्यहरुले आ–आफ्नो दलको नेतालाई जानकारी गराउने उनले बताए । उक्त कार्यदलको निर्णय अनुसार केन्द्रमा समन्वय गरेर सरकार विस्तार र मन्त्रीहरुको शपथको कार्यक्रम तय गरिने उनले बताए । 

तत्कालीन सत्ता गठबन्धन भत्किएपछि नेकपा एमाले र राप्रपाले सरकारको समर्थन फिर्ता लिएका थिए । राष्ट्रपति निर्वाचनका लागि केन्द्रमा बनेको सत्ता समीकरण अनुसार राप्रपा र एमाले सरकारबाट बाहिरिएका थिए । केन्द्रमा माओवादी केन्द्रको नेतृत्वमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी लगायतको सत्ता समीकरण बने पछि प्रदेशमा पनि एमाले र राप्रपा सरकारबाट नलगिएको थियो । 

जस अनुसार गत फागुन १३ गते प्रदेश सरकारबाट राप्रपाले सरकारको समर्थन फिर्ता लिँदै आफ्ना ३ मन्त्रीलाई राजीनामा गराएको थियो भने एमालेले गत चैत १० गते मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई समर्थन दिन नसक्ने भन्दै सरकार छाडेको थियो । एमालेले सोही दिन आफ्ना ४ मन्त्रीलाई राजीनामा समेत गराएको थियो । प्रदेशको ३ मन्त्रालय गत फागुन १३ र ४ मन्त्रालय गत चैत १० गतेबाट रिक्त रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप